Butwal Today

रूपन्देही बारमा २२ वर्षपछि निर्वाचन

१६ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

बुटवल । रूपन्देही जिल्ला अदालत बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि २२ वर्षपछि निर्वाचन भएको छ । प्रगतिशील कानुन व्यवसायीबीच सहमति जुट्न नसकेपछि शनिबार सम्पन्न ५९औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट चोलाबहादुर कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

अध्यक्ष पदमा कार्की ७६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी डण्डप्रसाद भट्टराईले ४२ मत प्राप्त गरे । दुवै जना प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन (पिपिएलए) सम्बद्ध भए पनि आन्तरिक सहमति हुन नसकेपछि अध्यक्ष पदमा प्रतिस्पर्धा भएको थियो ।

त्यसैगरी सचिव पदमा मेघनाथ खनाल ६८ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी पङ्कजकुमार पाण्डेयले ४८ मत प्राप्त गरे । अध्यक्ष र सचिव पदमा सोही सङ्गठनका उम्मेदवारबीच प्रतिस्पर्धा भएपछि यी दुई पदमा मात्र मतदान भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार उपाध्यक्षमा होमराज पन्त, कोषाध्यक्षमा साधना पाण्डेय, सहसचिवमा पार्वती फुयाल निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा कृष्णप्रसाद ढकाल, रामकुमार लोध, गोमा सापकोटा, अयोध्याप्रसाद भण्डारी, आशिषलाल कर्ण, भूपराज भण्डारी, विनय पाठक र खेमबहादुर पुन निर्विरोध चयन भएका छन् ।

बारका १५२ सदस्य मतदाता रहेकामा ११३ जनाले मतदान गरेका थिए । अध्यक्ष र सचिवबाहेकका पदमा सहमति जुटेपछि अन्य ११ पदमा निर्विरोध नेतृत्व चयन भएको प्रमुख निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता शिवप्रसाद गौडेलले जानकारी दिए ।

यसअघि रूपन्देही जिल्ला अदालत बारका लगातार १० कार्यकालका कार्यसमिति सर्वसम्मत चयन हुँदै आएका थिए । यसपटक भने पिपिएलएभित्रै नेतृत्वका विषयमा सहमति हुन नसकेपछि २२ वर्षपछि मतदानबाट नेतृत्व चयन गर्नुपरेको हो ।

अधिवेशनको उद्घाटन गर्दै रूपन्देही जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यले बार र बेन्चको उद्देश्य न्याय सम्पादन र न्यायमा पहुँच सुनिश्चित गर्नु रहेको बताए । न्याय प्रदान गर्ने साझा उद्देश्य पूरा गर्न दुवै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

नेपाल बार एसोसिएसनका केन्द्रीय समितिका पूर्वउपाध्यक्ष तथा रूपन्देही बारका संस्थापक गोपालप्रसाद पाण्डे, रूपन्देही बारका पूर्वअध्यक्ष तथा प्रमुख निर्वाचन अधिकृत गौडेल र वरिष्ठ अधिवक्ता धर्मबहादुर खड्कालगायतले न्यायालय, बार र कानुन व्यवसायीको भूमिकाबारे धारणा राखेका थिए । उनीहरूले न्यायिक क्षेत्रका समसामयिक चुनौती सम्बोधन गर्दै नागरिकमा न्यायप्रतिको विश्वास कायम राख्न कानुन व्यवसायी र न्यायाधीशले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

२०२४ सालमा स्थापना भएको रूपन्देही जिल्ला अदालत बार एसोसिएसन यस क्षेत्रको पुरानो कानुन व्यवसायी संस्था हो । लामो समयसम्म सर्वसम्मत नेतृत्व चयन गर्दै आएको बारमा यसपटक भएको निर्वाचनलाई संस्थाभित्रको नेतृत्व चयन प्रक्रियामा आएको महत्त्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?