© २०२३
एउटा कुरा भन्छु है? आकाशतिर पुलुक्क हेर्दै तारा सानो स्वरमा बोली। पार्टीबाट फर्केको दोस्रो दिन, छोरीहरू सुतिसकेका थिए। तारा भने आकाश कामबाट फर्किउन्जेलसम्म पनि निदाउन सकेकी थिइन आज।
‘के कुरा हो, भन न।’
‘मान्ने भएमात्र भन्छु के।’ ऊ बोली।
‘भन न, मान्नेकुरा छ भने कहिले नमानेको छु र।’ आकाशले ताराको हात समाएर अलि रोमान्टिक हुँदै बोल्यो।
‘रिता दिदीले मलाई काम खोजिदिनु भएको छ। मपनि अर्को हप्तादेखि काममा जान्छु ल?’ ताराले आकाशतिर पुलुक्क हेरेर बिस्तारै सोधी।
फेरी कामकै कुरा। अस्ति भर्खर मात्र कुरा भएको होइन? तिमीले किन काम गर्नु पर्यो भन त? मैले गरेको कामले अहिलेलाई पुगेकै छ। अनि छोरीहरूलाई कसले हेर्छ? घरको काम पनि त गर्नुपर्यो। भो के पर्दैन काम गर्न अहिले। आकाशको स्वर अलि ठूलो भयो, सँगसँगै हात पनि झड्काल्यो।
ताराले आँखाभरी आँसु पारेर मायालाग्दो पाराले आकाशतिर हेरी, अनि भनी- ‘मर्निङ्ग सिफ्टको काम रे। म अघिल्लै दिन सबैकुरा ठीक पारेर राख्छु। अनि तपाईं काममा जाने बेलासम्म त म आइपुगिहाल्छु नि।’
‘अनि छोरीहरूलाई चाहीँ के गर्ने नि?’
‘दिउँसो तपाई भइहाल्नु हुन्छ। तपाईंले ठूलीछोरीलाई स्कूल पुर्याउने र सानीलाई केही घण्टा हेर्ने त हो नि। म आउन अलिकति ढिलो भइहाल्यो भने छोरीलाई उताको अपार्टमेण्टमा छाड्ने हो। मैले कुरा गरिसकेकी छु। उनीहरूका बाबुआमा नेपालबाट आएका छन् अहिले। हेरिदिने भनेका छन्, घण्टाको तीन डलर दिँदा हुन्छ रे। उनीहरूको छोरी पनि हाम्रै छोरी जत्रै त हो।’ ताराले आकाशतिर आशलाग्दो नजरले हेर्दै एकै सासमा भनिसिध्याई।
अब भने आकाशको केही लागेन र साह्रै अनिच्छापूर्वक ‘त्यसो भए हुन्छ नि त’ मात्र भन्यो।
हुनपनि यति सजिलै पाएको काम। आफूले काम खोज्दा पाएको सास्ती झलक्क सम्झ्यो एकपटक। उसलाई पनि ताराले काम नगरोस् भन्ने नै लागेको त होइन, घरको काम गर्न गाह्रो लागेको मात्र न हो। अझै पनि ‘घरधन्दाको काम भनेको केटीहरूको मात्रै हो’ भन्ने गाउँघरको सोचाइ छाड्न सकेको छैन उसले।
अब भने ताराले हसिँलो अनुहार बनाएर ‘थैँक्यु मेरो राजा’ भन्दै आकाशको अंगालोमा घुस्रिइ।
तारा र आकाशको लभ म्यारिज भएको हो। उनीहरू स्कूलदेखि नै एक अर्कालाई मन पराउँथे। उनीहरू आइ. ए. पढ्दै गर्दा एउटा सरकारी जागिरे केटा कुनै नातेदार मार्फत तारालाई माग्न आएको थियो। त्यही केटासँग विवाह गरिदिने गाइँगुइ सुनेपछि ताराले यो कुरा आकाशलाई सुनाउँछे र उनीहरूले भागेरै भएपनि विवाह गर्ने निधो गर्छन्। तैपनि घरमा एकपटक कुरा राख्दा मानिहाल्छन् कि भन्ने आकाशको सल्लाह अनुसार ताराले घरमा कुरा गर्दा बाबुआमाले पनि आकाशको बारेमा सबैकुरा बुझेपछि नाइनास्ती गरेनन्।
