© २०२३
हालै प्रदर्शनमा आउको सलमान खान अभिनीत फिल्म ‘रेस ३’ फेसबुकबाट लिक भएको छ।
एक्सनले भरपूर मल्टिस्टारर फिल्मको डबिङ प्रिन्टलाई फेसबुकका कैयौं प्रयोगकर्ताले अपलोड गरिदिएका छन्। फिल्मलाई कैयौं ग्रुप र अन्य प्रयोगकर्ताले सेयर गरेका छन्।
इदको अवसरमा रिलिज भएको खानको नयाँ फिल्म रेस ३ ले भारतीय बक्सअफिसमा राम्रो कमाइ गरिरहेको छ। उसले दुई दिनमै ६७ करोड भारतीय रूपैयाँ बटुलिसकेको छ। यसैबीच सोसल मिडियाबाट सार्वजनिक भएको उक्त फिल्मको ब्यापारमा असर गर्ने देखिएको छ।
फिल्मले रिलिजको दिन २९.१७ करोड कमाएको थियो भने दोस्रो दिन ३८.१४ करोड भारतीय रूपैयाँ कमाएको बलिउडका व्यापार विश्लेषक तरण आदर्शले जनाएका छन्। तीन दिनमै फिल्मले एक सय करोड पार गर्ने आकलन गरिएको छ।
फिल्म लिक भएपछि निर्माता र सलमानको केही प्रतिक्रिया आइसकेको छैन।
सलमानको यो फिल्मबारे मिश्रित प्रतिक्रिया आइरहेको छ। उनका फ्यानहरुका लागि फिल्म ब्लकबस्टर भए पनि अन्यलाई निराश पारेको छ।
‘रेस ३’ मा सलमानका साथै ज्याकलिन फर्नान्डिज, अनिल कपुर, बबी देओल, डेजी शाह र साकिब सलिमको मुख्य अभिनय छ।
सलमानको कम्पनी र रमेश तौरानीले संयुक्त रुपमा निर्माण गरेको यस फिल्मको निर्देशन रेमो डिसुजाले गरेका हुन्।