© २०२३
पाल्पा, २ असोज ।
यहाँका अग्ला अग्ला रुखमा बासस्थान बनाएका हासँ प्रजातिमा पर्ने सेतो बकुल्ला आहारा र बासस्थानको समस्याका कारण हराउन पुगेका छन् । खोला तथा सिमसार क्षेत्र खेतमा पाइने माछालाई प्रमुख आहारा बनाउने सेतो प्रजातीका पंक्षी बकुल्ला एक दशक अगाडि सम्म हजारौंको सख्यामा थिए तर पछिल्ला समयमा हराउँदै गएको स्थानीयहरु बताउँछन् ।
जब बेलुकाको समय हुन्छ आफ्नो आहारा खोजेर टाढा टाढाबाट बासमा फर्किदा हुलै सित लाइनबद्ध भएर आउँदाको दृश्यले मालचराको झल्को नै दिन्थ्यो । तर पछिल्लो समयमा एकाएक हराउँदै जाँदा यसको खोजी गर्नुपर्ने स्थानीय लेखनाथ भण्डारी बताउँछन् । पहिले पहिले माडीफाँट, अर्गली, रामपुर पुर्वखोला जस्ता फाँटमा मात्र नभएर सानो सानो खोलाका किनारामा भएका खेतहरुमा पनि लहरै आहारा ढुकेर बसेको देखिन्थे । अग्ला बर, पिपल, स्वामी, सिमल जस्ता अग्ला अग्ला रुखहरुमा सेताम्ये देखिने पंक्षी एकाएक हराउँदै जादा आफू अचम्मित भएको उनी बताउँछन् ।
पानीभित्र माछा तथा सिस्यानमा बस्ने भ्यागुता, गंगटा, साना साना सर्पहरुको शिकार गर्न जान्ने पंक्षी हो । जब खेतमा धान रोप्ने समयदेखि धान काट्ने समय सम्म खेत सेताम्ये देखा पर्दा जो कोहीको मन पनि आनन्दित हुन्छ । यसरी देखा परेका बकुल्लाहरु किन र कसरी हराउँदै गए भन्ने विषयमा सरकारी तहबाटै खोजिनुपर्ने माथागढी गाउँपालिका कसेनीका खुमन सिह राना बताउनु हुन्छ । तानसेन नगरको दमकडाका अग्ला अग्ला पिपलका रुखहरुमा आफ्नो बासस्थान बनाउन लागेको वर्षौ भएको थियो । बेलुका पख लामबद्ध भएर ठूलो संख्यामा पटक पटक बासका लागि आउँथे । पानी परेको समयमा रुखमा पात भन्दा चरा बढी देखिन्थे । तर दुइ चार वर्ष अगाडि यो कहाँ गयो ? स्थानीय टोपबहादुर राना बताउँछन् । “यो बकुल्ला हो यसको मानिससँग प्रत्यक्ष सम्बन्ध पनि जोडिएको छ तर यो हराउनुको कारण पत्ता लगाउनु पर्छ”–उनले भने ।
शेरबहादुर कुमाल उमेरका हिसाबले सात दशक पूरा गरेको बताए । आफूले सानै उमेरदेखि बकुल्लासित रमाएको बताउँछन् । फाँटमा गाइगोरु लिएर गयो । गाइगोरुको शरीरमा भएका जुम्रा तथा अटेर्नाहरु खान्थे, त्यति मात्र नभएर गोरुको पुच्छरले धपाएको माखाको शिकार पनि गर्थे । गाइगोरुका यिनीहरु एक असल साथी पनि भएका थिए । एकाएक हराउँदै जाँदा उनी दङ्ग परेको बताए ।
