© २०२३
विजयनगरका महिलाहरुले निर्माणधिन सहकारीको भवन पुरा गर्नका लागि बजेट माग गरेका छन् । प्यूठान नगरपालिकास्थित जुम्रिखोला नजिकै एकवर्ष अघि थालिएको भवन निर्माण पुरा हुन सकेको छैन् । भवन निर्माण पुरा भएपछि विजयनगर महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध आठ सय ५० जना महिलाहरु प्रत्यक्ष लाभांवित हुनेछन् ।
नगरपालिकाका सव इञ्जिनियर काशीराम उपाध्यायका अनुसार भवनको हालसम्म करिव ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । उनका अनुसार छतढलान, झ्यालढोका निर्माण र गारो लगाउने काम मात्र बाँकी छ । प्राविधिक स्टिमेट अनुसार अँधुरो काम पुरागर्न करिव १२ लाख रुपैयाँ बजेट आवश्यक पर्ने उपाध्यायले जानकारी दिए ।
सहकारीले हाल विजयनगरस्थित रातामाटामा घरभाडा लिएर दैनिक प्रशासनिक काम संचालन गरिरहेको छ । मासिक तीन हजार पाँचसय रुपैयाँ घर भाडामा खर्च हुँदै आएको लेखापाल लेखा भण्डारीले जानकारी दिइन । संसद् विकास कोषको एक लाख ४७ हजार र वडा नम्वर ३ विजयनगरबाट दुई लाख ५० हजार रुपैयाँ बजेट प्राप्त भएपछि भवन निर्माण थालिएको अध्यक्ष शर्मिला रावतले बताइन् । ‘साढे पाँचलाखमा जग्गा खरिद गरिएको हो’,उनले भनिन्,‘सहकारीले बचत गरेको पैसाले जग्गा खरिद ग¥यौँ । भवन बनाउने रकम भएन् ।’
गाउँभरीका महिलाहरुलाई समूहमा आवद्ध गराएर बचत संकलन, ऋण संकलन र सामाजिक जागरणका काम गरिरहेको उनले जानकारी गराइन् । २०७१ मा स्थापना भएको सहकारीले विभिन्न क्षेत्रमा सहुलियत व्याजदरमा कर्जा प्रवाह गरिरहेको जनाएको छ ।
भवनको स्थलगत अनुगमनमा पुगेकी प्यूठान नगरपालिका उपप्रमुख शान्ता आचार्यले अँधुरो भवन पुरागर्न विशेष पहल गर्ने बताइन । सहकारीको ४० प्रतिशत र नगरपालिकाको ६० प्रतिशत लगानीमा बाँकी काम पुरागर्न उनले महिलाहरुलाई सुझाव दिइन् । आफ्नो कार्यकालभित्र भवन निर्माणको काम पुरा गरिने उनले आश्वासन समेत दिइन् ।