Butwal Today

जापानी इन्सेफ्लाइटिसको जोखिम

१६ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

तराईका जिल्लामा जापानी इन्सेफ्लाइटिसको संक्रमण तीव्ररूपमा फैलिन थालेको छ । पछिल्लो तथ्यांकले यसको संक्रमणबाट समयमै बच्न सकिएन भने ज्यान समेत जानसक्ने खतरा औंल्याइएको छ । यो बर्षमात्रै ३६ जिल्लाका १२० जनामा संक्रमण पुष्टि भएको छ र ३० जनाले ज्यान गुमाइसकेका छन् ।

मृतकमध्ये ४० वर्षमाथिका बढी देखिएका छन् । पछिल्लोसमय जापानी इन्सेफ्लाईटिसको खोप समेत आएको छ । अतः यसबाट बच्न साना नानी बाबुलाई खोप अनिवार्य गर्नेतर्फ नेपाल सरकारको ध्यान जाओस् । विगतका केही बर्ष नेपालमा जेई ‘हराइसकेको’ जस्तो आभास भएपनि पछिल्ला वर्षमा संक्रमण पुनः बढ्दो छ । यसले जोखिम निम्त्याएको अवस्था छ ।

विशेषगरी गर्मी तथा वर्षायाममा यसको संक्रमण फैलिने जोखिम बढी हुन्छ। यो रोग लामखुट्टेको टोकाइबाट सर्ने भाइरसका कारण लाग्ने गर्दछ। यसले विशेषगरी बालबालिकालाई बढी प्रभावित गर्ने भएपनि जुनसुकै उमेर समूहका मानिसमा संक्रमण हुन सक्छ। समयमै उपचार र रोकथाम हुन नसके यसले मस्तिष्कमा गम्भीर असर पु¥याउनुका साथै ज्यानसमेत लिन सक्छ। तसर्थ आजैदेखि यसको जोखिमबाट समयमै बच्नेतर्फ ध्यान जाओस् ।

नेपालका तराई तथा भित्री मधेसका जिल्लाहरू जापानी इन्सेफ्लाइटिसको जोखिममा रहेका छन्। खासगरी धानखेती हुने क्षेत्र, पानी जम्ने स्थान, सरसफाईको अभाव र लामखुट्टेको वृद्धि यो रोग फैलिनुका प्रमुख कारण हुन्। ग्रामीण क्षेत्रमा जनचेतनाको कमी, स्वास्थ्य सेवामा सीमित पहुँच र समयमै रोग पहिचान हुन नसक्दा समस्या थप जटिल बन्ने गरेको छ। अव सरकार आफैले जोखिम प्रभावित क्षेत्रमा जेई स्वास्थ्य सचेतनाका कार्यक्रम प्रवाह गर्नेतर्फ ध्यान जाओस् ।

लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, घर वरपर पानी जम्न नदिने, सरसफाई कायम राख्ने र लामो बाहुला भएका कपडा लगाउँदा यसको संक्रमणबाट बच्न सकिन्छ । पर्याप्त जनचेतनाको अभावका कारण यसले आफ्नो प्रभाव बढाउँदै लगेको छ । सामान्य ज्वरो, टाउको दुखाइ, वाकवाकी, बेहोसी तथा झट्का आउनेजस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा पुग्नुपर्छ। चिकित्सकहरूको अनुसार विशेषगरी बालबालिकामा यस्ता लक्षण देखिए बेवास्ता गर्नु हुँदैन। जापानी इन्सेफ्लाइटिस नियन्त्रणमा सरकारको मात्र जिम्मेवारी हो भन्नु भूल हुनेछ ।

यसको नियन्त्रणमा स्थानीय तह, स्वास्थ्यकर्मी, विद्यालय, सञ्चारमाध्यम र आम नागरिक सबैको साझा प्रयास आवश्यक छ। स्थानीय सरकारले लामखुट्टे नियन्त्रण, सरसफाई अभियान, नियमित खोप तथा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ। विद्यालयस्तरबाटै बालबालिकालाई यस रोगका लक्षण र बच्ने उपायबारे सचेत बनाउन सकियो भने निश्चित रूपमा जेईको जोखिम र संक्रमणबाट बच्न सकिन्छ ।

भोलिको दिनमा खोपको पहुँच विस्तार, प्रभावकारी स्वास्थ्य सेवा, वातावरणीय सरसफाइ र जनचेतना विस्तार गर्नेतर्फ ध्यान दिनु जरुरी छ । रोग लागेपछि उपचार खोज्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो। त्यसैले जापानी इन्सेफ्लाइटिसविरुद्ध सचेतना, रोकथाम र नियन्त्रणका लागि सरकार तथा नागरिक दुवै जिम्मेवार र सक्रिय बन्नु आजको आवश्यकता हो । संक्रामक रोग विशेषज्ञहरूका अनुसार नेपालमा जेई, डेंगु, मलेरिया, चिकनगुनिया र हात्तीपाइले सबै लामखुट्टेबाट सर्ने भएकाले स्वास्थ्य सावधानी नै सवैभन्दा ठूलो बच्ने उपाय हो ।

तर, सरकार अझैपनि यी रोगबारे अनभिज्ञता प्रकट गर्दछ ।सरकारले संक्रमण परीक्षण, उपचार सुविधा विस्तारमा प्राथमिकता दिनु आवश्यक छ । खोप अभियान संचालन गर्ने, लामखुट्टे नियन्त्रण र सचेतना रणनीति अपनाएर जोखिमबाट बच्न सकिने भएकोले यो विषयमा सम्बद्ध निकायको ध्यानाकर्षण होस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?