पुर्वखोला गाउँपालिका पुर्वखोलाका कृषक चन्द्रबहादुर राना पनि उमेरका हिसाबले सातै दशक पार गरे । पहिले पहिले यहाँको बाँसघारी कुनै खाली नै थिएन । सबैमा सेताम्य भएर बास बसेको देखिन्थ्यो । यो एकाएक हराएको धेरै भएको छैन । अन्न बालीमा विषादीको प्रयोगका कारण माछा पाउनै कठिन भयो र आहारामा कमी आएकोले एक एक गरी संख्यामा कमी आउँदै हराएको पुराना पुस्ताहरुको भनाई छ ।
ठुलाठुला पोखरी वा सिमसारहरुमा ठुला ठुला पंक्षीहरु बाहिरबाट पनि आउने हँुदा सरोकारहरु वा सरकारैबाट ध्यान पुगेको छ । तर यस्ता साना साना पंक्षीतर्फ सरकार र सरोकारवालासंग ध्यान नपुगेको स्थानीयहरु बताउँछन् ।
विदेशी पर्यटकलाई समेत आकर्षित गर्न सकिने यसको समुचित रुपमा व्यवस्थापन गर्न सकिए । विश्वमा १४ प्रजातीका बकुल्ला पाइन्छन् । नेपालमा भने १० प्रजातीका मात्र पाइन्छन् । पाल्पामा पाइने भनेको बस्तु बकुल्ला हो । यसको नामाकरण पनि स्वभाव अनुसारको समूहमा बस्न मन पराउने भएकाले बस्तु बकुल्ला भनिएको हो । घरपालुवा जनावरसंग नजिकिने माखा, किर्ना जस्ता किरा खाने भएकाले यसलाई बस्तु बकुल्ला भनिएको हो । यसलाई पनि दुई वटा प्रजातीमा विभाजन गरिएको छ । पुर्वी बस्तु र पश्चिमी बस्तु । यो पंक्षी सबै महादेशमा पाइन्छ । अरु बकुल्ला बसाई सर्दछन् तर यो प्रजातीको बकुल्ला बसाई सर्दैन, खुल्ला सिस्यान ठाउँ मन पराउँछ । मानव निर्मित वातावरणबाट यसलाई असर पुगेकाले यो हराउन पुगेको मुख्य कारण मानिएको छ । बालीमा किरा तथा झार नियन्त्रणको लागि आवश्यक भन्दा बढी विषादीको प्रयोग गर्नु साथै भवन निर्माणका क्रममा भूमि टुक्राउँदा यसलाई आहारामा कमी भएका कारण हराउन पुगेको पंक्षी विद्ध भूपाल नेपाली बताउँछन् ।
विषादीका कारण अन्य जलचर प्राणीहरु पनि हराउन पुगेका छन् । कृषकहरुले बढी मुनाफा लिन अन्धाधुन्ध विषादीको प्रयोगका कारण जलचर प्राणीमा मात्र होइन मानव बस्ती मै प्राकृतिक जिवन चक्रमा नै नकारात्मक असर पुगेको पुगेको छ । यसलाई रोक्न हामी सबै सचेत हुनु पर्ने उनले बताए ।
विषादीका कारण अन्य जलचर समेत हराउन पुगेको छ । विषादीको प्रयोग बढ्दो मात्रामा भएका कारण यहाँका जलचरहरु सबै हराउन पुगेका छन् । विषादीको न्युनीकरण संगै आवासको लागि जमिन छोट्टिदै जानु, वनमा डढेलो संगै ठुला ठुला रुखहरु कटान हुने प्रकृया रोक्नको लागि सचेतना कार्यक्रम गर्नुपर्ने वातावरण विदहरु बताउँछन् । बकुल्ला मात्र नभई माछालाई आफनो प्रमुख आहारा बनाउने सावरी समेत हरायो । प्राकृतिक सुन्दरताका प्रतिक ठानिने बकुल्ला मात्र नभएर अन्य पंक्षीहरु पनि मानव सिर्जित कृयाकलापबाट हराउन पुगेका छन् । विषादीको प्रयोग कम गर्नुतर्फ लाग्नु पर्ने वातावरण विदहरुको भनाई रहेको छ ।