आइ.ए. पास गरेर आकाशले गाउँकै एउटा सहकारीमा काम गर्न थालेपछि उनीहरूको विवाह पनि भयो। आकाशकै सल्लाहअनुसार तारा भने बाहिर काम नगरी घरसंसारमै रमाई। सासुससुरा पनि घर धान्ने जाँगरिली बुहारी देखेर मख्ख थिए भने स्कूल पढ्दै गरेकी ताराकी नन्द आशा पनि साथि जस्तै भाउजु पाएर खुशी थिई।
समय बित्दै जाँदा ताराले दुई वर्षको अन्तरालमा दुईवटा छोरीहरू जन्माइ। उनीहरूको सपना खासै ठूलो थिएन। आकाशको सामान्य जागिर र परिवारको खानपुग्ने खेतिपातिबाट उनीहरूको जीवन सरल तरिकाले चलिरहेकै थियो।
कान्छी छोरी जन्मेको दुर्इवर्ष जतिमा आकाशलार्इ अमेरिका जाने डि.भि. पर्यो। घरमा सबैजनाको खुशी भनिसाध्य थिएन। एक्लो छोरो अमेरिका जानलाग्यो भनेर आमालार्इ केही नरमाइलो लागेपनि गाउँकै प्रियाले पोहोर अमेरिकाबाट फर्केर गरेको ठाँटबाट र शानशौकत देखेकी उनले पनि आफ्नो चित्त बुझाइन्।
आशाले त भाउजुलार्इ अमेरिका जाने बित्तिकै एउटा आइफोन पठाइदिनु पर्छ भनेर बाचा नै गराएकी थिई। सम्पूर्ण परिवार नै उज्ज्वल भविष्यको सपना देखिरहेको थियो उनीहरूको डि.भिमा। सबै प्रकृया पुरा गरेपछि भिसा टिकटको बन्दोवस्त गर्ने क्रममा केही ऋणपान गर्नु परेपनि उनीहरूलाई केही लागेको थिएन। एकदिन दुईदिन भन्दाभन्दै उनीहरूको अमेरिका जाने दिन पनि आयो। सबैसँग बिदावारी भई उनीहरूको परिवार पनि सुखद भविश्यको खोजीमा अमेरिकातिर उड्यो।
अमेरिका आएको केहि दिनसम्म उनीहरू गाउँकै प्रिया दिदीको घरमा बसे। आठ–दश दिन जतिमा उनीहरूले एउटा अपार्टमेण्ट भाडामा लिएर सरे। एक–डेढ महिनासम्म धेरैतिर चाहार्दा चाहर्दै बल्लबल्ल अरू नेपालीहरूको मद्दतले आकाशले पनि एउटा रेष्टुरेण्टमा काम पायो प्रति घण्टा दश डलरको दरले हप्ताको चालिस घण्टा। आकाशको त्यो कमार्इ घरभाडा र खानपिनका लागि पुग्ने नै थियो। तारा भने घरको काम गर्ने र छोरीहरू हेर्ने गर्दथिई। भर्खरै स्कूल जान थालेकी जेठी छोरीलार्इ स्कूल पुर्याउने ल्याउने अनि सानी छोरीलाई दिनभर घरमा हेर्दै र विहान वेलुकी खानाखाजा भन्दैमा उसको दिन बित्ने गर्दथ्यो।
सुरूसुरूमा त सबैकुरा नौलो र अचम्म लागेको थियो। स्टोभ बाल्ने देखि लिएर लुगा धुने मेशिन चलाउने अनि एलिभेटरमा चढेर तलमाथि गर्ने सबै कुराहरूमा बिस्तारै बानी पर्दै गयो। एकपटक त राति फायर अलार्म बज्दा कस्तो अत्तिएर छिमेकीको ढोका ढकढकाउन पुगेका थिए। तर के हो भन्ने थाहा पाए पछि कम्ति हाँस उठेको होइन उनीहरूलार्इ।
