© २०२३
पछिल्लो समय नेपालमा पर्यटकको चहलपहल बढ्दो क्रममा देखिएको छ । पर्यटकको आगमन पहिलेभन्दा राम्रो अवस्थामा रहेको विभिन्न आँकडाले देखाएका छन् । मुलुकभित्र विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकको संख्यामा आएको उत्साहजनक वृद्धिले पर्यटकीय स्थलहरूसमेत भरिभराउ देखिन थालेका छन् । यसै क्रममा पाल्पा जिल्लामा अवस्थित ऐतिहासिक पर्यटकीय स्थल ‘रानीमहल’ स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्न सफल भएको छ । नेपालको ताजमहलसमेत भनेर चिनिने यो पर्यटकीय स्थलमा अहिले दैनिक सयौँ पर्यटक भ्रमण गर्ने गरेका छन् ।
अमेरिकाका पूर्वराष्ट्रपति विल क्लिन्टन जब भारत आउनुभएको थियो, त्यसबेला ताजमहललाई देखेर उहाँले भन्नुभएको थियो, “आज मलाई महसुस भयो, यो संसारमा दुई प्रकारका मात्रै मानिस छन् । एक ती हुन; जसले ताज देखेका छन् र अर्का ती हुन; जसले अझै ताज देख्न पाएका छैनन् । हुनसक्छ, यो संसारमा मानव निर्मित एकसे एक ठाउँहरू छन् तर ताज जस्तो अरू छैन । किनकि यसमा एक जना बादसाहले आफ्नो हृदय राखेका छन् ।” क्लिन्टनको यो भनाइबाट ताजमहलको बनावट कस्तो छ भनेर हामी सहजै अनुमान लगाउन सक्छौँ । सन् १६५३ मा मुगल सम्राट् शाहजाहाँले निर्माण गरेको ताजमहललाई प्रेमको प्रतीक मानिन्छ । सम्राट् शाहजाहाँले आफ्नी प्राणप्यारी श्रीमती मुमताजको मृत्यु भएपछि स्मरणमा सुन्दर ताजमहल बनाउनुभएको थियो ।
भारतको ताजमहल जस्तै आफ्नो प्रेमका लागि समर्पण गरिएका चर्चित महलहरूमध्ये पाल्पाको रानीमहल पनि एक हो । राणाकालीन समयमा पाल्पा गौँडाका पश्चिम कमान्डर जनरल खड्ग शमशेरले यसको निर्माण गराउनुभएको थियो । वि.सं.१९४९ मा आफ्नी अत्यन्त प्रिय रानी तेजकुमारी देवीको मृत्युको समयमा भावविह्वल हुनुभएका खड्ग शमशेरले रानीसँग उहाँको स्मृतिमा भारतको आग्रामा रहेको ताजमहल जस्तै बगैँचासहितको दरबार निर्माण गर्ने अन्तिम वचन दिनुभएको थियो ।
भारतमा रहेका बेलायती इन्जिनियर झिकाई पाँच वर्ष लगाएर विसं १९५४ मा निर्माण पूरा गरिएको यस दरबारलाई नेपालको ताजमहलको रूपमा चिनिन्छ । कालीगण्डकी नदीको किनारमा भिरालो चट्टानमाथि निर्माण गरिएको यस दरबार अगाडि आकर्षक तटबन्ध, बगैँचा, पोखरीहरू अवस्थित छन् । नागबेली आकारमा बग्ने कालीगण्डकी, निलो पानी, सेतो बगर, पहाडको छेवैमा, नदीको किनारमा अवस्थित यो महलले अहिले धेरै पर्यटकलाई आकर्षित गर्न सफल भएको छ ।
ऐतिहासिक र पुरातात्त्विक महत्व बोकेको स्थल रानीमहल लुम्बिनी प्रदेश अन्तर्गत पर्ने पाल्पा जिल्लाको सदरमुकामबाट करिब १३ किलोमिटरको दूरीमा अवस्थित छ । यसको इतिहास हेर्ने हो भने राणाकालीन समयमा धीर शमशेरका १७ भाइ छोरामध्येका एक अर्का भाई वीर शमशेर प्रधानमन्त्री भएको समयमा उहाँका भाइ खड्ग शमशेर कमान्डर इन चिफ हुनुहुन्थ्यो । उहाँ चिफ भएको १८ महिनापश्चात् पदच्युत भई पाल्पामा निर्वासित हुनुभएको थियो ।
विसं १९४५ मा उहाँलाई रूपन्देही, कपिलवस्तु, बागलुङ र पर्वतलगायतका क्षेत्रको जिम्मेवारीका साथ पाल्पाको गौँडामा पश्चिम कमान्डर जनरलका रूपमा बस्ने अनुमति दिइएको भनाइ छ तर वि.सं.१९४९ मा उहाँकी पत्नी तेजकुमारीको अकस्मात निधन भयो । मृत्यु हुनुअघि आफ्नी अर्धाङ्गिनीलाई गरेको वाचा अनुसार रानी महलको निर्माण गरिएको इतिहास छ । पाल्पा र स्याङ्जा जिल्लाको सिमाना कालीगण्डकीको किनारमा रहेको यो महलमा धेरै युवक युवती आफ्नो प्रेमलाई थप सफलताको शिखरमा पु¥याउन सकियोस् भनेर रानी महललाई साक्षी राख्न पुग्ने गर्छन् । रानी दरबारको भित्तामा आफ्नो नाम लेखियो भने आफ्नो प्रेम अमर रहन्छ भन्ने विश्वास रहिआएको छ ।
