© २०२३
प्यूठान, २० कात्तिक ।
प्यूठान नगरपालिका–७ डल्लेमा भाइटिकाको भोलीपल्ट लाग्ने सरायँमा थापडाँडा सरायँ उत्कृष्ट भएको छ । ९ वटा सरायँ समुहहरुले सरायँ प्रदर्शनीमा भाग लिएकोमा सो समुह प्रथम भएको हो ।
प्यूठान नगरपालिका–४ थापडाँडाको सरायँलाई पुरस्कार वापत एक लाख रुपैया प्रदान गरिएको हो । द्धितिय प्यूठान नगरपालिका–१, खैरा सरायँ समुहलाई ७५ हजार, र तृतिय प्यूठान नगरपालिका–१०, सारीबाङ सरायँ समूहलाई ५० हजार पुरस्कार हस्तान्तरण लुम्बिनी प्रदेश सरकारका सहरी विकास मन्त्री सरोज थापा (रोज राणा) ले गरेका हुन् । सहभागी सवै समूहलाई २०÷२० हजार रुपैयाँ प्रोत्साहन र सरायँ नाचको यातायात व्यवस्थापनको रूपमा प्रदान गरिएको सराय व्यवस्थापन समितिका अध्यक्ष कमल रिजालले जानकारी दिए ।
मन्त्री थापाले ऐतिहासिक महत्व बोकेको मेलालाई थप व्यवस्थित ढंगबाट सञ्चालन गर्न प्रदेश सरकारले प्रतिवद्ध रहेको बताए । ‘डल्ले सरायँको व्यवस्थापनका लागि आवश्यक लिखित मागहरु पेश गर्नुहुन अनुरोध गर्दछु’ मन्त्री थापाले भने,‘आवश्यक प्रबन्ध म मिलाउँछु ।’
डल्ले सरायँलाई ऐतिहासिक तथा सांस्कृतिक महत्वको रुपमा लिइन्छ । पहिले पुण्यखोला, थापडाँडा, सापडाडाँ, क्वाडी र सारीवाङ सरायँ समुहहरु आउने चलन थियो । २०७१ साल देखि प्रतियोगितात्मक रुपमा सरायँ प्रदर्शनी गर्न थालेसंगै हाल ९ सरायँ समुहरु भाग लिँदै आएका छन् । पुरस्कार र व्यवस्थापन खर्च प्यूठान नगरपालिकाले उपलब्ध गराउँदै आएको छ ।
नेपाल पत्रकार महासंघ प्यूठानका पूर्व अध्यक्ष सुशील पोख्रेलले डल्ले सरायँ प्यूठान र भित्रिकोट राज्यको इतिहास जोडिएको बताए । उनले भने,‘ चौविसे राज्य अन्तरगत पर्ने भित्रिकोट चन्दबंशीहरुको शासनआरम्भ बिसं १५१५ देखि थालनी गरेको इतिहासकारबाट उल्लेख भएको देखिन्छ । त्यो समय पूर्व प्रचलित किंवदन्ती अनुसार करिव १३ औं शताब्दीतिर राक्षसी प्रबृतिको जाँट राजाले जनताहरुलाई निकै दुःख दिएको ती राजालाई विस्थापित गर्न खुँडा खुकुरी लिएर लखेट्रन थाले । जाँटलाई भित्रीकोटबाट लखेट्दै पुण्यखोला स्थित क्षेत्रपालसम्म ल्याए । क्षेत्रपालसम्म आइपुग्दा जाट घाइते भइसकेको थियो ।
पुण्यखोलास्थित क्षेत्रपालबाट पनि बिजुवार स्थित डल्लेमा ल्याई त्यो जाटको हत्या गरिएको थियो । राजाको मृत्युवरण गरको सम्झनामा मौलो बनाएर हरेक वर्ष डल्ले सरायँ निकालिने गरिएको छ ।’ यहीमेला हेर्न वर्षेनी हजारौको सङ्ख्यामा प्यूठान सहित, रोल्पा, अर्घाखाँची, गुल्मी र दाङबाट समेत मेला हेर्न आउनेको भीड लाग्ने गर्दछ ।