© २०२३
बुटवल, १४ फागुन।
बुटवल कालिकानगरका पुराना स्थानीयहरू शिवरात्रि नजिकै सँगै बाङ्गेकुसुमको मेला सम्झन्छन्। सानो बस्ती रहेको तत्कालिन ४० सालतिर स्थानीय एकजुट भएर शिवमन्दिर सजाउँथे। कच्ची मन्दिरको छाना फेर्न श्रमदान गर्थे। स्थानीय समाजसेवी चन्द्रप्रकाश जैसी पौडेलले समुदायमा भाईचारा र संस्कृति जगेर्नामा एक भएर लागेको स्मरण गर्छन्। पाँच दिनसम्म चल्ने मेला भर्न रूपन्देहीसहित छिमेकी देश भारतबाट समेत भक्तजनहरू यहाँ आउने गरेको उनी बताउँछन्।
‘अहिले मन्दिर व्यवस्थित भएको छ तर मेला भर्न पहिलेजस्तो भिड हुँदैन।’–उनले भने। स्थानीय समाजसेवी बुद्धिबहादुर थकालीले स्वयं उत्पत्तिमान ज्योर्तिलिङ आफ्नो खेतमा भएको सपनामा देखे। खेतमा जमिन जोत्दा सपना सत्य भयो सो स्थानमा मन्दिर स्थापना गरे। दैनिक पूजापाठ गरे। थकालीले १ कठ्ठा जग्गा मन्दिरलाई दान गरे। दुईचार घरहुँदै सो स्थानमा घरधुरीहरू मिलेर सानो मन्दिर निर्माण गरे। वर्षेनी मन्दिरको छाना छाउने, गेरुवाको रंगरोगन गर्ने, तार लगाउने र भक्तजनहरूलाई व्यवस्थित दर्शनको व्यवस्थापनमा जुट्ने काममा स्थानीयहरू सक्रिय हुन्थे।
‘अहिलेको कालिकापथको बाटोभरि व्यापारीहरू मिठाई र खेलौनाका पसलहरू थाप्ने गर्दथे।’–स्थानीय रबिलाल सुवेदी सुनाउँछन्। पाँच दिनको मेला भर्नेको भिड हुन्थ्यो। बिस्तारै शहरीकरणसँगै खेतियोग्य जमिन नासिदै गयो। मन्दिर वरपर घरहरू निर्माण भए। सङ्गै ओझेलमा पर्यो मन्दिर। वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री आफू युवा अवस्थामा मन्दिरको सचिव रहेर मन्दिरको व्यवस्थापनमा काम गरेको सुनाउँछन्। बि.सं. २०५७ सालमा नयाँ ढंगबाट व्यवस्थापन अघि बढाएर अहिलेको अवस्थामा आएको उनले स्मरण गर्दै गुरुयोजना बनाएर अघि बढ्नुपर्ने बताए।
धार्मिक महत्वका रूपमा महाशिवरात्रि लिइन्छ। फागुन कृष्ण त्रयोदशीका दिनमा शिव उत्पत्ति, शिव र पार्वतीको विवाह उत्सवका रूपमा यो दिनलाई विशेष मानिन्छ। बुटवल उपमहानगरपालिका वडा नं. १६ स्थित ऐतिहासिक श्री नरेश्वर महादेव बोलबम धाममा महाशिवरात्रि मेला २०८१ भर्नेको हरेक वर्ष घुइँचो हुन्छ। पुर्खाबाट नै सञ्चालन भएको मेला केवल व्यवस्थापनको काममा अहिलेको पुस्ता लागेको धामका अध्यक्ष पूर्ण प्रसाद पौडेलले बताए। ‘कार्बन रेटिङका आधारमा यो मन्दिर २ हजार वर्षभन्दा पुरानो रहेको प्रमाणित छ।’–उनले भने। स्थानिय उत्पादन, खेल गतिविधि, रमाइलो र मिठाईका परिकार, खानपिनका साढे पाँच सय स्टलहरू लाग्ने मेला यस क्षेत्रकै पुरानो र ऐतिहासिक हो। द्वापर युग र त्रेता युगसँग मन्दिरको ऐतिहासिकता जोडिएको धार्मिक कथन रहेको मन्दिरका सल्लाहकार काशीराम शर्मा सुनाउँछन्। पछिल्लो समय बि.सं. २००१ सालमा जिर्णोद्धार गरिएको मन्दिर सेमलार गाउँपञ्चायत रहँदा तत्कालिन समयमा यसलाई व्यवस्थापन गर्ने काम सुरु भएको हो। यो क्षेत्रमा थारु समुदायको बाहुल्यता रहेको उनले बताए। तत्कालिन समयमा पुजारी कुलमान पुरीको नाममा रहेको र संरक्षणमा रहेको जग्गा बि.सं. २०५६ सालमा संस्थापक अध्यक्ष पशुपति चालिसेको समिति गठन गरी व्यवस्थापन सुरु भएको हो।
