© २०२३
कपिलवस्तु, २८ कात्तिक ।
तीन प्रतिनिधिसभा रहेको कपिलवस्तुमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र न.ं २ सबैको चासोको केन्द्रमा छ । वि.सं २०५६ देखि लगातार चुनाव जित्दै आएका वृजेशकुमार गुप्ता लडेको यो निर्वाचन क्षेत्रलाई चासोपूर्वक हेरिएको हो । आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गुप्तालाई जिल्लामा सदावहार सांसदका रुपमा हेर्छन् । जिल्ला सदरमुकामसमेत पर्ने यो निर्वाचन क्षेत्रमा गुप्ता नेकपा (एमाले) बाट चुनावी मैदानमा छन् ।
गुप्तासँग नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य भिड्दै छन् । विसं २०७४ को निर्वाचनमा दुवै जना चुनावी प्रतिस्पर्धामा थिए । गुप्ता २०५६ सालदेखि लगातार सङ्घीय सांसद रहँदै आएका छन् । उनीसँग २०५६ मा नेपाली कांँग्रेसका नेता दीपकुमार उपाध्याय पराजित भएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव जितेका गुप्तालाई एमालेले अघोषितरुपमा सघाएको थियो ।
वि.सं. २०५६ मा एमालेबाट अघोषितरुपमा साथ पाएका गुप्ता विभिन्न दल बदल्दै अन्ततः यो निर्वाचनमा एमालेबाट आधिकारिक उम्मेदवार बनेका हुन् । पूर्वमन्त्रीसमेत रहेका गुप्ता वि.सं. २०६४ र २०७० मा तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । तत्कालीन संविधानसभा निर्वाचन क्षेत्र नं. ३ रहेको यो क्षेत्र हाल सङ्घीय संरचनाअनुसार क्षेत्र न.ं २ पर्दछ ।
वि.सं. २०७४ मा वाम–गठबन्धनको साझा उम्मेदवार बनेका उनी हृदयेश त्रिपाठी समूहबाट सूर्य चिह्न लिएर चुनावमा होमिदा तत्कालीन कांग्रेस जिल्ला सभापति तथा सिँचाइ राज्यमन्त्री आचार्यलाई झण्डै चार हजार मतान्तरले पराजित गरे । गुप्ताले ३५ हजार एक सय २७ मतका साथ विजयी हुँदा आचार्यले ३१ हजार पाँच सय ६६ मत ल्याएका थिए ।
कांँग्रेस उम्मेदवार आचार्य २०७० को संविधानसभामा निर्वाचित भए पनि त्यसउता र यता कुनै चुनाव जितेका छैनन् । वि.सं. २०५६ मा काँंग्रेसबाट टिकट नपाएपछि बागी उम्मेदवार बनेका आचार्यले २०७० सालमा संविधानसभा निर्वाचन क्षेत्र नं. ४ बाट चुनाव जितेका हुन् । गुप्ता र आचार्यबीचको प्रतिस्पर्धा भने दोस्रो पटक हुन थालेको छ ।
गुप्ताले वि.सं. २०६४ र २०७० मा कांँग्रेस नेता सुधाकरण पाण्डेयलाई पराजित गर्दै चुनाव जितेका थिए । आचार्यले २०७० मा एमालेका नेत्रराज अधिकारीलाई पराजित गरेर विजयी भएका थिए । वि.सं. २०७४ मा मात्र उनी दुवैबीच प्रतिस्पर्धा हुन पुगेको हो ।
प्रतिनिधिसभा क्षेत्र नं. २ मा बुद्धभूमि नगरपालिकाका १० वडा, कपिलवस्तु नगरपालिकाका ७ वडा, यशोधरा गाउँपालिकाका ८ वडा र महाराजगञ्ज नगरपालिकाका ७ वडा छन् ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार बुद्धभूमि नगरपालिकाको नगर प्रमुख, उपप्रमुख कांग्रेसले जित्दा वडा नं १, २, ६, ८ र ९ गरी पाँच वडामा कांग्रेस विजयी भएको छ । एमालेले वडा नं ३, ४, ५ र ७ मा जीत हात पारेको छ । वडा नं. १० मात्र जनता समाजवादी पार्टी (जसपा) ले जितेको छ ।
यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको छ । आठ वडामध्ये वडा नं. १, २ र ८ एमाले उम्मेदवारले जितेका छन् । वडा नंं. ३ र ७ कांग्रेसले जितेको छ । वडा नं ६ जनमत पार्टीले जित्दा वडा नं. ४ जसपाले जितेको छ भने वडा नं. ५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
