© २०२३
दाङ, २० चैत ।
दाङको घोराहीमा चोरीको सुन खरिद गर्ने एक व्यवसायी र चोरीमा संलग्न दुवै जना सहित तीन जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ ।
चोरीको सुन खरिद गर्ने घोराही उपमहानगरपालिका वडा नम्बर १४ सैनिक रोडबाट सञ्चालनमा रहेको जय मसिह सुनचाँदी गहना पसलका सञ्चालक ६५ वर्षीय गुणरत्न शाक्य र चोरी गर्ने व्यक्ति घोराही १७ निवासी २२ वर्षीय सरद विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता चक्रबहादुर शाहका अनुसार यही चैत ६ गते घोराही उपमहानगरपालिका वडा नम्बर १५ एकता टोलका ३८ वर्षीया तेजकुमारी बुढाथोकीको घरबाट चार तोला सुनसहित अन्य चाँदीका गरगहना चोरी भएको थियो ।
घरमा कोही नभएको दिउँसोको समयमा चोरी भएको थियो । घोराही बजारमा राखिएका सिसिटिभी क्यामेराका फुटेजका आधारमा चोरीमा संलग्न व्यक्तिको पहिचान गर्न सहज भएको र सुन चोरीमा संलग्न विश्वकर्मालाई लमही ६ अर्जुनखोलाबाट पक्राउ गरिएको उनले जानकारी दिए । चोरीको घटना यही चैत्र ६ गते भएपनि प्रहरीले १८ गते सोमबार चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएको हो । दुवै जनालाई कानुन अनुसारको कारबाहीका लागि प्रहरीले अनुसन्धान थालेको बताएको छ ।