© २०२३
भारतीय पक्षले मझौली तालमा रहेको बाधको ढोका नखोल्दा मायादेबी गाँउपालिका ८ बिजुवाको ७ सय बिगहा बढि जमिन डुबानमा परेको छ । भारतिय पक्षले बिजुवा सँगै जोडिएको भारतिय तालमा लगाएको अग्लो तटबन्धमा रहेका ८ वटा ढोका मध्य हाल सम्म तिनवटा मात्र ढोका खोल्दा आईतबार देखीको बर्षाले नेपाली भुभाग जलमग्न भएको हो । बर्षाका कारण बिजुवाको जमुनी, हरिवंशापुर, बिजुवा र बरकुलगाउँको खेती योग्य जमिन जलमग्न भएको स्थानिय बब्लु यादवले बताए ।
आफुहरुको करिब ७ सय विघा धान रोप्ने खेत जलमग्न हुदा धान कसरी रोप्ने भनी चिन्ताले सताएको उनले गुनासो गरे । भारतिय पक्षले पानी रोक्दा बिजुवाको जमुनी, हरिवंशापुर, बिजुवा र बरकुलगाउँको विचमा रोपाई गरिएको करिब ३ सय विघा धान खेती बाढीले बगाएको स्थानियले जानकारी दिए । बिजुवा दक्षिण भारतको सिमानामा पर्ने सिसवा र मझौली सागरमाभारत सरकारले सिचाईको लागि फाटक नखोल्दा यस्तो समस्या आउने गरेको वडा अध्यक्ष कृष्ण नारायण तिवारीले बताए । “गँहु खेतीका बेला पानी नपाउदा सिचाईको अभाव हुन्छ । धानखेतीका बेला बाधको ढोका नखोल्दा डुबान पर्छ । ” उनले भने ।
विगतमा तटबन्ध निर्माणको लागि स्थानियहरुले साबिकको जिल्ला विकास समिति कपिलवस्तु तथा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय भैरहवा मार्फत डुवान समस्याको स्थाई समस्याका लागी योजनाहरु माग गर्दै आएको भए पनि सो बिषय सुनुवाई नभएको उनले बताए । हाल सम्म पनि दिगो तटबन्ध निर्माणको कार्य गर्नको लागि कुनै ठोस योजनाहरु नपरेकोले मायादेवी गाउँपालिका, प्रदेश र संघीय सरकार डुबानको समस्या समाधान गर्न सिसई नदीमा तटबन्धका लागी योजना माग गर्ने योजना अघि बढाईएको तिवारीले जानकारी दिए ।
“यस क्षेत्रका प्रदेशसभा सदस्य सहसराम यादवलाई तटबन्ध निर्माणका लागी पहल गरिदिन अनुरोध गरेका छौ । ” तिवारीले भने । यता मायादेबी गाँउपालिकाका प्रमुख बजरंगी चौधरीले आफनो गाँउपालिकाकै पिपराको तुल्सिडिहवा समेत भारतको बजहा बाधका कारण डुबानमा पर्दै आएको बताउदै सो समस्या समाधान गर्न तटबन्ध निर्माणका योजना अघि सार्ने योजना सगै अन्य निकायमा समेत पहल गरि रहेको जानकारी दिए । भारतिय पक्षले बनाएको महलीसागर, बजहा र मझौली बाँधमा लगाईएका ढोकाहरु बर्षाका समय नखोलीदा नेपाली किसानले प्रत्यक बर्ष डुबानको समस्या भोग्दै आउनु परेको छ । नेपालको खेतीयोग्य जमिन डुबानमा परेको समस्या समाधानका लागी आफुले भारतिय समकक्षी सँग समन्वय गर्ने प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।