कपिलवस्तु नगरपालिकाको नगर प्रमुख र उपप्रमुख जसपाले जितेको छ । बाह्र वडामध्ये वडा नं. ७, ८, ९, १० र ११ प्रतिनिधिसभा क्षेत्र नं. १ मा पर्दछन् । प्रतिनिधिसभा क्षेत्र नं. २ मा पर्ने वडामध्ये एमालेले वडा नं २, ४ र ६ मा जीत हात पारेको छ । कांँग्रेसले वडा नं. ३, ५ र १२ जितेको छ । जसपाले वडा नं. १ मात्र जितेको छ ।
महाराजगञ्ज नगरपालिकाको नगर प्रमुख र उपप्रमुख कांँग्रेसले जितेको छ । एघार वडा रहेको यो नगरपालिकाका वडा नं. १, २, ३, ४, ८, ९ र १० यो निर्वाचन क्षेत्रमा पर्दछन् । सोमध्ये वडा नं. १, २, ३, ८ र १० कांँग्रेसले जितेको छ । वडा नं. ४ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जित्दा वडा नं. ९ मा एमालेले जितेको छ ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा नेपाली कांँग्रेस अगाडि देखिन्छ । कांँग्रेसको ३० हजार नौ सय ९८, एमालेको २७ हजार दुई सय ९८, जसपाको छ हजार नौ सय आठ, लोसपाको छ हजार तीन सय ८६, माओवादीको चार हजार चार सय ५९, राप्रपाको दुई हजार ३५, नेकपा (एस) को छ सय ९१ मत रहेको छ ।
कांँग्रेस उम्मेदवार आचार्यलाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) को दरिलो साथ छ भने गुप्तासँग एमाले मात्र रहेको छ । यो निर्वाचन क्षेत्रमा जसपाले उम्मेदवारी दिएको छैन भने लोसपाले पूर्वमन्त्री अकवाल शाह चुनावी मैदानमा हुन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा क्षेत्र नं. २ मा एक लाख २१ हजार छ सय ७६ मतदाता रहेका छन् । त्यसमा पुरुष मतदाता ६६ हजार रहेका छन् भने महिला मतदाता ५५ हजार छ सय ७६ रहेका छन् । यस क्षेत्रमा ८३ मतदानस्थल र एक सय सय ५५ मतदान केन्द्र तय गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अनिता क्षेत्रीले जानकारी दिइन् ।
प्रदेशसभा ‘१’ तर्फ सत्तागठबन्धनबाट नेपाली कांँग्रेसका विक्रमसिंह थापा चुनावी मैदानमा छन् । नेपाल प्रहरीका पूर्वएसएसपीसमेत रहेका थापा यो क्षेत्रको नयाँ अनुहार हुन् ।
एमालेबाट नवराज लामिछाने उम्मेदवार छन् । वि.सं २०७४ को चुनावमा समेत यो प्रदेशसभामा जितेको एमालेले लामिछानेलाई उम्मेदवार बनाएको हो । उनी पनि नयाँ अनुहार हुन् । प्रदेशसभाभित्र दुवै जना नयाँ अनुहार प्रतिस्पर्धामा उत्रिएपछि चुनाव रोचक बन्ने अनुमान छ ।
प्रदेशसभा ‘२’ तर्फ सत्तागठबन्धनले नेपाली कांँग्रेसका सुधाकर पाण्डेयलाई उम्मेदवार बनाएको छ । संविधानसभाका दुई चुनाव र प्रदेशसभाको एक चुनाव हारेका पाण्डेय कांँग्रेसका पूर्वजिल्ला सभापतिसमेत हुन् । पाण्डेयलाई एमालेका उम्मेदवार धर्मबहादुरलाल श्रीवास्तवले कडा टक्कर दिएका छन् । गत चुनावमा समेत प्रदेशसभा जितेका श्रीवास्तव लुम्बनी प्रदेशबाट मन्त्रीसमेत बनेका थिए ।
यो निर्वाचन क्षेत्रमा पाण्डेय र श्रीवास्तवबीच मात्र चुनावी प्रतिस्पर्धा हुने छैन । जसपाका अब्दुल रसिद पनि बलिया प्रतिस्पर्धी देखिएका छन् । यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।
उम्मेदवारहरु विकासका एजेण्डा लिएर घरदैलोमा व्यस्त छन् । जिल्लाको मध्यभागमा पर्ने यो क्षेत्र पूर्णतया कृषिमा आधारित क्षेत्र हो । जिल्लाका अरु दुई निर्वाचन क्षेत्रभन्दा बसाइँसराइ गरी यहाँ आउनेको संख्या कमै छ ।