© २०२३
बिजयादशमी भनौ या बडादशैं भनौ कुरा एउटै हो, पर्व उही हो । यो पर्व नेपालमा बस्ने नेपालीले मात्र नभएर विदेशमा वस्ने नेपालीहरूले र केही वेदेशीहरूले पनि उत्तिकै महत्वका साथ मनाउने गर्दछन् । हुन त कसैले हिन्दुहरूको महान चाड भन्ने गर्दछन् तर यो हिन्दूहरूलेमात्र मनाउँछन् भन्न सकिदैन् । यो पर्वमा विभिन्न धर्म सम्प्रदायका नागरिकहरूको संलग्नता रहेको पाइन्छ । खासगरेर यो पर्व मातृशक्तिसंग जोडिएर आएको मानिन्छ । दशैंलाई नवदुर्गा वा नवरात्र आदि नामले पनि पुकारिन्छ । जेसुकै नामले पुकारेपनि यो असत्यमाथि सत्यको विजयको प्रतिकको रूपमा लिने गरिन्छ । मानव सृष्टिकालदेखि खराव र असलका बीचमा संघर्ष चल्दै आएको छ । यसैले होला दुर्गा सप्तशतीमा “इत्थं यदा यदा बाधा दानवोत्था भविश्यति, तदातदा वतीर्याऽहं करिष्यामि अरिक्षयम् ।।” भनिएको छ । अर्थात जुनजुन समयमा दुष्ट अर्थात आतंककारीको शक्ति बढेर शान्ति सुरक्षामा खलल पुग्दछ, त्यस त्यस समयमा म शक्तिको रूपमा आएर ती दुष्टहरूलाई नाश गरी सत्जनहरूको रक्षा गर्नेछु । यो कुरा दुर्गा शप्तशतीले भनेको भनेर उल्लेख गरेको पाइन्छ । विजया दशमीलाई एक कोणबाट मात्र हेरिनु हुँदैन । एकातर्फ दुष्ट महिसासुर लगायत चण्ड मुण्डहरूको वधको रूपमा लिने गरिन्छ भने अर्कोतर्फ यो पर्वलाई रामले रावणमाथि विजय पाएको रूपमा पनि लिने गरिन्छ । एकातर्फ दुष्टमाथि विजय पाएको रूपमा लिने गरिन्छ भने अर्कोरूपमा भन्नुपर्दा आपसी मिलनको रूपमापनि लिने गरिन्छ । दुष्टमाथि विजय पाएको कुरा पौराणिक कुरा हो भने आपसी मिलनको कुरा विगतदेखि वर्तमानसम्मको कुरा हो ।
दशैंलाई एकातर्फ हेरेर विश्लेषण गर्दा अपुरो हुने भएकोले यसलाई विविध कोणबाट हेर्दा अति उत्तम हुन्छ भन्ने लाग्दछ । आपसी मिलनको साथमा मिठो खाने र राम्रो लगाउने चाडको रूपमा समेत दशैंलाई लिने गरिन्छ । यस पर्वमा मान्यजनबाट टीका थाप्ने र आशिर्वाद लिने चाडको रूपमा पनि मान्ने गरिन्छ । मान्यजनबाट टीका प्रसाद प्रदान गर्दा “आयु दोर्ण सुते श्रीयं दशरथे सत्रुक्षयं राघवे ऐश्वयं नहुसे गतिश्च पवने मानञ्च दुर्योधने । शिले सन्तनुमे वलंहलधरे सत्यंन्च कुन्ती सुते, विज्ञाने विदुरे भवन्ति भवताम कीर्तिश्च नारायणे ।।” भन्ने गरिन्छ । अर्थात आयु दोर्णाचार्यका पुत्र अश्वस्थामाको जस्तो दीर्घायु, राजा दशरथको जस्तो धन सम्पत्ति, राघव अर्थात रामचन्द्रको जस्तो शत्रु नाश, राजा नहुषको जस्तो ऐश्वर्य, गति– पवन अर्थात वायुको जस्तो र मान सम्मान दुर्योधनको जस्तो हुन सकोस । यसैगरी शिल स्वभाव सन्तनु राजाको जस्तो, बल अर्थात पराक्रम बलरामको जस्तो, कुन्ती पुत्र युधिष्ठिरको जस्तो सत्यता हुन सकेको अनि विदुरको जस्तो ज्ञान विज्ञान र कीर्ति नारायण अर्थात बिष्णुको जस्तो हुन सकोस भनेर आशिर्वाद दिने गरिन्छ । यो आफैमा अति गहन छ । उच्चकोटीको आशिर्वादको रूपमा यसलाई लिने गरिन्छ । यसले जीवनका अनेकन पाटाहरूलाई समेटेको छ । उमेरदेखि शिल स्वभाव, धनधान्य, बल, गति र मतिसम्मका कुरा आएका छन् । यसकारण यो गहन र उच्च कोटीको छ भन्दा फरक पर्दैन ।
यसै समयमा महिलाहरूलाई भनेः– जयन्ती मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वहा, स्वधा, नमस्तुते । जय त्वं देवि चामुण्डे जय भूतार्तिहारिणी । जय सर्बगते देवी कालरात्री नमोस्तुते ।। भनेर आर्शिवाद दिने प्रचलन समेत रहेको छ । दशैं पर्व आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म मनाउने गरिन्छ । नेपालका मनाइने अनेकन चाडहरू मध्येमा यो चाड अत्यन्त महत्व र श्रद्धाका साथ धेरै दिनसम्म मनाइने हुनाले ठूलो अर्थात बडादशैं भनेर पुकारिन्छ । यतिका धेरै दिनसम्म मनाउने हाम्रो अन्य कुनै पनि चाडहरू पाईदैनन् । यो चाडको समयमा घटस्थापनाका दिनमा विधिपूर्वक दुर्गाको आराधना गरी विधिपूर्वक जौं मकै लगायतका अन्नहरूको जमरा राख्ने गरिन्छ । यही घटस्थापनाका दिनमा राखिएको जमरालाई दशमीका दिनमा टीकाका साथमा प्रदान गर्ने गरिन्छ ।
