© २०२३
बुटवल,३० फागुन । राजनीतिक दल,तिनका भातृ संगठन र नेताहरु भन्ने वित्तिकै अपवाद वाहेक उद्योगी–व्यवसायीसंग बारम्बार चन्दा मागेर हैरान बनाउने पात्र भन्ने भाष्य स्थापित छ । धेरै हदसम्म यो सत्य पनि हो । तर यो भाष्यलाई बदलेर पार्टी र नेताहरु चन्दा नमाग्ने मात्र हैन आफै श्रम र उद्यम गरेर पार्टीसंगै नेता कार्यकर्तालाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने नमूना पेश गर्दैछ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ।
पार्टीले कतै शैक्षिक संस्था र व्यक्तिका बांझो जग्गा लिजमा लिएर त कतै पार्टी नेता कार्यकर्ताकै खेती हुन नसकेका जग्गासहित देशका विभिन्न जिल्लामा करिब ८० स्थानमा चक्लाबन्दी प्रणालीमा सामूहिक खेती र केही उद्योग समेत सञ्चालन गरेर पार्टी पंक्तिमा बेग्लै उत्साह र जागरण ल्याइरहेको छ ।
आफूलाई कम्युनिष्ट भन्ने दर्जन बढी पार्टी र तिनका नेताहरु पार्टीगत रुपमै सामूहिक खेती प्रणालीमा नलागेका बेला विप्लवको पार्टीले देशलाई कृषिमा आत्मनिर्भर बनाउन सांच्चिकै राम्रो उदाहरण पेश गर्दै छ ।
पार्टीले केन्द्रीय कार्यालय रहेको कपिलवस्तुको शिवगढीमा तीन बिघामा खाद्यान्न बाली,अर्घाखांचीको शितगंगागामा डेढसय रोपनीमा गाई र लोकल कुखुरापालन, तरकारी तथा फलफुल खेतीबाट पार्टीले उत्पादनको काम शुरु गरेको हो । पार्टीको केन्द्रीय सदस्य एवं राप्ती ब्युरो इन्चार्ज सविनका अनुसार रोल्पाको घर्तीगाउंमा १५ रोपनीमा आलु र लसुन खेती, दाङको घोराही–१६ गेरुवामा ६ बिघामा सी कृषि फार्ममार्फत आलु र तोरी खेती गरिएको छ । दाङकै बेलझुण्डीमा २५ बिघा जग्गा लिजमा लिएर ५ बिघामा माछा पोखरी बनाएर माछा पालन सहित कृषि उत्पादन गर्ने तयारी छ ।
यस्तै सल्यानको छत्रेश्वरी गाउंपालिकामा १३ रोपनीमा ३ सय बिरुवा कागती खेती,बर्दियामा धान खेती गरिएको छ ।
पार्टीको केन्द्रीय उत्पादन विभागका नेता सन्देश पौडेलका अनुसार चितवनको माडीमा १५ बिघा जग्गा ९ वर्ष लिजमा लिएर ६ बिघामा पोखरी बनाएर माछा पालन, ५ बिघामा चैते धान र बांकीमा मकै, तोरी, आलु खेती र मौरी पालन भइरहेको छ ।
एक वर्ष यता पार्टीले आयोजना गर्ने ठूला साना सबै कार्यक्रममा खाना र नास्ताका लागि अधिकांश वस्तु बजारमा किन्नुपर्ने वाध्यता अन्त्य भएको सविनले बताए ।
यस्तै काठमाडौंमा २ वटा गार्मेन्ट उद्योग,कपिलवस्तुमा सी उद्योगमार्फत सफाई सामग्री हार्पेक लगायतका वस्तु उत्पादन गरिरहेको सन्देशले बताए । काठमाडौं र नुवाकोटको बीचमा पानी उद्योग तथा सुनसरीको झुम्कामा आलु चिप्स उत्पादन उद्योग स्थापनाको गृहकार्य गरिरहेको पौडेलले बताए । यस्तै काठमाडौं सहित प्रमुख शहरमा आफ्ना कृषि उत्पादन विक्रिका लागि मार्ट (ठूला पसल) सञ्चालन गर्ने तयारी भएको उनले बताए ।
