© २०२३
वर्तमान सूचना प्रविधिको युगमा मोबाइल फोन अत्यन्त प्रभावकारी आविष्कार बनेको छ । मोबाइल फोनमा भैरहेको द्रूत विकास र बढ्दो प्रयोगसँगै मानिसको ब्यक्तिगत तथा मानव समुदायमा यसले ठूलो सकारात्मक प्रभाव पारिरहेको छ । तर, मोबाइल फोनको प्रयोगका कारण सिर्जना हुने नकारात्मक असरहरूका बारेमा पनि निकै जानकार हुन र सावधानी अपनाउन पर्ने देखिन्छ । किनभने बालबालिकालाई भुलाउने र आफूले ब्यापार ब्यवसाय गर्ने वा विद्यार्थीहरूले पुस्तक पढेरभन्दा च्याटजिपिटि, डिपसिकजस्ता कृत्रिम बौद्धिकता साधनहरूको प्रयोग गरी गृहकार्य गर्ने, शिक्षकहरूले ती कृत्रिम बौद्धिकताका साधनहरूबाट सारेर लेखाउने, बयस्कहरूले पनि सामाजिक सञ्जालको प्रयोग, इन्टरनेटका माध्यमबाट गरिने ब्यापार, बैंकिंग कारोबार लगायतका क्षेत्रमा मोबाइलको प्रयोग बढिरहँदा जोखिम र नकारात्मक पक्षहरूको पनि विस्तार भैरहेको छ । तसर्थ मोबाइल फोनलाई बरदानका रूपमा प्रयोग गर्नका लागि यसका सकारात्मक र नकारात्मक प्रभावका बारेमा जानकार हुने र बुद्धिमतापूर्वक प्रयोग गर्न उत्प्रेरणा प्रदान गर्ने उद्देश्यकासाथ यो लेख तयार गरिएको छ ।
क. मोबाइल फोनको बढ्दो प्रयोग: अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनको २०२२ को तथ्याङ्क अनुसार विश्वमा ८.५८ अर्ब मोबाइल फोनहरू प्रयोगमा छन् । सोही वर्ष गरिएको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ७३.२ प्रतिशत मानिसहरूले मोबाइल फोन प्रयोग गर्दछन् । सुरूमा कुराकानी मात्र गर्न सकिने फिचर मोबाइल फोन प्रयोगमा आयो । यसको केही वर्षमै स्मार्ट मोबाइल फोनको विकास भयो । फलस्वरू कुराकानीका अतिरिक्त सन्देश पठाउन सकिने, इन्टरनेटको आधारमा कम्प्युटरबाट गर्न सकिने धेरै कार्य गर्न सकिने भएको छ । शिक्षा क्षेत्रमा एम्—लर्निङ्गको प्रयोग बढिरहेको छ । त्यसैगरी एण्ड्रोइड मोबाइल फोनबाट धेरै सिकाइ एप्स् र स्रोत सामग्रीहरूमा पहुँच सम्भव भएको छ । मोबाइलमै टाइप गर्ने, डकुमेन्ट तथा पावरपोइन्ट फाइल निर्माण र सञ्चालन गर्ने, कृत्रिम बौद्धिकताका साधनहरूको प्रयोग गर्ने, अनलाइन तथा खुला सिकाइका लागि आवश्यक प्लेटफर्महरूको प्रयोग गर्न सकिने, इमेल, युट्युब, र फेसबुकलगायत अन्य सामाजिक सञ्जाल सञ्चालन गर्न सकिने, पावरपोइन्ट प्रस्तुत गर्न सकिने, गणितीय समस्या समाधान गर्न सकिने, किसाइ तथा मनोरञ्जनाका सामग्रीमा पहुँच, अडियो र अडियो भिडियो सामग्री उत्पादन र उपयोग गर्न सकिने, विद्युतीय खेल खेल्न सकिने लगायत सिकाइ, सञ्चार, ब्यवसाय, मनोरञ्जन आदि कार्यमा मोबाइलको प्रयोग बढिरहेको छ । सबै उमेर समूह तथा पेशा, ब्यवसायका मानिसहरूले मोबाइल फोनको उपयोग गरिरहेका छन् ।
