© २०२३
यातायात ब्यवस्था कार्यालय बुटवल सवारीका मेकानिकल इन्जिनियर सरोज कुमार साहा २० हजार रूपैयाँ घुस लिँदै गर्दा अख्तियारको फन्दामा परेका छन् । सोमबार एकजना सेवाग्राहीसँग लोडर दर्ता गर्न जाँदा उनले रकम मागेका थिए । १४ बटा लोडर ल्याउने तैयारीमा रहेका एक सेवाग्राहीसँग साहाले रकम नदीए दर्ता नगरीदिने भनेपछि रकम दिन तैयार भएका थिए । सुरुमा प्रति लोडर ५० हजारका दरले अतिरिक्त रकम घुस दिए गाडी दर्ता हुने नत्र नहुने भनेपछि ती ब्यबसायीले बिभिन्न तरीकाले बार्गेनिङ समेत गरेको बुझीएको छ । लामै कुराकानी पछि प्रतिलोडर २० हजारको दरले १४ वटा लोडर दर्ता गर्ने सहमति भएको थियो ।
निर्माण कम्पनीका लागि ल्याउन लागिएको हुँदा ब्यबसायी पैसा दिन तैयार भएका थिए । घुस नखाई काम हुँदैन भन्ने सुचना पाएको अख्तियारले केही दिनदेखि यातायातमा निगरानी बढाएको थियो । सोमबार मेकानिकल इन्जिनियर साहाले पैसा लिँदै छन् भन्ने सुचनाको आधारमा पुगेको अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय बुटवलको टोलीले दिउँसो करिब १ बजेतिर इन्जिनियर साहालाई कार्यालयबाटै रकम सहित पक्राउ गरेको हो । अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय बुटवलका अनुसार साहाले सेवाग्राहीबाट घुस बापत २० हजार घुस लिँदै गर्दा पक्राउ गरिएको बताएको छ । पक्राउ परेका साहाको कार्यालयको घर्रामा २६ हजार नगद समेत फेला परेको बुझीएको छ । तर उक्त रकम कुन प्रयोजनका लागि राखीएको हो भन्ने खुलेको छैन । साहाले सवाग्राहीलाई बिभिन्न कागज नपुगेको भन्दै दुःखदिँदै आएका थिए । पक्राउ परेका साहालाई भ्रष्टाचार अन्तर्गत बिशेष अदालतमा मुद्दा दायर हुने कार्यालयले जनाएको छ ।