© २०२३
प्रदेश नं. ५ नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको बैठकले १७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । शुक्रबार बसेको दलको बैठकले उपनेता समेत चयन गरेको छ । नेकपा संसदीय दलको उपनेतामा आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसी चयन भएका छन् । मुख्यमन्त्री शंकर पोख्रेलको अध्यक्षतामा गठित वोर्डको सदस्यहरूमा उपनेता कुल प्रसाद केसी, प्रमुख सचेतक भूमेश्वर ढकाल, सचेतक, कमला विश्वकर्मा (रूपन्देही), भगवती भण्डारी (नवलपरासी), पार्वती पुन (बाँके), सरस्वती गौतम ( दाङ), गिता थापा (गुल्मी), तुलाराम घर्ति (पाल्पा), कुल प्रसाद पोखरेल (बर्दिया) धर्म बहादुर लाल श्रीवास्तव (कपिलवस्तु), विष्णु प्रसाद पन्थी (कपिलवस्तु), इन्द्रजीत थारु (दाङ), दिपेन्द्र पुन (रोल्पा), इन्द्र प्रसाद खरेल (बाँके) रहेको बोर्डका सदस्य सचिव भोजप्रसाद श्रेष्ठले जानकारी दिए ।
बैठकले आर्थिक बर्ष २०७५÷०७६ को बजेटका विषयमा छलफल गरी कार्यान्वयनको लागि विषयगत मन्त्रीहरूलाई मुख्यमन्त्रीले निर्देशन दिने र मन्त्रीहरूले जिम्मेवार पूर्वक अख्तियारी लिन जोड दिएको छ । सरकारले ल्याएको कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयनमा सहयोग गर्न तथा विकास निर्माणमा सहयोग गर्न पार्टी संगठनहरूलाई बैठकले अपिल गरेको छ । संसदको विषयगत समितिको गठन र कार्यक्षेत्र माध्यमबाट अनुगमन प्रकृयालाई जोड दिँदै स्थानीय तह प्रदेश तह र संघीय तहमाथि उठेका प्रश्नहरूको सम्बोधन गर्ने नेकपाको संसदीय दलको बैठकले निर्णय गरेको छ । खासगरी स्थानीय तहमा कर वृद्धिको विषयलाई लिएर टिका टिप्पणी भइरहेको बेला सो विषयलाई स्पष्ट पार्न यस्तो निर्णय गरिएको संसदीय दल स्रोतको भनाइ छ ।