आजकल पनि कहिलेकाहिँ यो कुरा सम्झेर ठट्टा गर्दै हाँस्छन् उनीहरू।
उनीहरूको अपार्टमेण्ट बिल्डिङ्गमा अरूपनि नेपाली परिवारहरू बस्दथे र उनीहरूका पतिपत्नी दुवै बाहिर काम गरेको देखेर तारालाई पनि बाहिर गएर काम गर्न पाए हुन्थ्यो भन्ने लाग्न थालेको थियो। ‘कति यो घर व्यवहारको भूमरीमा मात्र परिरहनु। बाहिर फेरो गएर यसो केहि काम गर्न पाए यो एकांगिपनबाट अलिकति भएपनि मुक्ति त पाइन्थ्यो’ सोच्दथिई ऊ कहिलेकाँही। साथै कमाउन थालेपछि एकखालको स्वतन्त्रता र आनन्दको अनुभूति हुन्थ्यो होला भन्ने पनि लागेको थियो।
मनमनमा गम्थी, ‘सानो सानो कुरा किन्नु पर्यो भनेपनि आकाश कै मुख ताक्नुपर्छ संधै।’ उसलाई अरू केटीहरूले आफैं कार चलाउँदै बाहिरफेरो गएर एक्लै सपिंग गरेको देख्दा कहिलेकाँहि म पनि तिनीहरू जस्तै हुन पाए त, भन्ने लाग्दथ्यो। तर आकाशलाई यो कुरा भन्ने हिम्मत भने गर्न सकेकी थिइन। उसलाई थाहा थियो आकाशलाई यो मन पर्दैन भनेर।
धेरैदिन मनमा कुरा खेलाए पछि एकदिन हिम्मत गरेरै लन्च खाने बेलामा ‘ताराले म पनि काम गर्न जान्छु नि ल’ भनेर के भनेकी थिइ आकाश झडङ्ग रिसाउँदै ‘के मैले तिमीहरूलाई पाल्न सक्दिन जस्तो लाग्यो?’ भन्दै करायो। ‘अनि छोरीहरू कसले हेर्छ, घरको काम कसले गर्छ’, भन्दै रिसाउँदै काममा हिँड्यो। ऊ साँझको सिफ्टमा काम गर्दथ्यो। आफूले काम गर्छु भन्दा हौसला दिनुको सट्टा झनै रिसाएको देखेर ताराको पनि चित्त खुबै दुख्यो। छोरीहरूलाई सुताएपछि यहि कुरा सम्झेर रूँदारूँदै कतिखेर निदाई पत्तै भएन।
भोलिपल्ट दिनभरी दुईजना बोलेनन्। खाना खाएर आकाश कामतिर लाग्यो भने ताराचाहिँ संधै झैँ घरधन्दामै लागी। ताराको अँध्यारो अनुहार देखेर आफू त्यसरी रिसाएकोमा आकाशलाई केही पश्चाताप लागेपनि काम नै गर्न जाऊ भनेर मुखै खोल्न भने सकेन।
शनिवारको दिन एकजना नेपाली परिवारकोमा जन्मदिनको पार्टीमा निम्ता थियो। धेरै नेपालीहरू भेट हुने भएकोले उनीहरू पनि छोरीहरूलाई लिएर पार्टीमा गए। त्यहाँ धेरै रमझम थियो- खाने, पिउने, संगित अनि नाच। केटीहरू त झन् फेसन कम्पिटिशनमै गएजस्तै। थरिथरि डिजायनका कपडा र मेकअपले को भन्दा को कम भनेझैँ।
‘ए तारा के छ खबर? वल्ल आज भेट भयो तिमिसँग।’ तारा आवाज आएतिर फर्किई, अनि छेउमा देखि रीतालाई। अस्ति नै प्रियाले तिमी आएको भनेकी त थिई तर हेर न फुर्सद नै भएन भेट गर्ने। रीताले भनिन्।
