© २०२३
परासी,२७ कात्तिक । पूर्वमन्त्री एवं जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले राजनीतिमा धनाढ्यहरु हावी हुन थाले विशुद्ध राजनीति गर्ने नेता र युवा नेताहरुको भविष्य समाप्त हुने बताएका छन् । उनले धनाढ्यहरुको राजनीतिमा प्रवेशले अर्थतन्त्र बिचौलियाको हातमा जाने टिप्पणी समेत गरे । नवलपरासी क्षेत्र नं १ का सांसद उम्मेदवार त्रिपाठीले गठबन्धनका उम्मेदवार विनोद चौधरीलाई लक्षित गर्दै धनको आडमा राजनीति गर्न थालियो भने जानकीले भने झै राज्यमा निरङ्कुशता र तानाशाही प्रवृति हावी हुने बताए ।
शनिबार बर्दघाट नगरपालिकाको वडाहरुमा भएको घरदैलीका क्रममा सम्बोधन गर्दै उनले राजनीतिमा धनाढ्य बिचौलियालाई रोक्न आफूले अन्तिम पटक निर्वाचन लड्दै गरेको बताए । राजनीतिको रक्षा, जनताको प्रतिष्ठा, इज्जत, स्वाभिमान र सम्मानका लागी आफू उम्मेदवार भएको त्रिपाठीले बताए ।
त्यसैगरी नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नंं. १ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार पुन्य प्रसाद पौडेलले पनि उद्योगपति चौधरीलाई इंकित गर्दै धनको बलमा यहाँका मतदाता बिक्रि नहुने बताए । चौधरीले चुनाव जित्नकै लागि सीजी नेट देखि लिएर फाउण्डेसनको नाममा अनुदान समेत बांडेदै आचांरसहिता उल्लघंन गरेको बताए । प्रदेश सभा सदस्य उम्मेदवार पौडेलले उद्योगपति चौधरी जस्ता उम्मेदवारीको आगमन भएमा भोलीका दिनमा देशका राजनीतिकर्मीहरु पलायन हुनुपर्ने स्थिति आउने दावी गरे । त्यसकारण नै यसपटकको निर्वाचन राजनीतिकर्मीले नै जित्नुपर्ने उनले तर्क गरे । जनताहरुले चौधरीलाई पाहुनाको रुपमा मात्र चिनेको भन्दै उनले चुनाव नजित्ने ठोकुवा गरे ।
यस्तै नेकपा एमालेका नेत्री एवम् पूर्व संविधान सभा सदस्य सिन्धु जलेसा बुढाथोकीले जप्रपा, नेकपा एमाले र जसपाको संयुक्त गठबन्धन मजबुत रहेको भन्दै आफुहरुले चुनाव जित्ने बताइन् ।