© २०२३
साना तथा घरेलु कार्यालयको म्याद गुज्रेको फर्म नबीकरण खुलाउन व्यापार संघ कपिलवस्तुले उद्योगमन्त्री मात्रिका प्रसाद यादवलाई ध्यानाकर्षण गराएको छ । व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल नेतृत्वको टोली उद्योगमन्त्री यादवलाई भेटी घरेलु उद्योगको नबीकरण छिटोभन्दा छिटो खुलाइदिनुहुन आग्रह गरेको हो । डेलिगेसनमा पूर्व राज्यमन्त्री ईश्वर दयाल मिश्र, कपिलवस्तु क्षेत्र नं. ३ बाट प्रदेशसभा उम्मेदवार जाबेद आलम खाँसहितको उपस्थिति रहेको थियो । साना तथा घरेलु कार्यालयले नबीकरण अवधिभन्दा तीन महिना वित्दा जरिवाना तिर्दा समेत फर्म नबीकरण नहुँदा उद्योगी व्यापारीहरूले दुःख भोग्नुपरेको व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले बताए । व्यापारीहरूको समस्यालाई मध्यनजर गर्दै फर्म नबीकरण खुलाउन उद्योगमन्त्री यादवसँग आग्रह गरिएको पोखरेलले जानकारी दिए । प्यानको नबीकरण म्याद नाघेपनि जरिवाना तिरेपछि नबीकरण भएको तर घरेलुले नबीकरण नगर्दा निकै समस्या बेहोर्नुपरेको व्यापार संघ अध्यक्ष पोखरेलले गुनासो गरे । फर्म नबीकरण नहुँदा बैंकिङ कारोबार समेत गर्न नपाई कपिलवस्तुका ५ हजार व्यापारीहरूको व्यवसाय धरापमा परेको उनले जनाए । तीन महिना अवधि नाघेर नेपालभर झण्डै एक लाख व्यापारी नबीकरण गर्न नपाएको उनले बताए ।उद्योगमन्त्री यादवले एक महिनाभित्र साना तथा घरेलु उद्योग कार्यालयको नबीकरण खुलाउन मन्त्रीपरिषदमा प्रस्ताव राख्ने आश्वासन दिएको व्यापार संघका अध्यक्ष पोखरेलले फोनमार्फत बताएका छन् । व्यापारीहरूको समस्यालाई ध्यानमा राख्दै उद्योगमन्त्री यादवले कम्तीमा तीनमहिनाका जसरी भएपनि नबीकरण खुलाउन पहल गर्ने प्रतिबद्धता जाहेर गरेको डेलिगेसन टोलीले जनाएको छ ।