‘आम्मै, दिदीपनि यही हो? भन्दै तारा अचम्ममा परी। रीता, ताराकै गाउँले दिदी। उनी अमेरिकामा छन् भन्ने चाँही सुनेको तर कहाँ भन्ने थाहा थिएन तारालाई। धेरै वर्षपछि आज उनलाई यहाँ भेटेकी थिई। रीतालाई देखेर तारा धेरै खुशी भई ठूलो सहारा मिले जस्तो भयो। प्रिया दिदीको घर अलि टाढा भएकोले त्यति भेट पनि हुँदैनथ्यो। बाहिर नभने पनि उसलाई घरको न्याश्रो त लागकै थियो। भित्रको हल्लाखल्लाबाट अलि बाहिर निस्केर दुईजना कुरा गर्न थाले। आकाश कतै केटाहरूको समूहमा थियो।
‘तारा, कस्तो लागिरहेको छ त अमेरिकाको बसाई?’ रीताले सोधिन्।
‘एकदमै मन परेको छ मलाई त दिदी। सबै कुरा नयाँ नौलो। ग्यास बत्ती पानीको केही चिन्तै गर्नु नपर्ने। लुगाधुने भाँडा माझ्ने पनि सबै मेशिनले। मलाई त स्वर्गमै आए जस्तै भएको छ। छोरीहरूको पढाइलेखाईको खर्चको पनि धेरै चिन्ता लिनु नपर्ने।’ ऊ भन्दै गई, ‘आकाश पनि खुशी हुनुहुन्छ। उहाँ साँझमा काम गर्नुहुन्छ। छुट्टीको दिन कहिलेकाँही यसो कतै घुम्न पनि निस्कन्छौं। कहिलेकाँहि चाँही घर सम्झेर अलि अत्यास लागेपनि हामी सबै खुशी नै छौ, दिदी।’
सुरूमा केही अप्ठेरो लागे पनि बिस्तारै स्टोभ बाल्न, वासिङ् मेशिन चलाउन देखि एक्लै गएर ग्रोसरी, सपिङ गर्न सिक्दै गएको कुरा बताई।
‘अनि तिमीले काम गर्न थाल्यौ त?’
अघिल्लो दिनको कुरा सम्झेर अलि अँध्यारो अनुहार लगाउँदै ताराले भनी ‘अहिलेसम्म त छैन दिदी। छोरीहरू अलि सानै छन्, उनीहरूलाई अलि बढी समय दिनुपर्ने हो कि जस्तो लाग्छ। आकाशलाई घरको काम गर्ने बानी पनि त्यति छैन। त्यसैले पनि मैले काम गर्ने कुरामा अलि अप्ठेरो मान्नुहुन्छ।’
‘लौ हेर… त्यस्तो भनेर पनि हुन्छ, अमेरिका जस्तो ठाउँमा आएर। बरू आकाशलाई मै सम्झाइदिउँला।’ रीताले सम्झाउँदै भनी। तिमीले पनि त स्टोभ वाल्न, बासिङ् मेशिन चलाउन ग्रोसरी, सपिङ गर्न यही आएर सिकेको होइन। आकाशले पनि बिस्तारै घरको काम गर्न सिकिहाल्छन् नि। बरू मैले काम गर्ने ठाउँमा मान्छे चाहिए जस्तो लागेको छ। हाउसकिपिङ्को काम हो सजिलो छ, त्यही गएपछि के गर्ने, सिकाउँछ पनि । भोलि म बुझेर फोनमा भनुँला।
‘हुन्छ नि दिदी…’ मात्र भनी उसले।
आकाशलाई कसरी मनाउने भन्ने चाँहि लागे तापनि काम गर्न पाइन्छ कि भन्ने आशाले भित्रभित्रै खुशी पनि भएकी थिई तारा।
