© २०२३
बुटवल, २२ मंसिर ।
नेपाल बिलियड्र्स, पुल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा बुटवलमा नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता पुस १४ गतेदेखि सुरु हुने भएको छ । संघले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । बुटवल अमरपथको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नूकर क्लबलाई प्रतियोगिता स्थलका रूपमा तय गरिएको छ ।
प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्न संघले छवटा उपसमितिहरू गठन गरेको छ । खेल उपसमितिको संयोजकमा विजय गुरुङ रहेका छन् भने समुन्द्र अमात्य र लक्ष्मण आले सदस्य छन् । आर्थिक उपसमिति महासचिव प्रकाश क्षेत्रीको संयोजकत्वमा रहेको छ जसका सदस्यहरूमा प्रदीप विक र बिर्जु केसी रहेका छन् । प्रचार–प्रसार उपसमितिको जिम्मेवारी प्रेस सल्लाहकार टीआर शर्माले सम्हाल्नेछन् भने सुशान्त पाण्डे तथा मिन गाहा सदस्य छन् । अतिथि सत्कार तथा खाजा व्यवस्थापन उपसमिति पुरन रानाको संयोजकत्वमा गठन गरिएको छ जसमा रबिन श्रेष्ठ र सुरज पुन रहेका छन् । प्राविधिक उपसमिति भने विराट भट्टचनको संयोजकत्वमा छ र रमेश मल्ल तथा सागर गाहा मगर सदस्य छन् ।
पत्रकार सम्मेलनमा संस्थाकाप्रमुख सल्लाहकार सञ्जयरत्न बज्राचार्यले खेलाडीलाई नियम र अनुशासनको कडाइका साथ स्वच्छ खेल प्रस्तुत गर्न प्रोत्साहित गर्ने सुझाव दिए । अध्यक्ष सुजन पुनले यो वर्षको प्रतियोगिता विगतका वर्षभन्दा अझ व्यवस्थित र भव्य बनाइने बताए । उनले प्रतियोगितामा बुटवल उपमहानगरपालिकाले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै अन्य संस्थागत तथा व्यक्तिगत सहयोगसमेत प्राप्त हुने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा प्रथम हुनेलाई एकलाख रुपियाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ भने दोस्रो हुनेलाई ५० हजार, उच्च ब्रैकलाई २० हजार, राइजिङ प्लेयर र अनुशासित खेलाडीलाई ५÷५ हजार नगद पुरस्कार राखिएको छ ।
पत्रकार सम्मेलनमा बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले संघले हरेक वर्ष प्रतियोगितालाई निरन्तरतासहित आयोजना गर्दै स्नूकर खेलको विकास र लोकप्रियता बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।