© २०२३
बिहीवार सार्वजनिक बायु प्रदुषण मापदण्ड रिपोर्टका अनुसार विश्वका बढी वायु प्रदूषित सहरमध्ये १० औँ स्थानमा काठमाडौँ परेको छ । काठमाडौँको हावाको प्रदूषण १ सय ६४ एक्यूआइ वल्ड ऐर क्वालिटी इन्डेक्सले देखाएको छ । हिउँदे वर्षा समयमा नहुँदा विश्वका विभिन्न क्षेत्रमा वायु गुणस्तरमा सुधार आउन सकेको छैन । भारतको दिल्ली सहर वायु प्रदूषणको १ नम्बरमा परेको छ । नेपालको संघीय राजधानी काठमाण्डौंको बायु प्रदुषणले चिन्ता थपिरहेको बेला राजधानी बाहिरका सहरहरू समेत बायु प्रदुषणको मारमा छन । बुटवल, भैरहवा, विराटनगर, बीरगञ्ज, तौलिहवा, नेपालगञ्ज, धनगढी लगायतका सिमावर्ती क्षेत्रका सहरमा बायु प्रदुषण बढेको देखिएको छ । पछिल्लो रिपोर्टका अनुसार दिल्लीको हावाको गुणस्तर २ सय ८३ एक्यूआइ देखिएको छ । दोस्रो नम्बरमा पकिस्तानको कराँची छ । त्यहाँको वायु गुणस्तर २ सय ५९ एक्यूआइ छ । यस्तै क्रमशः भारतको कोलकत्ताको २ सय ५६ एक्यूआइ, बंगलादेशको ढाका २ सय १५ एक्यूआइ मापण गरिएको छ । बोस्निया र हेर्जेगोभिनाको सरजेबो सहरको १ सय ७७ एक्यूआइ, म्यानमारको योगनको १ सय ७३ एक्यूआइ, पकिस्तानको लाहोर १ सय ७३ एक्यूआइ, भारतको मुम्बई १ सय ७२ एक्यूआइ र मंगोलियाको उलानबाटरको १ सय ७१ एक्यूआइ मापन गरिएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआईसम्मलाई सामान्य मानिन्छ । त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर हुने चिकित्सकको भनाइ छ ।
लामो समयदेखि हिउँदे बर्षा नभएका कारण मौसम धुम्म हुने र बायु प्रदुषण बढेको मौसमबीदहरूले जनाएका छन । जसका अनुसार पछिल्ला केही महिनायता संघीय राजधानीमा बाताबरण प्रदूषणको समस्या विकराल बनेको छ । स्मरणीय के छ भने चार बर्षअघि पनि काठमाण्डौंका बायु प्रदुषण चिन्ताजनक अवस्थामा पुग्दा सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अन्तरिम आदेश दिदै बायु प्रदुषण घटाउने उपाय प्रयोग गर्न निर्देशन दिएको थियो । त्यही अवस्था अहिलेपनि आउने चिन्ता थपिएको छ । त्यसैपनि सडक विस्तार, मेलम्ची खानेपानीको पाइप विच्छ्याउन र ढल मर्मत सम्भारका क्रममा खनिएका सडकका कारण पछिल्लो समयमा उपत्यकामा वायु प्रदूषण बढिरहेको छ । बायु प्रदुषण बढाउने मूख्य कारक २० बर्ष पुराना सवारीका साधन समेत हुन । मेलम्चीका लागि पाईप राख्ने काममा समेत धुलो उडेका कारण समस्या भएको छ । सडक कहिले मर्मत गर्ने र कहिले भत्काउने भन्ने कुरामा सरकारी निकायबीच तालमेल हुन नसक्दा गम्भीर हेलचेक्र्याइ दोहोरिन थालेको छ । वर्षौं पुराना सवारीसाधनका कारण समेत प्रदूषण बढिरहेको पुष्टि हुँदा पनि सरकारले पुराना सवारीलाई प्रतिबन्ध गराउन सकेको छैन । सर्वोच्चले २० वर्षे पुराना सवारी हटाउनसमेत केही बर्षअघि अन्तरिम आदेश दिएको थियो तर सरकार त्यसमा इच्छुक देखिएको छैन । वायुमण्डलमा रहने धूलोको कणका कारण निमोनिया, खोकी, मुटु र दमको रोग संक्रमणसंगै फोक्सोको क्यान्सर बढ्ने गरेको पटकपटक विज्ञहरूले चेतावनी दिदै आएका छन । चिकित्सकहरूका अनुसार नेपालमा वार्षिक १० हजार व्यक्तिको अकाल निधन वायु प्रदूषणका कारण हुँदै आएको छ । स्वच्छ वातावरणमा बाँच्न पाउनु मानिसको मौलिक हक हो । तर डब्ल्यूएचको पछिल्लो प्रतिवेदन अनुसार काठमाडौं उपत्यकाको प्रदुषण ५ गुणा बढिरहेको छ । नेपालजस्ता अल्पविकसित मुलुकहरूमा वायु प्रदूषण ‘मन्दविष’ का रूपमा फैलदै गएको देखिएको छ । तसर्थ बायु प्रदूषण नियन्त्रण गर्नेतर्फ सरकारले ठोस कार्यक्रम अघि बढाउनु जरुरी छ ।