© २०२३
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मुलुकी संहिता लागू भएसँगै मुलुकले नयाँ बाटोतर्फको यात्रा आरम्भ गरेको बताएका छन् । नयाँ मुलुकी संहिता कार्यान्वयनमा आउनु ऐतिहासिक परिघटना भएको पनि उनले बताए । शुक्रबारदेखि लागू भएको नयाँ मुलुकी संहिताका विषयमा प्रदेश ५ कानुन मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले नयाँ मुलुकी ऐनले सभ्य समाज निर्माणमा सघाउ पु¥याउने विश्वास व्यक्त गरे । “यो ऐन सभ्य समाजतर्फको यात्राका लागि कोशेढुंगा हो, यसको पूर्ण कार्यान्वयन भए सभ्य समाज निर्माण गर्ने आकांक्षा पूरा हुन्छ”–उनले भने ।
मुलुकले नयाँ कानुनको अभ्यास थालेकाले यसको कार्यान्वयनका शिलशिलामा समस्या देखिए परिमार्जन गर्न सकिने बताए । नयाँ कानुनलाई लिएर विभिन्न क्षेत्रबाट विरोध हुनुलाई अल्पज्ञानको संज्ञा दिँदै उनले यो नै अन्तिम हो भन्ने निष्कर्षमा पुग्न उचित नहुने बताए ।प्रदेश सरकारले आफ्नो अधिकार क्षेत्रभित्र रहेर नयाँ मुलुकी संहिताको पूर्ण कार्यान्वयन गराउने उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले भने–“प्रदेशको शान्ति सुरक्षा ठिक ढंगले कायम राख्न नयाँ कानुन अनुसार अव प्रदेश सरकारले चासो देखाउने छ ।” यो ऐन राष्ट्रिय आवश्यकताका आधारमा आएको र यसमा कुनै राजनीतिक स्वार्थ नरहेको दावी गर्दै पोखरेलले बदलिएको समाजसँग पुरानो मुलुकी ऐन काम नलाग्ने भएकाले नयाँ कानुन ल्याउनु परेको बताए । प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले नयाँ मुलुकी ऐन लागु भएसँगै यसको कार्यान्वयन मुख्य चासोको रूपमा रहेको बताए । नयाँ कानुनलाई अब सम्बन्धित सबै निकायले प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनले बताए ।
प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुर प्रसाद जिसीले कानुन बनाएर मात्र नहुने उल्लेख गर्दै यसको कार्यान्वयन महŒवपूर्ण पक्ष रहेको बताए । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कानुन सचिव भरतमणि रिजालले मुलुकी अपराध संहिता–२०७४ एवं आन्तरिक, मामिला तथा कानुन मन्त्रालयका सचिव डा. मानबहादुर बि.के.ले देवानी तथा फैजदारी संहिताका विषयमा जानकारी गराएका थिए । त्यस अवसरमा उच्च अदालत बार एशोसिएशन बुटवलका अध्यक्ष खडानन्द भण्डारीले कानुन सबैले जान्नुपर्ने उल्लेख गर्दै कानुन व्यवसायीले यसको गहिरो अध्ययन गर्नु जरुरी रहेको बताए ।