‘हाम्रो पार्टीको अहिलेसम्म सात वटा केन्द्रीय उत्पादन ब्युरो,२२ वटा ब्युरो उत्पादन,४१ वटा जिल्लास्तर,७ वटा जनवर्गीय संगठन उत्पादन र ३ वटा विभाग उत्पादन गरी करिब ८० इकाईमार्फत उत्पादन भइरहेको छ’–सन्देशले भने–‘जिल्लामा कमिटीसम्मका कम्तीमा तीन सयजना नेता कार्यकर्ताहरु उत्पादन र उद्योगमा प्रत्यक्ष संलग्न छन्, एक्लै भन्दा सामूहिकरुपमा खेती गर्दा धेरै सहज र आम्दानी पनि बढी हुदो रहेछ ।’
हालै मात्रै पार्टी महासचिव विप्लवको नेतृत्वमा जुम्ला र कालिकोटमा १५ सय बढी स्याउका बिरुवा रोपिएको सन्देशले बताए । अर्को वर्षसम्म जुम्ला र कालिकोटसहित आसपासका जिल्लामा २२ हजार वर्गमिटर क्षेत्रफलमा १० हजार बोट स्याउ रोप्ने लक्ष्य रहेको उनले बताए । यस्तै सिलाई कटाई,कपाल काट्ने,पानीपुरी बेच्ने व्यवसायमा पनि पार्टीका ५० जना भन्दा बढी कार्यकर्ता सामूहिक रुपमा लागेको उनले बताए ।
पार्टीको नवौं महाधिवेशनले पारित गरेको कम्युनिष्ट अर्थ दृष्टिकोणको दस्तावेजमा आधारित रहेर आत्मनिर्भर नेता, आत्मनिर्भर कार्यकर्ता र आत्मनिर्भर देश बनाउने मुख्य उद्देश्य अनुसार कृषिबाट आत्मनिर्भर तथा उद्योगबाट देशलाई समृद्ध बनाउने लक्ष्य अनुसार देशव्यापीरुपमा सामूहिक खाद्यान्न, पशुपालन, तरकारी र फलफुल खेती अभियान चलाएको केन्द्रीय सदस्य सविनले बताए ।
‘केही समय यता पार्टी र जनवर्गीय संगठनका कार्यक्रममा हामी आफैले उत्पादन गरेको धानबाट भात,तरकारी, माछा र मासु र मह खान थालेका छौं,कसैसंग चन्दा माग्न परेको छैन बरु जाजरकोट र रुकुमका भूकम्प पीडितलाई पार्टीले उत्पादन गरेको धानको २५ क्वीन्टल चामल बांड्यौं’–सविनले भने–‘घोक्रो फुल्याई फुल्याई अरुलाई गालिगलौज र भाषणमा समय खर्चने तर श्रम र उत्पादनको काममा भाग नलिने नेताहरुबाट निराश नागरिकहरुमा हाम्रो कृषि उत्पादन अभियानले आशा,विश्वास र भरोशाको सिंचाइ गरेको छ ।’
पार्टी नेतृत्वले कृषि उत्पादनलाई प्राथमिकता दिएर चलाएको अभियानले सांच्चिकै आशा जगाएको र अरु दलले पनि यसरी नै कृषिलाई व्यवहारमै प्राथमिकता दिने हो भने देशलाई आत्मनिर्भर बनाउन र समाजवादको आधार तयार गर्न सकिने सविन बताउंछन् ।
पार्टीले उत्पादन र श्रममा नेता कार्यकर्ता जोडिनैपर्ने नीति बनाएपछि पार्टीमा बेग्लै उत्साह र जागरण पैदा भएको पार्टीका अर्का नेता सन्देश बताउंछन् । पार्टीले हरेक वर्षको असार १० देखि ३० गतेसम्मलाई श्रम दिन घोषणा गरी २० दिनसम्म पार्टीका सबै कार्यक्रम रोकेर व्यक्तिगत,पार्टी र समुदायको खेतमा पुगेर श्रमदान गर्नपर्नेु तथा हरेक २ महिनामा एक दिन श्रम गरेर उक्त दिनको पारिश्रमिक पार्टीलाई दिनुपर्ने नीतिले नेता कार्यकर्तामा श्रम संस्कृति विकास भएको सन्देशले बताए ।
‘पार्टीले सामूहिक खेती प्रणालीमा आधारित रहेर उत्पादन शुरु गर्न थालेपछि पार्टी पंक्तिमा उत्साह र आशा पलाएको छ’–सन्देशले भने–‘उत्पादनको ६० प्रतिशत आम्दानी हिस्सा पार्टी केन्द्रमा जान्छ, ४० प्रतिशतलाई फेरि सयप्रतिशत मानेर ७० प्रतिशत आम्दानी कृषि फार्ममा गर्ने नेता कार्यकर्तालाई दिन्छौं,३० प्रतिशत सञ्चालन खर्च राख्छौं ।’ तीन वर्षभित्र देशभर एक हजार बिघामा खाद्यान्न,तरकारी,फलफुल खेती तथा पशुपंक्षी, माछा र मौरी पालन सहितका कृषि उद्यम गर्ने र १० हजार जना नेता कार्यकर्ता उत्पादनमा जोडिने लक्ष्य रहेको सन्देशले बताए ।
