© २०२३
बुटवल,२५ कात्तिक । रुपन्देही–२ को प्रतिनिधिसभा सदस्य पदमा लौरो अभियानले स्वतन्त्र उम्मेदवार रुपसिंह थापालाई समर्थन गर्ने भएको छ । शुक्रबार बुटवलमा रुपसिंह थापाले आयोजना गरेको पत्रकार सम्मेलनमा हाम्रो नेपाली पार्टीकी लुम्बिनी प्रदेश संयोजक इशा खड्काले थापालाई सहयोग गर्ने सहमति भएको बताइन् ।
रुपन्देही २ मा आफ्नो पार्टीको लौरो चिन्ह लिएका उम्मेदवार कमल भुसाल (निकोलस) को उम्मेदवारी खारेज भएको अवस्थामा स्वतन्त्रहरुलाई नै जिताउने आफ्नो अभियान भएकाले थापालाई समर्थन गर्ने सहमति भएको बताए ।
पत्रकार सम्मेलनमा स्वतन्त्र उम्मेदवार थापाले सत्तारुढ गठबन्धन ठगबन्धन मात्रै भएको टिप्पणी गरे । सत्तमा भएका दलहरु एक्लाएक्लै आफ्नो विचार सिद्धान्त लिएर चुनावमा आउनुपर्नेमा हार्ने डरले गठबन्धन गरेका थापाले बताए । ‘यो गठबन्धन होइन ठगबन्धन हो’–थापाले भने–‘गठबन्धनको संस्कृतिले राजनीति झन् विकृत बनाउंछ ।’ बुटवलका पुर्व मेयर समेत रहेका थापाले सत्ता गठबन्धनले पनि शुरुमा आफूलाई समर्थन गर्ने बताएको तर पार्टीका शीर्ष नेताहरुको दबाबमा विचार सिद्धान्त नमिल्ने जनमुक्ति पार्टीलाई समर्थन गरेको बताए ।