हाम्रा धर्म ग्रन्थहरूमा दशैंंको नवौ दिनसम्मलाई नवरात्र भन्ने कुरा उल्लेख गरेको पाइन्छ । नवरात्रसम्म देवीका नौवटा रूपहरू हुने विश्वास अनुसार नवरात्री भन्ने र अलग अलग दिनमा देवी अलग अलग रूपमा प्रकट हुने विश्वास अनुसार नौवटा नामले पुकार्ने गरिन्छ । यसरी हेर्दा पहिलो नाम अर्थात पहिलो रूप शैलपुत्री (हिमालय पुत्रीको रूपमा जन्म भएकाले शैलपुत्री) भनिन्छ । दोस्रो रूप ब्रह्मचारिणी (ब्रह्म चारिणीको तात्पर्य तपस्विनी हुन्छ), तेस्रो चन्द्र घण्टा (शान्तिदायक वा कल्याणकारिणी), चौथो रूप कुष्माण्डा (ब्रह्माण्ड उत्पन्न गर्नेवाला), पाँचौं रूप स्कन्दमाता (देवासुर संग्रामका समयमा सेनापतिको रूप धारण गरेकाले र स्कन्द नामका व्यक्ति शक्तिधर भएकाले स्कन्दमाता) भनिन्छ । छैठौंरूपमा कात्यायनी (कतका छोरा कात्य ऋषिको गोत्रमा देवीको जन्म भएकाले कात्यायनीका नामले चिनिन्छ), सातौंरूपमा कालरात्री (चारहात भएको रूपमा मानिएकाले र दुष्टको नाश गर्ने भएकाले कालरात्री) को रूपमा चिनिन्छ । आठौं रूपमा महागौरी (शंखचक्र धारण गरेकाले महागौरी) भनिन्छ । नवौरूप सिद्धि दात्री (यिनले आठवटा सिद्धि (अणिमा,महिमा, गरिमा लघिमा, प्राप्ती, प्राकाम्प, ईशित्वा र (वशित्व) लगायत आठवटा सिद्धि दिन सक्ने भएकाले यिनको नवौं नाम) रहन गएको मान्यता रहेको छ । घटस्थापनाको दिनमा घरघरमा देवी आह्वान गरेर दशमीको दिनमा टीकाप्रसाद ग्रहण गरे पश्चात कतै कतै कोजाग्रत पूर्णिमासम्म पनि टीक प्रसाद प्रदान र ग्रहण गर्ने प्रचलन रहेको छ भने कतिपय ठाउँमा दशमीको दिन टीका प्रसाद प्रदान गरे पश्चात दसैं समापन भएको मान्ने चलन रहको छ । यसरी मन्यता राख्नेहरूले दशैंको दिनभरमात्र टीक प्रसाद प्रदान गर्ने गर्दछन् । केही वर्ष यता कोजाग्रत प्रर्णिमा सम्म टीका प्रसाद थाप्ने र प्रदान गर्ने चलन बढेर आएको देखिन्छ । केहीवर्ष पहिले यस प्रकारको प्रचलन सिमित स्थान वा परिवारमा मात्र सिमित थियो । हाम्रा हरेक चाड पर्वहरू परम्परादेखि चलेको पाइन्छ । यो यसैबाट आरम्भ भयो भन्ने भन्दा पनि एकातर्फ दैवी शक्तिसंग जोडेर हेर्ने र अर्कोतर्फ आपसी मिलनको रूपमा लिने गरिन्छ । जसरी हेरे पनि र जसरी बुझे पनि कुरा उही र उस्तै हो । तर, बडादशैमा आफू भन्दा मान्यजनबाट टीका प्रसाद ग्रहण गर्ने भएकाले यसको महत्व वेग्लै खालको मानिन्छ । अर्कोतर्फ यो पर्व पूजाआजामा मात्र सिमित हुँदैन । यो आफू भन्दा मान्यजनबाट टीका प्रसाद र आशिर्वावादका साथमा लामो समयसम्म मनाउने अनि मिठो खाने र राम्रो लागाउने पर्वको रूपमा समेत लिइने हुनाले यसको महत्व अलिक फरक छ भन्ने सकिने आधार बनको छ ।
विगतमा जसरी आसुरी शक्तिको विनासको लागि देवीको आह्वान गरियो र आसुरी शक्ति अर्थात असुर वा दैत्यहरूको नाश भएका विभिन्न कथाहरू पढन र सुन्न पाइन्छ । यसैगरी आजभोली पनि दैत्यको संख्यामा पुनः वृद्धि हुन लागको आभास भइरहको छ । आजभोली सिधै देवतासंग युद्ध गर्ने दानव नभएर घुख खाने, भुस खाने, खुन खाने, सुन खाने र मानव संहार गर्नेहरूलाई जेलबाट उन्मुक्ति दिलाउने नयाँ दैत्यको रूपमा केही चित्रहरू देखापरेका छन् । यो वर्षको विजया दशमीले यस प्रकारका देशघाती, जनघाती र धनघाती दैत्यहरूको सर्बविनाश गर्न सकोस यही शुभकामना छ । साथमा वडादशै मनाउने सम्पूर्ण मनहरूप्रति हार्दिक हार्दिक शुभकामना ।