© २०२३
बुटवल, २० चैत ।
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले साना तथा मझौला उद्योगबाट पनि रोजगारीका अवसर प्राप्त हुनुका साथै राम्रो मुनाफा कमाउन सकिने भन्दै त्यस्ता उद्योगलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्वता ब्यक्त गरेका छन् । मंगलबार बुटवलमा आयोजित नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन तथा महिला उद्यमी सम्मेलनको उद्घाटन गर्दै मन्त्री न्यौपानेले सानातिना घरेलु उद्योगहरूबाट पनि स्वरोजगार बन्नुका साथै धेरैलाई रोजगारी दिन सकिने भएकोले प्रदेश सरकारले त्यस्ता उद्योगहरूको प्रवद्र्धन गर्ने योजना रहेको बताएका हुन् । स्वदेशमा थोरै लगानी गरेर पनि धेरै मुनाफा आर्जन गर्न सकिने प्रसस्त सम्भावना रहेको भन्दै उनले रोजगारमुखी र निर्यातमुखी उद्योगहरूलाई प्रदेश सरकारले सहयोग गर्ने नीति लिएको बताए ।
सुनका गहना बजाउनका लागि भारत र बंगलादेशबाट लाखौं कारिगड नेपाल आउने गरेको भन्दै मन्त्री न्यौपानेले नेपालीहरूलाई सुनचाँदीका गहना बनाउने कारिगड तालिम दिने तयारी गरेको जानकारी गराए । रूग्ण तथा बन्द उद्योग पुन सञ्चालन गर्ने मन्त्रालयको योजना रहेको जानकारी गराउँदै उनले उनले त्यस्ता उद्योगहरूको बारेमा जानकारी दिन र पुनः सञ्चालनको योजना पेस गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरे ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष नेत्रप्रसाद पाठकको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका निबर्तमान केन्द्रीय अध्यक्ष श्याम प्रसाद गिरी, महासंघका बरिस्ठ उपाध्यक्ष सुर्य बहादुर कण्डेल, महासंघ केन्द्रीय महिला समिति बरिस्ठ उपाध्यक्ष रीता अवाल, उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष कुलप्रसाद न्यौपाने, रूपन्देही उद्योग संघका पुर्व टंक प्रसाद पोखरेल, रूपन्देही उद्योग संघकै अर्का पूर्व अध्यक्ष बाबुराम बोहोरा, महासंघ लुम्बिनी प्रदेशका बरिस्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारी,महासचिव जयश्वर पौडेल, महासंघ अन्तर्गतको महिला समिति अध्यक्ष शान्ति शर्मा, रूपन्देही जिल्ला अध्यक्ष टंक प्रसाद अधिकारी लगायतले मुलुकमा युवाहरूको बिदेश पलायन, दक्ष मजदुरको अभाव, उद्योग दर्ता र सञ्चालनमा आइपर्ने समस्याका बारेमा आ आफ्नो भनाइ राखेका थिए । सो अवसरमा रूपन्देहीका प्रतिष्ठित उद्योगी बसन्त रोका क्षेत्री र दाङकी रचना सुवेदीलाई उत्कृष्ट उद्योगी सम्मानबाट सम्मानित गरिएको थियो ।
त्यस्तै महासंघ लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारी, महासचिव जयश्वर पौडेल, महासंघ अन्तर्गत लुम्बिनी प्रदेश महिला समिति उपाध्यक्ष सावित्रा टण्डन, महासचिव पार्बती अधिकारी, महासंघ प्रदेश समिति सदस्यद्वय माया खनाल र कृष्णप्रसाद प्रसाईंलाई सम्मान गरिएको थियो । १२ जिल्लाका २४३ प्रतिनिधिहरूको सहभागीता रहेको अधिवेशनले महासंघको नयाँ नेतृत्व समेत चयन गर्ने जनाइएको छ ।