कृषि उत्पादनलाई सहकारीसंग जोडेर ७७ वटै जिल्लामा काम गर्ने उद्देश्यले केही दिनअघि मात्रै पार्टीले सहकारी विभागमा ३० जना पार्टी नेता कार्यकर्ता सञ्चालक रहेको जनश्रम कृषि सहकारी संस्था दर्ता गरेको छ । जसको कार्यक्षेत्र नेपालभर छ ।
पार्टीले विभिन्न कार्यक्रम सञ्चालन गर्दा कसैसंग चन्दा मागेर खान नपर्ने गरी पार्टीलाई डेढ वर्षभित्रै चन्दामुक्त बनाई आत्मनिर्भर बनाउने उद्घोषसहित महासचिव विप्लव आफै काममा खटिने गरेकाले आफ्नो दलभित्र मात्र नभई अरु दलका नेता कार्यकर्ताका लागि समेत गतिलो उदाहरण बनेको अखिल समाजवादीका केन्द्रीय सदस्य विज्ञान सीले बताए । ‘पार्टी र तिनीहरुका भातृ संगठनका नेता भन्ने वित्तिकै बजारमा सधैं चन्दा मागेर खाने प्राणी भन्ने भाष्य थियो र अहिले पनि छ’–उनले भने–‘हामी अहिले चन्दाको रुपमा पैसा माग्न जांदैनौं बरु हाम्रा उत्पादन खरिद गरिदिनुस् भन्न जान्छौं,यसरी जांदा विगतमा थुप्रै विद्यार्थी संगठनको चन्दा ‘आतंक’बाट हैरान भएकाहरुले राम्रो गरेको भन्दै सराहना गर्नुहुन्छ ।’
नेकपाको सामूहिक खेती प्रणाली र उद्योग सञ्चालन अभियानमा थुप्रै युवा र विद्यार्थीहरु जोडिएपछि देशमा कुनै सम्भावना छैन, विदेश नै जानुपर्छ भन्ने भाष्यलाई बदल्न पनि टेवा पुगेको विज्ञानले दावी गरे ।
नेकपा नेताहरुले कृषिमा देखेका १० समस्या :
नेकपा नेताहरुले कृषि क्षेत्रमा मुख्यतया ७ वटा समस्या रहेको औंल्याएका छन् ।
१.नेपालमा उत्पादन हुने र गर्न सकिने कृषि उपज समेत उत्पादन नगरी विदेशबाट आयात गरी बेचेर नाफा कमाउने परिपाटीले देशलाई कृषिमा आत्मनिर्भर हुन नदिएको हो ।
२.किसानले उत्पादन गरेका वस्तु सिधै उपभोक्तालाई विक्रि गर्न नपाई बिचौलियाको प्रवेशले किसान र उपभोक्ता दुबै मारमा परेका छन् । बिचौलियाले विना मेहनत बढी मुनाफा कमाउंदा किसान निराश र मर्कामा परेका छन् ।
३.भारत र अन्य देशबाट कृषिजन्य उत्पादन तथा माछा मासुजन्य वस्तु सीमा नाकामा विना क्वारेन्टाइन चेकजांच निर्वाध आयात नरोकिनु ।
४. खुला सीमाबाट भन्सार छलेर कृषिजन्य तथा माछा मासुजन्य वस्तु आयात नरोकिंदा नेपाली किसानले मुल्यमा प्रतिस्पर्धा गर्न नसकेर क्षति ब्यहोर्नु परेको ।
५.किसानलाई सरकारले समयमा मल, बिउ र सिंचाई सुविधा उपलब्ध गराउन नसक्नु ।
६.किसानका सबै उत्पादनको न्युनतम मूल्य र बजारको सुनिश्चितता नहुनु ।
७.उत्पादनको आधारमा वास्तविक किसानलाई अनुदान र २० वर्ष निरन्तर कषि पेशामा संलग्न किसानलाई पेन्सनको व्यवस्था नहुनु ।
८. किसानमा आधुनिक कृषि प्रविधिको पहुंचको कमी ।
९.कृषि प्रशोधन उद्योग र शितभण्डारको अभाव ।
१०.स्वदेशी कृषि उत्पादनको अनिवार्य उपभोगलाई बढावा दिने सरकारको नीति अभाव ।