ख. मोबाइल फोन प्रयोगका सकारात्मक प्रभावहरू: मोबाइल फोनले लोकप्रियता कमाउनुको साथै मानव जीवनको अभिन्न अङ्ग बनेको छ । कतिपय अवस्थामा मानिसमा भएको एक प्रकारको कमजोरीलाई मोबाइल फोनको अर्को विशेषताले सहयोग गरेको छ । उदाहरणका लागि दृष्टिविहीनहरूका लागि उपयोगी आवाज दिने मोबाइल फोनमार्फत डायल गर्न सम्भव भएको छ । यस्ता धेरै उत्कृष्ट फाइदाहरू मोबाइल फोनले ल्याएको छ । तर मानिसहरू मोबाइल फोनका नकारात्मक असरहरूको चर्चा बढी गर्ने र सकारकात्मक प्रभावहरूका बारेमा कम चर्चा गर्दछन् । मोबाइल फोनलार्य सञ्चारका लागि मात्र सिमित गर्नु हुदैन । खासगरी हाम्रो जस्तो कम विकसित देशमा मोबाइल फोनमार्फत शिक्षामा फड्को मार्न सकिन्छ । कोभिड—१९ ले अधिकांश क्षेत्र थला परेका बेला शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सिकाइ एप्स् र वैकल्पिक सिकाइ माध्यमका रूपमा रेडियो तथा टेलिभिजन कार्यक्रम सञ्चालन ग¥यो । कैयौं शिक्षक, विद्यालय, स्थानीय तह, शिक्षक संगठन लगायतले सञ्चालन गरेका अनलाइन शिक्षण क्रियाकलाप विद्यार्थीहरूले घरमै बसेर मोबाइल फोनमार्फत हेर्न र केही हदमा सिकाइ क्षति न्युनीकरण भएको थियो । यो मोबाइल फोन र इन्टरनेट नभएका कारण कतिपय विद्यार्थीहरू सिकाइबाट बञ्चित भएका थिए । मोबाइल फोनमार्फत सिकाइ सामग्री तयार र सुरक्षित राख्ने, विद्यार्थीका सिकाइ परीक्षण लगायतका अभिलेखीकरण गर्ने, डिजिटल प्लेटफर्ममा सहभागिता, सिकाइ एप्स् र अनलाइन कोर्स पूरा गर्ने, मेसेञ्जर वा ह्वाट्स् एप वा इमेल लगायत माध्यमबाट सिकाइ साटासाट वा अन्तरक्रियात्मक सिकाइ सम्भव भएको छ । त्यसैगरी स्वास्थ्यसम्बन्धी कुराकानी गरी सुविधा पाउन सकिने मात्र होइन मानिसहरूले प्रयोग गर्ने डिजिटल साधनहरूले विभिन्न स्वास्थ्य सेवाका लागि आर्थिक सहयोग गर्ने गरेका छन् । त्यसैगरी मोबाइल फोनमार्फत प्राप्त जानकारीका आधारमा मानिसहरूले जीवनशैली र आर्थिक क्रियाकलापमा सुधार ल्याउन सकेका छन् । आजकल ब्यापारी र उत्पादकहरू आँफै मोबाइलमा विज्ञापनजन्य भिडियो फोटो अपलोड गरेर आफ्नो ब्यापार बढाएका छन् । अनुसन्धानकर्ताहरूले प्रश्नावली पठाएर अनुसन्धान कार्य गरिरहेका छन् । पेशागत सञ्जालीकरणमा ठूलो सहयोग पुगेको छ । दैनिक कार्यहरू छिटो, विश्वसनीय र विस्तार गर्नका लागि मोबाइलले सहयोग गरेको छ । मोबाइल फोनको प्रयोगका कारण समय बचत, लगानी कम लगायतका फाइदा पुगेको छ ।
ग. मोबाइल फोन प्रयोगका नकारात्मक असरहरू: खासगरी बालबालिकाहरूले अत्यधिक मोबाइल प्रयोग गर्नाले उनीहरूको सिकाइलाई असर गर्ने संज्ञानात्मक विकासमा ठूलो असर गर्दछ । मोबाइल हेर्ने बालबालिकाहरूको ध्यानकेन्द्रित गर्ने क्षमता ह््रास हुन्छ । उनीहरू हरसमय उत्तेजित हुने वा तत्काल प्रतिक्रिया खोज्ने खालका बन्छन् । अध्ययनमा निरन्तर एकाग्रता, योजना, आत्म नियन्त्रण, स्मरण लगायतका सिपहरू आवश्यक हुन्छ । यी सिपहरूको विकासमा मोबाइल प्रयोगले