पाल्पा, ३१ साउन ।
माथागढी गाउँपालिका चिदीपानीकी माया पाण्डेले बारीमा मकै नरोपेको तीन वर्ष भयो । उनीसंगै छिमेकी बुद्धीमता नेपालीले पनि बारी बाँझो राखेको धेरै वर्ष भयो । दिउँसोमा बाँदर, रातिमा बँदेलले मकै साथसाथै अन्य तरकारी समेत सखापै बनाएका कारण पछिल्लो समयमा पाण्डे र नेपाली जस्ता सयौं कृषकहरुले बारी बाँझो राख्ने क्रम बढेको छ ।
समथर परेको भुगोल, ठूलाठूला बारीका पाटाहरु, त्यही एउटा पाटामा उब्जिएको मकैले ५ जनाको परिवारलाई वर्ष दिन समेत खान पुग्थ्यो । अर्को पाटाको मकै बिक्री गरेर नुन, साबुन, चिनी, लत्ता कपडामा खर्च गर्ने गरेको बताउने पुराना पुस्ताका मान बहादुर सारुले पनि तिनै बारीमा खेती गर्न छाडेको पाँच वर्ष भइसकेको छ । यसरी वन्यजन्तुबाट वाली जोगाउन कठिन भएपछि खेति गर्न छाड्ने क्रम बढ्दै गएको उनी बताउँछन् ।
रिब्दिकोट गाउँपालिकाको खस्यौलीका टिका दर्लामी बँदेलका कारण सात रोपनी बारीको मकै सखापै बनाएपछि बारीमा मकै लगाउन छाडेको बताउँछन् । “बाँदर त उज्यालोमा आउँछ । पालो पहरा गरेर धपाइन्थ्यो तर बँदेल कति बेला आउँछ थाहा नै हुँदैन । एउटा बँदेलले सिंगो पाटो नै सखापै बनाउँछ । आफ्नो दु.ख सहित लगानी गरी लगाएको वाली स्याहार्नै नपाए पछि खेति गर्न मनै लाग्न छाडेको छ”–उनी भन्छन् । आज भोलि बारीभरी हरियै मकै हुने ठाउँमा वनमाराले हरियै बनाएको उनी बताउँछन् ।
पहाडमा मकैलाई मुख्य बालीको रुपमा लिइन्छ । वर्षभरि खान पुगेर बाहिरी जिल्लामा बिक्री पनि गरिन्थ्यो । तर आज समय उल्टो भयो । वन्यजन्तुका कारण आजभोलि विकासे मकै किनेर बाहिरबाट ल्याउनु पर्छ । पहिला पहिला १० मुरी मकै बेचेको पुराना पुस्ताका कृषकहरु बताउँछन् । वन्य जन्तुले उठीवास लगाएको उनीहरुको भनाई छ ।
वनमा वन्यजन्तु पहिला पनि थिए । यसरी दु.ख दिंदैन थिए । पहिला पनि वनमा बाँदर, दुम्सी, बँदेर थिए तर यसरी अभियानकै रुपमा बाली सखापै पारेको थिएन । वनमा वन्य जन्तुको आहारा प्रशस्त मात्रामा थिए । तर आजभोलि वनमा वन्य जन्तुको आहारा पनि कम हँुदै गयो । पृथ्वीको जलवायु परिवर्तनका कारणले वन्यजन्तुको प्रजनन दर वृद्धिका कारण वन्य जन्तुको संख्या पनि थेग्नै नसकिने गरी बढेको डिभिजन वन कार्यालयका प्राविधिकहरु बताउँछन् । आज गाउँ बस्तीमा वन्यजन्तुले नसताएको कुनै ठाउँ नै छैन । “कहिले बाँदरले दु.