© २०२३
बुटवल, २० चैत । शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र वनबाटिकामा नयाँ नेतृत्व हत्याउन चुनावी माहौल शुरु भएको छ । संस्थाको चौथो अधिवेशनबाट नयाँ नेतृत्वको लागि ठूला दुई दल नेपाली काँग्रेस पार्टी र नेकपा एमाले निकटबाट एउटा प्यानल एकातिर छ भने स्वतन्त्र र जनमुक्ती पार्टीले समेत अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेका छन् ।
गठबन्धनबाट नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार किरण खरेलसहित कोषाध्यक्ष र लेखा समितिमा दुई सदस्य तथा नेपाली काँग्रेस समर्थकलाई उपाध्यक्ष, सचिव, चार सदस्य र लेखा समिति संयोजकमा भागवण्डा गरिएको छ । आर्थिक पारदर्शिताका लागि सफ्टवेयर प्रणाली, अनलाईन सिस्टमलाई ब्यवस्थित गर्ने जस्ता प्रविधिको जमाना अनुसार लाग्न आफु उम्मेदवार भएको खरेलको दाबी छ । आफु निर्वाचित भए अबको चार वर्षमा पूरा गर्ने कामहरु सहित २४ बुदे घोषणापत्र जारी गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
यता १९ वर्षदेखि निरन्तर वनबाटिकामा विभिन्न पदीय भुमिकामा रहेका खिमलाल पाण्डेय आफू हाल उपाध्यक्ष रहेकाले पनि स्वतः अध्यक्ष पदको उम्मेदवार भएको बताए । २०६२ सालमा तत्कालीन समयमा यो सामुदायिक वन क्षेत्रलाई पार्कको स्वरुप दिने गरी पर्यापर्यटकीय क्षेत्रका रुपमा स्वर्गीय बाबुराम अर्यालको अगुवाईमा अघि बढेको बाँकी काम पुरा गर्न आफु नेतृत्वमा आउन लागेको उनको दाबी छ । जनमुक्ति निकटबाट टिका आलेको पनि अध्यक्ष पदमा उम्मेदवारी छ । अध्यक्ष पदबाहेक अरु पदमा स्वतन्त्र र अन्य साना दलहरु निकटले पनि उम्मेदवारी दिएका छन ।
केन्द्रको कुल पद १४ जना पदहरु छन् । वार्षिक साढे ४ देखि ५ लाख पर्यटक भित्रिने वाटिकालाई अझ ब्यवस्थित गर्न धेरै कामहरु बाकी छन् । निर्माण सम्पन्न भएको भ्यु टावरको संचालन, बोटानिकल गार्डेन, घाइते र साना वन्यजन्तुहरुलाई राखिएको उद्घार केन्द्रलाई प्रदेश स्तरको चिडियाघरमा स्तरोन्नती जस्ता धेरै मुद्धाहरु उम्मेदवारको प्रतिवद्धतामा छन् । ३२ जना कर्मचारी रहेको वनबाटिकामा १० लाख रुपैया मासिक संचालन खर्च हुने गरेको छ । वन्यजन्तु रेस्क्यु सेन्टरमा मात्र वार्षिक १७ लाख रुपैयाँ खर्च हुँदै आएको छ ।