युनानी शैलीमा बेलायती इन्जिनियरहरूले बनाएको रानीमहल कालीगण्डकी नदीको विशाल चट्टानमाथि पश्चिमी कैलाशमा अवस्थित छ । दरबारको बायाँतर्फ शीतल पार्टी दरबार परिसरमा फोहोराका लागि कुँदिएको ढुङ्गाले निर्मित दुई वटा पोखरी र दाहिनेतर्फ पहरा दिने स्थल पनि छ । दरबार परिसरमा बायाँतर्फ शिव लिङ्ग र गङ्गाका दुई मन्दिर छन् । वरपर रहेको बगैँचा र रानीपोखरीले महल आकर्षक देखिन्छ । चार तले भवन ५६ फिट चौडाइ र ११२ फिट उचाइ वरपर हराभरा हरियाली वनले मन आनन्दित बनाउँछ । उत्तर बाहिनी भएर बग्ने पवित्र नदी कालीगण्डकीको पारिपट्टिको वनलाई रानीवन र यहाँको घाटलाई रानीघाट भन्ने गरिन्छ । रानीमहल निर्माण गर्दा जनताले इँटा बनाउने, पर्खाल लगाउने, जङ्लबाट काठ ओसार्ने, काट्ने र कुँद्ने जस्ता श्रमदान भएको भनाइ छ ।
सुर्खी, इँटाको धुलो जस्ता विशेष सामग्रीबाट बनाइएको इँटा र सालको काठबाट महल निर्माण गरिएको छ । यो दरबार पूरा गर्न करिब पाँच वर्ष लागेको थियो । भवनको प्रत्येक टुक्रा विशेष अध्ययनपछि मात्र जडान गरिएकाले यसको निर्माण अवधिसमेत लम्बिन पुगेको भनाइ छ । दर्जनौँ कोठा, सुन्दर पोखरी, मस्जिद, वरपरको सुन्दर बगैँचा, अतिथि कक्षको बनावट र कलाकौशलले भरिपूर्ण यो महललाई एउटा स्वर्गको टुक्रासँग तुलना गर्न मिल्ने त्यहाँ पुगेका पर्यटकको भनाइ छ ।
अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, सामाजिक विविधता एवं ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण पाल्पा जिल्लामा अवस्थित रानीमहल नेपालकै एउटा प्रमुख पर्यटकीय गन्तव्य बनेको छ । पाल्पाको सदरमुकाम तानसेनदेखि बस, जिप जस्ता यातायातका साधनमार्फत करिब २० मिनेटमै पुग्न सकिने भए पनि पैदल यात्राको मजा पनि बेग्लै छ । करिब दुई घण्टाको पैदल यात्रा गर्दैसमेत यहाँ पुग्न सकिन्छ । पैदल यात्राका क्रममा विभिन्न खोलानालाको सुसेलीसँगै वनजङ्गलमा अवस्थित चराचुरङ्गीहरूको चिरिबिरीले थकान महसुस हुन दिँदैन ।
यात्राका क्रममा बिच बाटोमा हात्तीढुङ्गा भन्ने स्थानमा हात्तीको आकृतिसहितको ठुलो ढुङ्गा हेर्दा वास्तविक हात्ती नै देखे जस्तो महसुस गराउँछ । यसपछि केही बेरको हिँडाइपछि पाल्पाको चर्चित वैकुण्ठ झरनाको कलकल पानीको आवाज सुन्दै झरनालाई माथिदेखि तलसम्म नियाल्न पाइने छ । यसको केही समयपछि पर्यटकले आफ्नो गन्तव्य स्थल रानीमहल देख्ने छन् । वरिपरि अग्लाअग्ला डाँडाकाँडाहरू, फेदमा कलकल आवाजमा बग्दै गरेको कालीगण्डकीको छेवैमा स्वर्गकी अप्सरा जस्तै सेतो रङमा सजिएको रानीमहलले सबैलाई मोहित बनाउने गर्छ ।
अहिले यसको वरिपरि विभिन्न रेस्टुरेन्ट खुलेका छन् । जसले गर्दा पर्यटकका लागि बस्ने खाने व्यवस्थासमेत व्यवस्थित बन्दै गएको छ । टाढा टाढादेखि घुमफिर गर्न आउने पर्यटकका लागि रात्रि शिविरको समेत व्यवस्था रेस्टुरेन्टले गर्ने गरेको छ । यसै कारण यहाँ आउने पर्यटकले भरपुर मनोरञ्जनका साथ आफ्नो समय व्यतीत गर्न सक्छन् । (गोपबाट)