ख दिन्छ त कहिले दुम्सी, बँदेल, मृग हरिणले खाद्यान्न तथा तरकारी बालीमा नोक्सान गरेको छ । त्यसैले खेति गर्ने क्रम भन्दा छाड्ने क्रम बढेको छ”–तानसेन नगर अर्गलीका कृष्ण प्रसाद पराजुली भन्छन् । यहाँका कृषकहरुलाई सबै वन्यजन्तुले दु.ख दिएपछि मकै खेति गर्ने कृषकको संख्या घट्दै गएको छ । कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार जिल्लामा २१ हजार ५ सय ६४ हेक्टर क्षेत्रफलमा मकै खेतिका लागि योग्य भएपनि पछिल्ला दशकमा खेति गर्ने जमिनको क्षेत्रफल छोटिदै गएको छ ।
तानसेन नगरका पुराना पुस्ताका बुद्धराज बस्याल भन्छन् “बाँदर र बँदेलबाट मकै जोगाउन कठिन भयो । यही कारणले आउने वर्ष बाट खेति लगाउने विषयमा सोच्नु पर्ने भयो । गाउँमा सबैलाई वन्य जन्तुले दु.ख दियो, गाउँ छाड्ने क्रम बढदै छ”–उनले भने ।
गाउँबस्तीमा खेति गरेर जिवीकोपार्जन गरेका कृषकहरु वन्यजन्तुका कारण गाउँको बस्ती छाड्ने क्रम बढ्दै गएको छ । बारीमा खेति गरेर अन्नबाली जोगाउन कठीन भएपछि गाउँका घर बस्ती छाडेर शहरमा बसोबास गर्नेको सख्या बढ्दै गएको छ । पहिले पहिले गाउँघर रमाइलो थियो । सबैका बारीहरुमा अन्नवालीले भरिएका हुन्थे करिब एक दशक जति भयो । गाउँका घरहरुमा ताल्चा लगाएका र बारीमा बनमारा र पातीले भरिएको तानसेन नगर कोकलका पुर्ण बहादुर चिदी बताउँछन् । कोकल आसपासका क्षेत्रहरु सबै खाली भएका छन् । मान्छे बस्ने घर गोठका छाना छानामा बाँदर र अाँगन, दलानमा बँदेल, चितुवा बस्छन् । नयाँ पुस्ताले त गाउँ घर छाडे नै पुराना पुस्तालाई वन्यजन्तुले गाउँ छाड्न बाध्य बनाएको स्थानीय खगराज अर्याल बताउँछन् ।
बाँदर, बँदेलले मानिसलाई नै आक्रमण गर्न थालेका छन् । पहिला पहिला गाउँघरमा पानी, बत्ती, बाटोको असुविधा भए पनि बस्ती रमाइलो थियो । आजभोलि गाउँमा पनि घर घरमा मोटर बाटो, बत्ती, पानीका धाराहरु सुचनाका माध्यमहरु सबै भएपनि अन्नवाली लगाउने ठाउँमा वनमारा छ भने मानिसहरु बस्ने घरमा वन्यजन्तुले भरिएको छ । गाउँका घरहरु छाडेर सबै शहर बजारतिर गएर बसेको बताउने तारा कुमारी श्रेष्ठ भन्छिन् “वन्यजन्तु नियन्त्रण भए गाउँ फर्कने हो । तानसेन नगर छेर्लुङकी सविता भटराई भन्छिन् “श्रीमान विदेश गएको सात वर्ष भयो । एक छोरो एक छोरीलाई गाउँकै विद्यालयमा पढाएर गाउँमा खेतिपाति गरेर बसेकी थिएँ । जब वाँदर घर भित्र पस्न थाल्यो । घर छोड्न बाध्यता भयो र तानसेन गएर बसेकी छु ।”
“गाउँमा वन्यजन्तु नियन्त्रण भए शहरमा दुःख गरेर बस्न कसलाई रहर हुन्छ र ? यसरी नियन्त्रण नै भए मानिसहरु शहरबाट गाउँ फर्कने थिए”– उनले भनिन् ।