नरेनापुर मन्दिर र नजिकको कपरकट्टी (मिनि फेवाताल) समेतलाई जोडेर एकीकृत पर्यटनको योजना बनेको छ। मेला व्यवस्थापन गर्ने, आकर्षक बगैचा बनाउने र ९० फिटको अग्लो टावरमार्फत दृश्यावलोकन गर्ने र तालमा डुंगा सयरका व्यवस्थापनसम्मको कामहरू सुरु भएका छन्। मन्दिर व्यवस्थापन समितिको नाममा रहेको १ विगाहा ४ कठ्ठा क्षेत्रफलमा मुख्य मन्दिर र मेलास्थल रहेको छ।
यता पश्चिमको पशुपतिको उपमा पाएको रूपन्देहीको श्री पर्रोहा बोलबम धाममा वर्षेनी शिवरात्रिमा धार्मिक पर्यटकको घुइँचो लाग्छ। स्वयं उत्पत्तिमान ज्योर्तिलिङ रहेको सैनामैनास्थित पर्रोहा परमेश्वर धाममा पनि हरेक वर्ष मेला भर्नेको भिड हुन्छ। श्री पर्रोहा बोलबम धाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामबली चौधरीले कुनै बेला ओझेलमा परेको मन्दिर व्यवस्थापन गर्दै अहिलेको अवस्थामा ल्याउन सफल भएको बताए। ‘हामीले गुरुयोजना बनाएर अघि बढेका छौं’– उनले भने। नेपालका सरकारको अगुवाइमा पशुपतिकै नयाँ स्वरूप पाएको छ। उपमा जस्तै मन्दिरलाई पशुपतिनाथ मन्दिर जस्तो आकर्षक र सुन्दर बनाइएको छ।
वास्तुशैली र कलाको दृष्टिबाट नेपालमा पाइने धेरै मन्दिरहरू प्यागोडा शैली (छाने शैली) छन्। मन्दिरलाई नयाँ स्वरूपमा ल्याउने मात्र नभई व्यवस्थापन गर्दै गुरुकुल संचालन गर्दै आएको उनले बताए। संघीय सरकारको ७० प्रतिशत र स्थानीय सरकारको ३० प्रतिशत लागतमा पुनर्निर्माण गरिएको भक्तपुरका कालिगढहरूले तयार गरेको टुडालहरू जडित मन्दिर आकर्षक बनेको छ। मन्दिरकै कारण अहिले पालिकाको नाम देशभर प्रख्यात भएको छ।
ऐतिहासिक र सिद्धभूमि मानिएको पाल्पा र रूपन्देहीमा रहेका सिद्धबाबा मन्दिर समेत रंगरोगन र सौन्दर्यकरण गरिएको छ। महाशिवरात्रिको दिन बिहान ३ बजेबाट नै दर्शनार्थीहरूको भिड लाग्ने गर्दछ। दर्शनार्थीहरूलाई सहज पूजाआजा गर्ने गरि व्यवस्थापन भइरहेको सिद्धबाबा धाम मन्दिर विकास समितिका अध्यक्षले सन्तोष कुमार श्रेष्ठ बताए। भक्तजनहरूको सुरक्षा र सवारी पार्किङ व्यवस्थापनको समेत विशेष व्यवस्थापन भएको उनले बताए। गतवर्ष ३५ हजार दर्शनार्थीहरूले दर्शन गरेको तथा यसवर्ष भने पचास हजार भक्तजनहरू भित्रने अनुमान रहेको उनले बताए।
सिद्धार्थ राजमार्गको खण्डमा पर्ने मन्दिरको उत्तर क्षेत्रमा सवारी पार्किङको व्यवस्थापन गरिएको र स्वयंसेवकहरू समेत परिचालनका लागि आवश्यक सबै तयारी भैसकेको समितिका सचिव अरबिन्द पाण्डेले बताए। यो मन्दिर हिन्दु धर्मावलम्बीहरूका लागि पश्चिम क्षेत्रकै आस्थाको केन्द्र बनेको छ। वर्षेनी यहाँ श्रावणमा ठूलो मेला लाग्दछ। नेपालका अधिकाश जिल्लासहित भारतबाट समेत भक्तजनहरू मन्दिरमा जलार्पण गर्न आउने गर्दछन्। बि.सं. २०७० मा मन्दिरको फोटो अंकित हुलाक टिकट समेत निकालिएको छ। मणिमुकुन्द सेन उद्यान परिसरमा रहेको पाँच सय वर्ष पुरानो शिवमन्दिर गतवर्ष जिर्णोद्धार गरिएको छ। जहाँ शिवरात्रिको दिन दर्शनार्थीहरूको भिड लाग्ने गर्दछ। सिद्धार्थनगरको बसडिलवास्थित शिव मन्दिरमा समेत शिवरात्रिमा दर्शनार्थीहरूको भिड लाग्छ। एक दिन मात्र लाग्ने बसडिलवाको मेला भर्न तथा पूजापाठ गर्न नेपालसँगै भारतका भक्तजनसमेत भित्रने गरेका छन्।