आज कामको पहिलो दिन, काम सकेर लखतरान भएर घर फर्की तारा। होटलको कोठाको बेडहरू मिलाउनु पर्ने काम रहेछ। आज उसलाई अर्को एकजनासँगै काममा लगाए काम सिकाउन भनेर। छोरीलाई स्कूल लिएर घर आई, अनि सँधै जस्तै आफ्नो दैनिक कामधन्दामा लागी। आठ घण्टासम्म उभिएर उसले आजसम्म काम गरेकी थिइन। त्यसैले पनि होला खुट्टा साह्रै दुखिरहेको थियो। तैपनि आज पहिलो कमाइ त्यो पनि डलरमा भएकोले होला उसको उत्साह अर्कै थियो।
ओहो! अब त पनि कमाउने भएँ, अब छोरीहरूको लागि सानोतिनो कुरा किन्न पनि आकाशले के भन्ने हो भनिरहनु नपर्ने भयो। अब विस्तारै गाडी चलाउन पनि सिक्छु अनि एउटा गाडि किनेपछि त कहिलेकाँही कतै जानपनि आकाशकै भर परिरहनु पर्दैन। यस्तो सोच्दै बेलुकीको खाना अनि भोलिपल्टको लागि समेत सबैलाई लञ्च ठीक पारी। सबैकाम सकिवरी ओछ्यानमा ढल्कनासाथै कतिखेर निदाई पत्तै भएन। आज त आकाश कामबाट फर्केको पनि थाहा पाइन।
अबको उसको रूटिन भनेको बिहान चारै वजे उठ्ने, सबैजनाको लागि खाना खाजाको व्यवस्था गरेर काममा जाने, आठ घण्टे काम पछि छोरीलाई स्कूलबाट लिँदै घर फर्किने, विहानदेखि थुप्रिएका भाँडाहरू माझ्ने, वेलुकीको खाना खाजा देखि भोलिपल्टको लञ्चसम्मको व्यवस्था गर्ने हुनलाग्यो।
समय मिलाएर छोरीहरूलाई साँझमा पार्कतिर खेलाउन पनि लैजान्थी। शनिबार र आइतबार कामबाट छुट्टी भएपनि घर सफा गर्ने, लुगाधुने, हप्तादिनको लागि किनमेल गर्ने जस्ता काममा व्यस्त हुनु पर्दथ्यो। आकाश भने बाहिर आठ घण्टा कामबाट राति फर्कन्थ्यो र काममा जानु अघिसम्म सानी छोरी हेरेर बस्दथ्यो। घरको अरू कुनै काम पकाउने, भाँडा माझ्ने जस्ता काममा हातै हाल्दैनथ्यो।
तीन चार महिना यसरी नै चल्दै गयो। उनीहरूको बचत पनि बढ्न थाल्यो। अमेरिका आउँदा लागेको ऋण तिर्न भनेर केही रकम नेपाल पनि पठाउन सके। आकाशले अब बिस्तारै गाडी किन्ने योजना पनि बनाउन थालेको थियो। एउटा शुक्रवार, अलि हतार भएकोले ताराले आकाशलाई बेलुकीको खाना बनाइदिन भ्याइन। सोची शायद घरमा भएको कुनै कुरा लिएर जानेछ तर आकाशले काममा जाँदा शायद केही लगेनछ, त्यो दिन।
भोलिपल्ट शनिवार, दुबै घरमै थिए । चिया खाँदै गर्दा आकाशले रिसाउँदै मलाई हिजो किन खाना नराखिदिएको भन्दै कराउन थाल्यो।
‘सबैकाम मैले नै गर्नुपर्छ भन्ने छ र? फ्रिजमा कतिकुरा थियो, आफैले हालेर लिएर गएको भएपनि त हुन्थ्यो नि।’ तारालाई पनि झनक्क रिस उठ्यो र जवाफ फर्काइ। हामी दुबै बाहिर उत्तिकै त काम गर्छौं । घरको काममा अलिकति मलाई सघाइ दिए कति सजिलो हुन्थ्यो। आफूलाई सास फेर्ने फुर्सद हुँदैन, एकदिन आफैले खाना हालेर लानुपर्दा उल्टै मलाई गाली गर्नु पर्ने?’
