© २०२३
नेपालीहरूको घर आँगनबाट शनिबारदेखि औपचारिक रूपमा यो बर्षको दशैं बिदा भएको छ । दशैंको बिदाईसंगै अब दीपावली अर्थात तिहारको आगमन हुँदैछ । दशैं, दीपावली र छठ पर्वलाई लक्षित गर्दै राष्ट्रपतिदेखि प्रधानमन्त्री र नेताहरूले शुभकामना व्यक्त गर्दै राष्ट्रिय सहमति, एकता र मेलमिलापमा जोड दिएका छन । निश्चितरूपमा दलहरूका बीचमा देखिएको मतभेदको विकल्प सहमति र एकता नै हो । दलहरूबीच जति बैरभाव हुन्छ, देश त्यति नै संकटमा पर्दछ । यो विगतदेखि नै पुष्टी हुँदै आएको हो । अहिले राष्ट्रपतिदेखि प्रधानमन्त्री र विभिन्न दलका नेताहरूले सहमति र एकताबाटै मुलुकको सम्मृद्धि हुने भन्दै आपसी सहकार्यमा जोड दिएका छन् । अहिलेपनि दलहरूबीचको मतभिन्नता, अविश्वास, वैरभाव एवं गतिरोध यथावत नै छ । दलहरूमा देखिएको बेमेल एवं असहमतिले देशको प्रगतिमा प्रत्यक्ष असर नपु¥याए पनि परोक्षरूपमा देशको समग्र क्षेत्र अस्तव्यस्त बन्दै गइरहेको प्रतित हुँदैछ । मुलुकको हरेक फाँटले घाटा व्यहोर्नु परिरहेको छ । सुन्दर, शान्त, समृद्ध नेपालको साटो भद्रगोल अथवा भावी नेपालको चित्र भयावह देखिँदैछ । मुलुक अनेकथरिका समस्याबाट घेरिएर प्रतिदिन सङ्कटोन्मुख दिशातिर लम्कँदैछ । मुलुकको नीति निर्माण तहमा रहेका राजनीतिक दल र तिनका अगुवाहरूले समाजको रुचि अनुसारको दायित्व एवं कर्तव्य निर्वाह गर्न सकिरहेका छ्रैनन् । नेताहरूले जनमुखी राजनीतिप्रति आफ्नो इच्छाशक्ति प्रकट गरेको पाइँदैन । यसको एकमात्र कारण स्वार्थपरक राजनीति नै हो भन्न अब कति हिचकिचाउनु पर्दैन । तसर्थ यी सवै दुष्भावबाट मुक्तिका लागि हाम्रा चाडपर्वले राष्ट्रिय एकतामा समेत जोड दिदै आएका छन । चाडपर्वले सांस्कृतिक महत्वलाई उजागर गरेकामात्रै छैनन, देशको परिस्थिति अनुसार सवैलाई एउटै शिरामा ल्याएर मिलाउने काम पनि गरेका छन । अहिले दशैंको अवसरमा चियापान गर्ने संस्कृतिको विकास भएको छ । नेपाली कांग्रेसले शनिवार चियापान कार्यक्रम सम्पन्न गरेको छ भने नेकपा एमालेको चियापान हुँदैछ । त्यसैगरी माओवादी र अन्य राजनैतिक दलहरूले समेत चियापान कार्यक्रम गर्दैछन् । यसबाट के देखिन्छ भने दशैंको अवसरमा गरिने चियापान परम्पराले दलहरूलाई मिलनविन्दुको पथमा अघि बढाउन प्रेरित गरेको छ । हाम्रा नेताहरूका बीचमा महिनौंसम्म बोली बाराबारको अवस्था हुन्छ । त्यो बोली बाराबारको अवस्था अन्त्य गर्न यस प्रकारका कार्यक्रम महत्वपूर्ण हुन्छन भन्दा अत्युक्ति हुँदैन । नेपालको राजनीतिमा आपसी प्रतिद्वन्दिता, आवेश र निषेधले बेमेल उत्पन्न भैरहेको छ । हाम्रा नेतागणले उज्यालो बाटो हिँड्नुको साटो अलग अलग बाटो रोज्दा मुलुक अँध्यारो दिशातिर बढ्दैछ । दलहरूका कारण यस प्रकारको असहज एवं सङ्कटकालीन परिस्थिति आइलागेको हो । राजनेतामा हुने, गुण, योग्यता र क्षमताको अभाव मुलुकमा देखापर्दैछ । यसले आम नागरिकमा राजनीतिक दल तथा तिनका नेताप्रति निराशा, आक्रोश र घोर बितृष्णासमेत बढाउँदै लगेको भान हुँदैछ । राजनीतिमा सत्ता, पद एवं प्रतिष्ठाको चाहना राख्नु ठूलो कुरो होइन तर यहाँ त्यसैलाई ठूलो मान प्रतिष्ठा मानिँदैन । प्रायः राजनीति गर्नेहरूमा यस्तो अभिलाषा रहन्छ र यसलाई स्वाभाविक रूपमा मान्न वा लिन सकिन्छ तर मुलुक र जनतालाई पहिलो प्राथमिकता राख्नु पनि त्यत्तिकै अनिवार्य मानिन्छ । नेता र दलहरूमा त्यो देखिदैन । नेताहरूका क्रियाकलाप सत्ता, पद प्रतिष्ठालाई प्राथमिकतामा राख्ने गरेकोले अर्थात् अति महत्वाकाङ्क्षी भइदिएकाले मुलुकको राजनीति दिशाहीन हुन पुगेको तथ्य घाम झै छर्लङ्ग हुँदै गएको छ । राजनीतिमा अपराधको पक्षापोषण हुँदा राजनीति अपरामुखी भई सबै क्षेत्रमा द्वन्द्व, अराजकता र उदण्डाताले फराकिलो आधारभूमि तयार पार्छ । सबै दल यस्तो सङ्कीर्ण प्रवृत्तिमा तल्लीन छन् भन्न खोजिएको होइन तर कतिपय दलबाट सहमति गर्दै जाने अनि त्यत्तिकै मात्रामा तोड्दै जाने काम पनि भइरहेको छ, जुन कदापि राम्रो होइन । अवका दिनमा चियापान कार्यक्रमले जसरी दलका नेताहरूलाई एकठाउँमा उभ्याएर सहमति र सम्बादको बाटो खोल्न मद्दत गरेको छ, त्यसैगरी मुलुकको गतिरोध अन्त्यमा पनि दलहरू एक भएर अघि बढून ।