© २०२३
तुलसीपुर उप महानगरपालिका वडा नम्वर ४ की सपना गुरुङ्गले उप महानगरपालिकाले वितरण गरेको सुत्केरी भत्ताको पैसाले आफु र वच्चाको लागि न्यानो कपडा र पोषिलो खानेकुरा किनिन् । सुत्केरी भत्ता पाएका कारण आफुलाई चाहिने सामान किन्नका लागि कसैसंग हात थाप्नु परेन उनलाई । सुत्केरी हुँदाको समयमा खानाको सन्तुलन मिलाउन नजान्दा बच्चामा कुपोषण हुने उनलाई जानकारी रहेछ । बच्चालाई कुपोषणवाट बचाउन र सुत्केरी भएको समयमा पोशिलो खानेकुरा खानुपर्ने डक्टरको सल्लाहले बच्चालाई नाना र मलाई खाना किनेर ल्याए गुरुङले भनिन् ।
तुलसीपुर उप महानगरपालीकाले गर्भवती भएदेखी नियमित रुपमा ४ पटक स्वास्थ्य संस्थामा गई चेकजाँच गराई स्वास्थ्य संस्थामा नै सुत्केरीहुने महिलालाई ५ हजार भत्ता दिदै आएको छ । तर गुरुङले नियम अनुसार चेकजाँच नगराएका कारणे २५ सय मात्रै पाइन् । “आफ्नै गल्ति हो, ४ पटक गर्भवती चेकजाँच नगराएकाले कम पैसा पाईयो” उनले भनिन् ।
गुरुङ्गको जस्तै अनुभव छ तुलसीपुर उप महानगरपालिका वडा नम्वर १ की गोमा गिरीको पनि । सुत्केरी भत्ता पाएपछि उनले सबै पैसाले आफु र छोरीको लागि न्यानो कपडा किनिन् । “धेरै राम्रो भयो सुत्केरी भत्ता पाएका कारण न्यानो लुगा किने” गिरीले भनिन् । उनले नियम अनुसार चेकजाँच गराएकाले उप महानगरपालिकाले दिने पुरै रकम पाइन् । मातृशिशु मृत्युदर न्युनीकरण गर्नका लागि तुलसीपुर उप महानगरपालिकाले गत आर्थिक वर्ष देखि सुत्केरी भत्ता वितरण गर्दै आएको छ । नेपालमै पहिलो पटक स्थानीय तहबाट सुत्केरी भत्ता वितरण गर्न सुरु गरेको उप महानगरपालिकाबाट अहिलेसम्म १५ सय ५ जनाले सुत्केरी भत्ता लिएको तुलसीपुर उप महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डा. गोकर्ण दाहालले वताए । डा.दाहालका अनुसार प्रोटोकल पुरा गरेका १ हजार २ सय ३३ जनाले ४१ सय , प्रोटोकल पुरा नगरेका २ सय ४२ जनाले २५ सय र ३१ जनाले १ हजारका दरले प्रोत्साहन भत्ता पाएका छन् । स्वास्थ्य शाखा उपप्रमुख विष्णु पोख्रेलका अनुसार नियमानुसार गर्भवती हुनुभन्दा पहिले ४ पटक मान्यताप्राप्त स्वास्थ्य संस्थामा गर्भवती चेकजाँच गराएको, मान्यताप्राप्त स्वास्थ्य संस्थामा सुत्केरी गराएको, वच्चा जन्मेको ३५ दिन भित्र जन्मदर्ता गरेको र वच्चालाई विसिजी खोप लगाएकोलाई ४१ सय, गर्भ चेक नगराएर अन्य प्रक्रिया पुरा गरेको भए २५ सय र घरमै वच्चा जन्माए पनि अन्य प्रक्रिया पुरा गरेको भए १ हजार दिइने छ । उनले सबै प्रक्रिया पुरा गर्ने सुत्केरी महिलाहरुको संख्या धेरै रहेको पनि जानकारी दिए ।
सुत्केरी महिलाहरुले आवश्यकता अनुसार चेकजाँच गराउनुका साथै पोषिलो खानेकुरा खानु र न्यानो कपडा लगाउन सकुन् भन्नका लागि सुत्केरी भत्ता वितरणको कार्यक्रम ल्याईएको नगरप्रमुख घनश्याम पाण्डेले वताए । नगरप्रमुख पाण्डेले निम्न वर्गका जनतालाई लक्षित गरेर सञ्चालन गरिएको कार्यक्रम निकै प्रभावकारी भएको समेत दावि गरे । गर्भवतीहरुको सहजतालाई हेरेर आगामी वर्षदेखि वडाबाटै सुत्केरी भत्ता वितरणको तयारी गरिएको समेत उनले वताए । तुलसीपुर स्वास्थ्य शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार सरकारले सुत्केरी भत्ताको रकम वृद्धि गरेका कारणले आगामी वर्षदेखि ३ हजार २ सय रुपियाँ भत्ता दिइनेछ । उनले कतिपय सुत्केरी भत्ता सम्वन्धित व्यक्तिलाई नै दिने गरि कार्यविधि संशोधन गर्न लागिएको समेत वताए ।
नियमित रुपमा ४ पटक स्वास्थ्य संस्थामा गई चेकजाँच गराई स्वास्थ्य संस्थामा नै सुत्केरीहुने महिलालाई ५ हजार भत्ता दिदै आएको छ । भक्ताबाट सुत्केरी महिलाहरुले बच्चाको लुगाफाटा देखि पोषणका सामग्री किन्ने गरेका छन् ।