© २०२३
-(बुटुस)कसैको सार्वजनिक आह्वानबिना नै बुधबारदेखि सार्वजनिक सवारी साधन नचलेपछि नेपाल यातायात स्वतन्त्र मजदूर संगठन प्रदेश ५ कार्यालय बुटवलले गाडी यथावत चलाउन चालकहरूलाई आग्रह गरेको छ ।
बस तथा ट्रक समितिका पदाधिकारीहरूले चालक नआएकाले गाडी नचलेको बताएपछि मजदूर संगठनले विज्ञप्ती नै निकालेर व्यवसायीहरूले उल्टो प्रचार गरेको भन्दै यातायात मजदूर तथा व्यवसायीहरूलाई सवारी साधन सञ्चालन गर्न अपिल गरेको हो ।
संगठनका प्रदेश अध्यक्ष कृष्ण कंडेलद्वारा जारी विज्ञप्तीमा सवारी ऐन २०४९ को व्यवस्था भन्दा भदौ १ गतेदेखि लागू भएको मुलुकी फौजदारी संहिता अग्रगामी रहेको भन्दै कानुनको अध्ययन नै नगरी विरोध गर्नुको औचित्य नरहेको उल्लेख छ ।
ऐनको कार्यान्वयन निष्पक्ष ढंगबाट गर्न र कुनैपनि श्रमिकलाई अनावश्यक हैरानी हुन नदिन संगठनले सरकारसँग आग्रह गरेको छ । व्यवसायीहरूले यातायात मजदूरमाथि विभिन्न किसिमका भ्रामक प्रचार गरी सवारी बन्द गरिनु दुःखद भएको उल्लेख गर्दै विज्ञप्तीमा स्वरोजगार श्रमिक व्यवसायीलाई धरासायी बनाउने नियोजित षडयन्त्रपुर्वक सवारी बन्द नगर्न समेत विज्ञप्तीमा आग्रह गरिएको छ । नजिकिँदै गरेको चाडपर्व तथा संविधानको उत्सवमा समेत असर पर्ने गरी बन्द गरिएकोमा मजदूर संगठनको गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तीमा जनाइएको छ ।
सरकारले सिण्डिकेट खारेजीको घोषणा गरेर खाता रोक्का गरेपछि सरकारसंग रुष्ट बनेका व्यवसायीलाई अहिले अनौपचारिक रूपमा चालकहरूले समेत साथ दिएका छन् । हालै सवारी ऐन संशोधन भएपछि चालकहरू त्यसको विरोधमा उत्रिएका छन् । मजदूर संगठनले भने विरोध गर्नुपुर्व कानुनको अध्ययन गर्न सुझाव दिएको छ ।