© २०२३
बुटवल,२५ फागुन । आज मार्च ८ तारिख । महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी भन्ने राष्ट्रिय नारा सहित ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज नेपालसहित विश्वभर मनाइंदैछ । नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनकी नागरिक क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । सन् १९०८ मा १५ हजार महिलाले अमेरिकाको न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्याली गरेसँगै यसको बीजारोपण भएको थियो। त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो।
यसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने उपाय क्लारा जेट्किनको थियो। उनले सन् १९१० मा कोपनहेगनमा भएको कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा यो उपाय सुझाएकी हुन्। त्यहाँ १७ देशका १०० महिला सहभागी थिए र उनीहरू सबैले उनको सुझावमा सहमति जनाए। पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डामा मनाइयो। त्यसको १०० वर्ष सन् २०११ मा मनाइयो । तर संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पायो। सन् १९९६ मा राष्ट्रसङ्घले विगत मनाउँदै, भविष्यबारे योजना गर्दै भन्ने विषयलाई आत्मसात् गर्यो।
अहिले अन्तर्राष्ट्रिय महिला दिवस महिलाहरू समाज, राजनीति र आर्थिक क्षेत्रमा कहाँ आइपुगे भन्ने मनाउने दिन बनेको छ। तर यो दिनको राजनीतिक धरातल भने निरन्तरको असमानताबारे चेतना जगाउनका लागि आन्दोलन र प्रदर्शन आयोजना गर्ने भन्ने हो।
नेपालमा २०७२ को संविधान बनेपछि महिलाका राजनीतिक र अन्य अधिकार संविधान र कानूनमै लिपिवद्ध भएका छन् । पछिल्लो समय सामाजिक न्याय र लैङ्गिक समानताको हकमा नेपालले धेरै प्रगति गरेको छ । शिक्षा र स्वास्थ्य तथा राजनीतिक सहभागितामा महिलाको पहुँचका सन्दर्भमा नेपाल धेरै सकारात्मक उपलब्धि हासिल गर्दै दक्षिण एसियामा अग्रपंक्तिमा पुगेको छ ।
महिलाको विकास लक्षित कार्यक्रमले महिलालाई मात्र होइन, देश, समाज सबैलाई फाइदा पुर्याएको छ । छोराछोरीलाई समान शिक्षा दिने विषय कानुनी बाध्यता मात्र होइन चलनकै रुपमा विकास भएको छ । केही समय अघिसम्म बिहे भएका बुहारीले पढ्ने भनेको विरलै थियो तर अहिले बुहारीले पनि पढाइलाई निरन्तरता दिन पाएका छन् ।
शिक्षा र स्वास्थ्यमा महिलाको पहुँचमा नेपालले सकारात्मक उपलब्धि हासिल गरेको छ । छाउगोठ, बोक्सी लगायतका कुरीतिको अन्त्य भइरहेको छ । लघुवित्त, सामुदायिक वन, स्वास्थ्य स्वयंसेविका लगायतका कार्यक्रमले महिलाले गाउँघरमा पनि नेतृत्वको अवसर पाएका छन् । राजनीतिक रुपमा पनि महिला अब नेतृत्वदायी स्थानमा छन् ।
अहिले ३३ प्रतिशत महिला सङ्घीय संसदमा छन् । पालिकामा झण्डै ५० प्रतिशत महिला छन् । राष्ट्रपति, सभामुख, प्रदेश प्रमुख लगायतका पदमा महिला पुगिसकेका छन् । राजनीतिक सहभागिता, सामाजिक रुपमा सचेतना, शिक्षा, स्वास्थ्य जस्ता जीवन यापनका आधारमा पहुँच, रोजगारीमा पहुँच हेर्दा नेपालले धेरै फड्को मारेको छ ।