© 2026
गोवा (भारत) । बुद्ध जन्मस्थल लुम्बिनी र भारतको प्रसिद्ध समुद्री पर्यटकीय गन्तव्य गोवालाई एउटै पर्यटन सर्किटमा जोड्ने प्रस्ताव अघि सारिएको छ । धार्मिक तथा सांस्कृतिक पर्यटनका लागि विश्वप्रसिद्ध लुम्बिनीलाई गोवाको समुद्री पर्यटनसँग जोडेर नेपाल र भारतबिच पर्यटक आवागमन तथा व्यावसायिक साझेदारी विस्तार गर्ने उद्देश्यले यस्तो प्रस्ताव गरिएको हो ।
भारतको गोवामा आयोजित ‘भाइब्रेन्ट गोवा ग्लोबल बिजनेस समिट–२०२६’ मा सहभागी नेपाली व्यावसायिक प्रतिनिधिमण्डलले गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्तसँग भेट गरी लुम्बिनी–गोवा पर्यटन सर्किट निर्माण, भैरहवा–गोवा सीधा हवाई सम्पर्क विस्तार र पर्यटन क्षेत्रमा संयुक्त लगानीको प्रस्ताव राखेको छ ।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल नेतृत्वको १९ सदस्यीय प्रतिनिधिमण्डलले मुख्यमन्त्री सावन्तसँगको भेटमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई उपयोग गर्दै गोवासँग हवाई सम्पर्क स्थापित गर्नुपर्नेमा जोड दिएको हो ।
प्रतिनिधिमण्डलले लुम्बिनीको धार्मिक तथा ऐतिहासिक महत्त्व र गोवाको समुद्री पर्यटनको अन्तर्राष्ट्रिय पहिचानलाई एकै भ्रमण प्याकेजमा समेट्न सके दुवै क्षेत्रका लागि नयाँ पर्यटकीय बजार विस्तार हुने धारणा राखेको थियो । पर्यटनसँगै होटल, आतिथ्य सेवा, यातायात र अन्य सेवामूलक क्षेत्रमा समेत सहकार्य गर्न सकिने प्रस्ताव गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए ।
उनका अनुसार मुख्यमन्त्री सावन्तले नेपाल र गोवाबीच पर्यटन तथा व्यावसायिक साझेदारीका सम्भावनाप्रति सकारात्मक धारणा राख्दै सहकार्यका कार्यक्रम अघि बढाउन सकिने बताएका थिए । नेपाल र भारतबिचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई पर्यटन र व्यापारमार्फत थप विस्तार गर्न सकिने विषयमा समेत छलफल भएको पोखरेलले बताए ।
लुम्बिनी भगवान् गौतम बुद्धको जन्मस्थल भएकाले बौद्ध धर्मावलम्बी तथा आध्यात्मिक पर्यटनमा रुचि राख्ने पर्यटकको प्रमुख गन्तव्य हो । यता गोवा समुद्री तट, मनोरञ्जन, बिदा पर्यटन र अन्तर्राष्ट्रिय सम्मेलनका लागि परिचित छ । यी दुई गन्तव्यको फरक पर्यटकीय विशेषतालाई जोड्न सके पर्यटकलाई एउटै यात्रामा धार्मिक, सांस्कृतिक र समुद्री पर्यटनको अनुभव उपलब्ध गराउन सकिने प्रस्तावमा उल्लेख छ ।
लुम्बिनी विकास कोषको तथ्यांकअनुसार सन् २०२५ मा लुम्बिनीमा ११ लाख १४ हजार २६६ पर्यटक पुगेका थिए। तीमध्ये सात लाख दुई हजार ९१० नेपाली, दुई लाख ७० हजार ३८७ भारतीय र एक लाख ४० हजार ९६९ अन्य मुलुकका पर्यटक थिए । अघिल्लो वर्षको तुलनामा कुल पर्यटक आगमनमा करिब ४.९५ प्रतिशत कमी आए पनि भारतबाहेकका विदेशी पर्यटकको संख्या भने २६.५४ प्रतिशतले बढेको थियो ।
सन् २०२५ मा श्रीलंकाबाट ३२ हजार २८७, थाइल्यान्डबाट १९ हजार ८९१ र म्यानमारबाट १८ हजार ५२८ पर्यटक लुम्बिनी पुगेका थिए । यसले लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन बजार विस्तारको सम्भावना देखाएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीको बाहुल्य रहेका एसियाली मुलुकबाट आउने पर्यटकलाई लक्षित गरी गोवा हुँदै लुम्बिनी र लुम्बिनी हुँदै गोवा भ्रमणको प्याकेज विकास गर्न सकिने प्रस्तावकको अपेक्षा छ ।
विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करिणी तथा विभिन्न मुलुकले निर्माण गरेका बौद्ध विहार छन् । यसबाहेक कपिलवस्तुको तिलौराकोट, रामग्राम स्तूप र आसपासका पुरातात्त्विक क्षेत्रलाई समेत समेटेर विस्तारित बौद्ध पर्यटन प्याकेज निर्माण गर्न सकिने सम्भावना छ ।
प्रतिनिधिमण्डलले पर्यटन सर्किटलाई व्यावहारिक बनाउन भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गोवासम्म सीधा हवाई सेवा सञ्चालनको सम्भावनालाई प्राथमिकतामा राखेको छ । सीधा हवाई सम्पर्क स्थापित भए गोवा आउने अन्तर्राष्ट्रिय पर्यटकलाई लुम्बिनी भ्रमणका लागि आकर्षित गर्न र नेपालबाट गोवा जाने पर्यटकलाई सहज यात्रा सुविधा उपलब्ध गराउन सकिनेछ ।