‘मैले तिमीलाई काम गर भनेको हो र? तिम्रै रहर त हो नि। सबैकुरा भ्याउँछु भनेर तिमीले नै भनेको होइन। मैले त भन्देको छु, म घरको अरू काम गर्न सक्दिन भनेर। सानी छोरीलाई हेरेकै छु, तिमी नहुँदा,’ आकाशले पनि रिसाउँदै भन्यो।
तारा केही नबोली, तरक्क आँसु झार्दै भान्सातिर लागि। उसको चित्त साह्रै नै दुख्यो, आकाशले त्यसो भन्दा।
‘के मैले काम गरेर कमाएको पैसा मैले मात्र आफुखुशी गर्ने हो र? त्यो पैसा पनि त हाम्रो साझा बैंक खातामा नै जम्मा हुन्छ। घरखर्च गरेर बचेको पैसाबाट परिवारले नै त यसो रमाइलो गर्ने, घुम्न जाने हो। दुवैजनाले मिलेर काम गर्दा नै ऋण तिर्न, गाडी किन्न, पछि आफ्नै घर पनि त किन्न सकिन्छ । यति कुरा पनि आकाशले किन नसोचेको होला।’ तारा एक्लै सोच्न थाल्छे।
आकाश जस्तो सानैदेखिको साथी, लभ गरेर विहे गरेको श्रीमान, उसलाई पनि श्रीमतिलाई केही गाह्रो भएको छ, अलिकति सघाउँ भन्ने लाग्दैन भने अरूहरूको कस्तो हालत होला। लुगा मेशिनमा हाल्न जाँदा पनि यस्तै कुरा सोचिरहेकी थिइ ऊ।
के म काम छाडेर फेरी घरै बसू त? उसले मनमनै सोची। अनि आफैंलाई भनी अँह, हुँदैन। बल्ल पाएको त्यस्तो काम। धेरै गाह्रो पनि त होइन। कतिजना फ्याक्ट्रीमा गएर कस्तो दुःखको काम गर्नु परेको भन्छन्।
“हरे… हामी केटीहरूलाई पनि बाहिर गएर काम गर्न पाउँदा कति आत्मसन्तुष्टि हुन्छ भन्ने कुरा कसरी बुझाउने होला, यी पुरूषहरूलाई। दश कक्षामा उसलाइ ट्युशन पढाउने सरले एकपटक भनेको कुरा सम्झी। उनले भनेका थिए कि यी केटीहरू पढेर बाहिर काम गर्ने भएभने आफैले दुःख पाउने हुन्। बाहिर पनि काम गर्यो तर फेरी घरको काम त गर्नै छ भनेर। आफैलाई सोधी, “केटीहरूले आफ्नो लागि मात्र बाहिर गएर काम गर्ने हुन् र? फेरी घर चलाउन पनि त कति सजिलो भएको छ। आखिर त्यसको फाइदा परिवारका सबैलाई नै त हुन्छ नि हैन र?
के यो आकाशको मात्र गल्ति हो त? पुनः आफैंलाई प्रश्न गर्छे। अमेरिका आएको धेरै नभए पनि कतिपय नेपाली परिवारहरूमा यस्तै देखेकी छ। घरभित्रको काम चाँहि केटीहरूको मात्रै हो जस्तो। शायद यो नेपाली समाजकै एउटा कुरीति हो। अनि यहाँ आएर पनि नेपाली पुरूषहरूले त्यस्तो मानसिकता छाड्न नसकेको देख्दा भने उसलाई दिक्क लागेर आउँछ।
ऊ एउटा कुरामा चाहिँ ढुक्क छ कि मेरा छोरीहरूले आफू जस्तै यस्तो समस्याबाट पीडित हुन पर्दैन भनेर। यो सम्झेर आफू अमेरिका आएको कुरामा तारालाई गर्व लागेको छ।
म जस्तो बोल्न नसकी बस्ने कति होलान्? उसलाई लाग्छ। तर एकदिन कयौं आकाशहरू मन कसो नफर्किएला त? बिस्तारै उनीहरूले यो कुरा बुझ्नेछन् भन्ने आशाको दियो भने उसको मनमा अझै बलेको छ।