बाधा पु¥याउँछ । त्यसैगरी मोबाइल फोनमा ब्यस्त रहने ब्यक्तिमा सामाजिक एवम् अन्तरक्रियात्मक सिपहरूके अभाव हुन्छ । त्यसैगरी मोबाइल फोनमार्फत प्राप्त भएको सूचनामा निर्भर रहनाले मौलिकता, सिर्जनशीलता र कहिलेकाँही सत्यताको कमी हुन जान्छ । मोबाइल फोनको अत्यधिक प्रयोग गर्नाले स्वास्थ्य समस्या हुने बताइन्छ । खासगरी मोबाइल फोनमा अक्षर र स्क्रिन सानो हुने भएकोले आँखामा तनाव सिर्जना हुन्छ । मोबाइल फोन उपयोग गर्न चाहिरहनुलाई स्क्रिन एडिक्शन भनिन्छ । यो दूब्र्यसनीले मानिसलाई एक्लो, असामाजिक, शारीरिक एवम् मानसिक रोग, रिस, तनाव लगायतका बैयक्तिक समस्याहरू सिर्जना हुन्छन् । सामाजिक सञ्जालमा धेरै सक्रिय हुने मानिसले सामाजिक विकृति वा बदनियतसाथ सामग्री पठाई नाजायज फाइदा उठाउने हुनसक्छ । तसर्थ मोबाइल फोन ब्यक्तिगत र सामाजिक समस्याको कारक पनि बन्न सक्छ ।
घ. निष्कर्ष: मोबाइल फोन आधुनिक विज्ञानको एउटा उत्कृष्ट सिर्जना हो । यसको सही उपयोगले सञ्चारका अतिरिक्त शिक्षा, स्वास्थ्य, उत्पादन, पेशा, ब्यवसाय लगायतका क्षेत्रमा सरल, छिटो, दक्ष एवम् नवीनतम खोजका आधारमा जीवनशैली र मानवीय ब्यवहारहरूमा सुधार गर्न सकिन्छ । तर मोबाइल फोनको प्रयोगकर्ताले प्राथमिकताकासाथ मोबाइल फोनलाई सञ्चार वा ब्यवसाय वा शिक्षा वा मनोरञ्जनका लागि उपयोग गर्नुपर्छ । खासगरी आफ्नो पेशा ब्यवसायका क्षेत्रमा भएका प्रगतिलाई आत्मसात गर्नका लागि मोबाइल फोनको प्रयोग गर्नुपर्छ । मोबाइल फोन प्रयोग गर्ने एउटा निश्चित समय तालिका बनाउनु पर्छ । फोनको प्रयोग गरेको समय जाँच गरी बढी सयम मोबाइल फोन हेर्ने बानीलाई ब्यवस्थित गर्न सकिन्छ । त्यसैगरी नोटिफिकेशनलाई नियन्त्रण गरेर जुनसुकै बेलामा पनि सन्देश आएको घण्टीबाट हुने अवरोधबाट जोगिन सकिन्छ । विद्यार्थीहरूले कतिपय विषयवस्तु मोबाइल फोनमा खोज्न सक्छन् । तर यसो गर्दा स्रोतको आधिकारिकता र सत्यता यकिन गर्नुपर्छ । त्यसैगरी सुरक्षित तरिकाले डिजिटल सामग्री, एप्स् र कार्यक्रमको प्रयोग गर्नुपर्छ । उदाहरणका लागि अपरिचित मानिसहरूसँग सामाजिक सञ्जालमा साथी नबने, अप्रासंगिक एप्स्हरू प्रयोग नगर्ने, सँधै कार्य वा पेशासँग सम्बन्धित एप्स् र लिङ्क सर्च गर्ने, भाइरस अपडेट गर्ने, डस्ट बिन खाली गने आदि । त्यसैगरी मोबाइल फोनमा लगातार काम गर्नु हुदैन । आफ्नो पासवर्ड कसैलाई पनि दिनुहुदैन । मोबाइल फोन चार्ज गर्दै कुरा गर्नु हुदैन । मोबाइल फोन एउटा मशीन हो । यसलाई मानिसले जस्तो आदेश दिन्छ त्यस्तै कार्य गर्दछ । तसर्थ मोबाइल फोनको सदुपयोग वा दुरूपयोग प्रयोगकर्तामा निर्भर गर्दछ । संक्षेपमा भन्नुपर्दा मोबाइल फोनको उपयोग गर्नुपर्छ तर बुद्धिमतापूर्वक, सावधानीपूर्वक र उद्देश्यपरक तरिकाले मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ ।