© २०२३
बुटवल, २८ साउन ।
कृषि क्षेत्रमा भएन, गर्न सकीएन, सरकारले हेरेन भन्ने गुनासो आमा किसानहरूको रहेने गर्दछ । तर रूपन्देही जिल्लाको गैडहवा गाउँपालिका वडा नम्बर ७ बर्गदैयाका किसान पन्नेलाल केवटले विगत २० बर्ष देखि कृषि पेसामा लागेर राम्रो आम्दानी गर्दै आएका छन् । कृषि पेशाबाट विदेश गएर कमाउने रकम गाउँमा नै आम्दानी गर्दै आएका उनले आफू जस्तै अन्य ४ जना किसानलाई गाउँमा नै रोजगारी दिएका छन् ।
तत्कालिन जिल्ला कृषि विकास कार्यालय बाट राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट समेत पुरस्कृत भएका युवा किसान पन्नेलाल केवटले विगत २० बर्ष देखि कृषि क्षेत्रमा हार नमानेर निरन्तर खेती गर्दै आएका छन् । गाउँमा रहेका समूह, सहकारीमा समेत उनको संलग्नता रहेको छ ।
गैडहवा गाउँपालिकामा उत्पादन भएको अधिकांस तरकारी उनै किसानको पन्नेलालको हो । विगतका केही बर्ष पहिला उत्पादन भएको तरकारी आफै मोटरसाईकलमा बोकेर बुटवल लगायतका बजारमा विक्रि गर्दै आएका उनलाई अहिले भने बुटवल ल्याउनुपर्ने बाध्यता छैन । बुटवल लगायतका स्थानबाट अहिले व्यापारीहरू गैडहवा गाउँपालिका मा स्थापना गरेको स्थानीय बजारमा जाने गर्दछन् ।
सैनामैनाको रामापुरदेखि लुम्बिनी रोड अन्तर्गत सुर्यपुरा बजार नजिकै स्थापना भएको अल्पकालिन कृषि हाटबजारमा लैजाने गर्दछन् । विहान को समयमा किसानले उत्पादन गरेको सामग्री त्यहि अल्पकालिन बजारमा लैजाने गर्दछन् । त्यहाँ बुटवल लगायत पाल्पाबाट समेत व्यवसायी आउने गर्दछन् । किसान पन्नेलाल भन्छन्–‘यहाँको उत्पादन अन्य स्थानको भन्दा बढि गुणस्तरिय भएको कारण पाल्पाबाट समेत व्यवसायी आउने गर्दछन् ।
एक सिजनमा ७ देखि ८ लाख रूपैयाँ आम्दानी गर्दै आएको किसान पन्नेलालले ५० कठ्ठा क्षेत्रफल जग्गा आफ्नै हो भने थप ९० कठ्ठा उनले जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेती गर्दै आएका छन् । गाउँमा उनले व्यवसायिक खेती गरेपछि कतिपय विदेश जाने युवाहरूले समेत सोही खेतीलाई अबलम्बन गरेका छन् । उनकै पहला स्थापना भएको कृषक समुहले सामूहिक रूपमा तरकारी खेतीको समस्या, समाधानका उपायहरूको विषयमा समेत छलफल गर्दै आएका छन्, जसबाट समस्या समाधानका उपायहरू समेत गर्दै आएका छन् ।
पालिकाले किसानको समस्या समाधानको लागि प्राविधिक रूपमा सहयोग समेत गर्दै आएको छन् । गैडहवा गाउँपालिका कृषि शाखा प्रमुख टिका अर्याल खनालका अनुसार किसानलाई समुह निर्माणदेखि लिएर पालिकाले गर्ने प्राविधिक सहयोग समेत प्रदान गर्दै आएको छ । केही बर्ष पहिला तरकारी खेतीमा विषादी प्रयोगको मात्रा बढि भएपछि विषादी प्रयोग न्यूनीकरणको लागि समेत पालिकाले अभियान नै चलाएको छ । जैविक खेतीमा जोड दिँदै आएको छ ।
किसान पन्नेलालले ४ जना आफू जस्तै किसानलाई मासिक १५ हजार रूपैयाँमा रोजगारी दिएका छन् । तरकारी लगाउने बेलामा थप कामदार चाहिएमा उनले ज्यालादारीमा लिँदै आएका छन् । सिजन अनुसारका सबै तरकारी उनले उत्पादन गर्दै आएका छन् । गाँजर, मुला, ब्रोकाउली, भान्टा, लौका, करेल लगायतका सबै तरकारी उनले उत्पादन गर्दै आएका हुन । विदेशी भूमिमा परिवार भन्दा बाहिर रहेर कमाउने भन्दा स्वदेशमा घरपरिवारकै साथमा रहेर कृषिबाट नै कमाउन सकिने भएपछि विदेश जाने सोँच सधैको लागि त्यागेको उनको भनाइ छ । उनी भन्छन्–‘गाउँमा नै परिवारको साथमा विदेशमा कमाउने पैसा कमाउन सकिन्छ भने किन विदेश जाने, विदेश जाने सोँच सधैंको लागि त्यागी दिए ।’