हाल लुम्बिनी भ्रमणका लागि आउने पर्यटकले विभिन्न हवाई तथा स्थलमार्ग प्रयोग गर्नुपर्ने अवस्था रहेकाले सीधा हवाई सम्पर्कले यात्राको समय र खर्च घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसबाट पर्यटनसँगै व्यावसायिक प्रतिनिधिमण्डलको आदानप्रदान, लगानी प्रवद्र्धन र व्यापारिक सम्बन्ध विस्तारमा समेत सहयोग पुग्न सक्छ ।
यद्यपि सीधा उडान सञ्चालनका लागि सम्भावित यात्रु संख्या, व्यावसायिक माग, विमान कम्पनीको रुचि, उडान अनुमति र सञ्चालन खर्चलगायत विषयको अध्ययन आवश्यक हुनेछ । त्यसैले हवाई सम्पर्क विस्तारलाई पर्यटन सर्किटको मुख्य पूर्वाधारका रूपमा अघि बढाउन दुवै देशका सम्बन्धित निकाय र निजी क्षेत्रबिच समन्वय आवश्यक देखिन्छ ।
नेपाली प्रतिनिधिमण्डलले गोवासँग लुम्बिनी मात्र नभई पोखरालाई समेत जोडेर पर्यटन साझेदारी विस्तार गर्न प्रस्ताव गरेको छ । नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखराको प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, तालतलैया र साहसिक पर्यटनलाई गोवाको समुद्री पर्यटनसँग जोडेर संयुक्त भ्रमण प्याकेज विकास गर्न सकिने विषयमा छलफल भएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपयोगिता बढाउने उद्देश्यले पोखरा–गोवा सीधा हवाई सम्पर्कको सम्भावनाबारे समेत मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको थियो । यसबाट नेपालको धार्मिक, प्राकृतिक तथा साहसिक पर्यटनलाई भारतको समुद्री पर्यटन बजारसँग जोड्न सकिने प्रतिनिधिमण्डलको धारणा छ ।
अक्टोबर २९ देखि ३१ सम्म गोवाको डा. श्यामाप्रसाद मुखर्जी इन्डोर स्टेडियममा आयोजित तीनदिने ‘भाइब्रेन्ट गोवा ग्लोबल बिजनेस समिट–२०२६’ मा विभिन्न मुलुकका उद्योगी, लगानीकर्ता, व्यावसायिक नेतृत्व र नीति निर्माण तहका प्रतिनिधि सहभागी भएका थिए ।
सम्मेलनमा नेपालबाट चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष पोखरेलको नेतृत्वमा विभिन्न व्यावसायिक क्षेत्रका १९ जनाको प्रतिनिधिमण्डल सहभागी भएको चेम्बरले जनाएको छ । सम्मेलनका क्रममा नेपाली टोलीले पर्यटन, लगानी, उद्योग तथा सेवामूलक क्षेत्रमा अन्तर्राष्ट्रिय व्यावसायिक सम्बन्ध विस्तारका विषयमा विभिन्न पक्षसँग छलफल गरेको थियो ।
गोवाका मुख्यमन्त्री सावन्तले राज्यलाई लगानीमैत्री र व्यावसायिक गतिविधिका लागि सहज गन्तव्य बनाउने सरकारको प्राथमिकता रहेको बताएका थिए । वातावरणमैत्री उद्योग, नवीन प्रविधि, अनुसन्धान र उद्यमशीलताको विकासलाई प्राथमिकता दिँदै अन्तर्राष्ट्रिय लगानी तथा व्यावसायिक सहकार्य विस्तार गर्ने नीति अघि सारिएको उनले जानकारी दिएका थिए ।
गोवा सरकारले २० हजार करोड भारतीय रूपैयाँ बराबरको लगानी आकर्षित गर्ने र ३० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । सम्मेलनका अवसरमा राज्यसभा सदस्य सदानन्द शेट तानावडे, भारतका पूर्वकेन्द्रीय मन्त्री सुरेश प्रभु तथा भाइब्रेन्ट गोवाका अध्यक्ष राजकुमार कामतलगायतको उपस्थिति रहेको चेम्बरका लुम्बिनी प्रदेश सचिव प्रदीप आचार्यले जानकारी दिए ।
लुम्बिनी–गोवा पर्यटन सर्किटको प्रस्तावलाई कार्यान्वयनमा लैजान दुवै क्षेत्रका पर्यटन व्यवसायी, ट्राभल एजेन्सी, होटल सञ्चालक र हवाई सेवा प्रदायकबीच सहकार्य आवश्यक देखिन्छ । संयुक्त प्रचारप्रसार, भ्रमण प्याकेज निर्माण, पर्यटक आदानप्रदान र लगानीका कार्यक्रमलाई प्राथमिकतामा राख्न सके यसले पर्यटन व्यवसायमा नयाँ अवसर सिर्जना गर्न सक्छ ।
तर, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन, पर्यटकमैत्री यातायात, गुणस्तरीय होटल सेवा र लुम्बिनी आउने पर्यटकको बसाइ अवधि बढाउने विषय अझै चुनौतीका रूपमा छन् । मुख्यमन्त्रीसँग भएको सकारात्मक छलफललाई औपचारिक सहमति, सम्भाव्यता अध्ययन र कार्ययोजनामा रूपान्तरण गर्न सके मात्रै प्रस्तावित पर्यटन सर्किटले व्यावसायिक रूप लिन सक्नेछ ।