Butwal Today

मुस्ताङमा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु, जलवायु न्यायको माग

३० भाद्र २०८३, मंगलवार
अ+
अ-

मुस्ताङ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको गम्भीर असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले मुस्ताङमा दुईदिने घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु भएको छ। घरपझोङ गाउँपालिकाको आयोजनामा मंगलबार जोमसोमस्थित कभर्ड हलमा सुरु भएको सम्मेलनको उद्घाटन संघीय सरकारकी कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले विश्वमानचित्र अङ्कित ग्लोब अनावरण गरेर गरिन्।

सम्मेलनमा देशभरका महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकासहित ४३१ पालिका तथा ४१ जिल्ला समन्वय समितिका प्रमुख, अध्यक्ष, जनप्रतिनिधि र जलवायु क्षेत्रका विज्ञहरू सहभागी छन्। सम्मेलनमा सहभागी जनप्रतिनिधिहरूले नेपालले नगण्य मात्रामा कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनका कारण ठूलो मानवीय तथा आर्थिक क्षति बेहोर्नुपरेको भन्दै विकसित राष्ट्रबाट प्राप्त हुने जलवायु वित्तलाई ‘अनुदान’ नभई हानि–नोक्सानीबापतको अधिकार र क्षतिपूर्तिका रूपमा सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।

आयोजक घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जलवायु परिवर्तनबाट हिमाली क्षेत्रले भोगिरहेको संकटविरुद्ध स्थानीय तहहरूबाट एकीकृत आवाज उठाउन सम्मेलन आयोजना गरिएको बताए। सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री गीता चौधरीले जलवायु नीति तथा कार्यक्रमका हरेक चरणमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने बताइन्। उनले हिमताल विस्फोटको जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली तथा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइन्।

युवालाई हरित उद्यमशीलता, नवप्रवर्तन र तालिममार्फत जलवायु कार्यक्रममा जोड्न मन्त्रालयले विशेष पहल गर्ने उनको भनाइ थियो। नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सहायता माग्ने मुलुकका रूपमा मात्र नभई ‘सगरमाथादेखि समुद्रसम्म’को अवधारणासहित माउन्टेन एजेन्डा र जलवायु न्यायका लागि सशक्त आवाज उठाउने उनले बताइन्। सम्मेलनको पहिलो दिन जलवायु नीति, गण्डकी प्रदेशको वातावरणीय अवस्था तथा जमिन र जलवायुको सम्बन्धलगायत विषयमा प्राविधिक सत्र तथा प्यानल छलफल भएका छन्।

हिमनदी पग्लिने क्रम, हिमताल फुट्ने जोखिम, बेमौसमी हिमपहिरो, सुक्खा, पहिरो, खानेपानी तथा सिँचाइ संकट र त्यसले कृषि, पशुपालन तथा पर्यटन क्षेत्रमा पारेको प्रभावबारे समेत छलफल गरिएको छ। सम्मेलन बुधबार समापन हुनेछ। समापनका अवसरमा पवित्र कालीगण्डकी नदीको तट र निलगिरि हिमालको काखबाट स्थानीय तहहरूको साझा प्रतिबद्धताका रूपमा ‘जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणापत्र, २०८३’ जारी गरिने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?