© २०२३
राष्ट्रिय बाल दिवस शुक्रवार देशभरी विविध कार्यक्रम आयोजना गरी मनाईदैछ । इतिहासमा उल्लेख भए अनुसार रत्नराज्य लक्ष्मदेवी शाह भारत भ्रमणको क्रममा महात्मा गान्धीको जन्म दिनको अवसरमा त्यहाँ बाल दिवस मनाएको देखेपछि नेपालमा पनि उहाँले आफ्नो जन्म दिनको अवसर पारेर वि.सं. २०२१ सालदेखि राष्ट्रिय बाल दिवस मनाउने परम्पराको सुरुवात गर्नुभएको थियो । २०७२ सालमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसंगै राष्ट्रिय बाल दिवसको मिति परिवर्तन गरी भदौ २९ कायम गरियो । आजका बालबालिका भोलिका कर्णधार हुन् भनिन्छ तर राष्ट्रिय बाल दिवस मनाईरहँदा बालबालिकामाथि कायम विभेद रोकिएको छैन । सवै बालबालिकाले समान शिक्षा पाएका छैनन् । नेपालको संविधान २०७२ ले सवै बालबालिकालाई शिक्षाको अवसरबाट बञ्चित नगर्ने भन्दै शिक्षाप्रतिको प्रतिवद्धता जनाएको छ । तर, बालबालिकाहरू शिक्षाको उज्यालोबाट बञ्चित भएको पाइएको छ । सहरमा भन्दा दुर्गम क्षेत्रमा बसोबास गर्ने बालबालिकाहरू शिक्षाबाट बञ्चित छन । बालवालिकामा असीमित श्रृजनात्मक क्षमता हुन्छ तर शिक्षा समान नहुँदा उनीहरूको त्यो क्षमता प्रदर्शित हुन पाएको छैन । बालवालिकाको पहिलो पाठशाला घर हो । घर परिवारबाटै बालवालिकाले आफ्नो जीवनको महत्वपूर्ण शिक्षा प्राप्त गर्दछन । घरैबाट राम्रो संस्कार दिन सकिए बालबालिकाको भविष्य सुन्दर हुनेमा कुनै शंका छैन । तर, पहिलो पाठशाला घर समेत अधिकांश बालबालिकाको शिक्षालय बन्न सकिरहेको छैन ।
नेपालमा कुल जनसंख्याको करिव ४४ प्रतिशत बालबालिकाको संख्या रहेको छ । यिनै नागरिक भोलीको देशको कर्णधार हुन । भोलीको नयाँ नेपालको नेतृत्वकर्ता हुन । यिनीहरूको सर्वोपरी हित र रक्षाले मात्रै भोलीको नयाँ नेपाल सुरक्षित हुन सक्छ तसर्थ बालबालिकाको सर्वाङ्गिण विकासका लागि आजैदेखि अभियान थालनी जरुरी छ । बिडम्वना नेपालका हजारौं बालबालिकाले अझैपनि विद्यालयको मुख देख्न पाएका छैनन् । उनीहरू गरिवीका कारण विद्यालय जान पाएका छैनन् । स्कुल जानेहरूमा पनि दुईथरी शिक्षा प्रदान भैरहेको छ । सरकारी र नीजि शिक्षाको नाममा देशमा दुईथरी नागरिक उत्पादन भैरहेका छन् । जसका कारण उनीहरूमा सुरुदेखि नै शारीरिक तथा मानसिक असर पुगेको छ । बालबालिकाहरू अहिलेपनि बालश्रम र वालविवाह लगायतका विभिन्न सामाजिक कुरीति र कुसंस्कारबाट पीडित हुनुपरेको छ । जसका कारण नेपाल शिक्षाका क्षेत्रमा पछि पर्दै गएको छ ।
अतः बाल दिवसको अवसरमा दिवस मनाएर औपचारिकता पूरा गर्नुभन्दा पनि बालबालिकाको अधिकारको कुरामा पनि ध्यान दिनु जरुरी छ । बालबालिकाको केवल शैक्षिक अधिकारमात्र होइन, उनीहरूमा स्वास्थ्यको पहुँच बृद्धि गर्नु जरुरी छ । बालबालिकको क्षमताको समग्र विकास गर्नेतिर लाग्नुको सट्टा आफ्नो हितका निम्ति उनीहरूलाई अहंकारप्रेरित प्रतिस्पर्धामा होमिरहनु अपराध हो । बालबालिकाको अधिकारको कुरा गर्दा सवैभन्दा पहिलो अधिकार उनीहरूको शिक्षाको अधिकार हो । किनभने शिक्षा बिना उनीहरूको सर्वाङ्गिण विकास हुनै सक्दैन् । तर, आज देशमा शिक्षामै पनि विभेद भैरहेको छ । सिमान्तकृत क्षेत्रका बालबालिका गाउँका स्कुलमा पढ्छन् । त्यहाँ उनीहरूको शिक्षा कमजोर मात्र होइन शिक्षण विधिसमेत कमजोर छ । अर्कोतर्फ शिक्षण संस्थाले विद्यार्थीहरूको हितमा काम गर्दछन् भन्ने कुरा आज सैद्धान्तिक गफमा सीमित भएको छ । गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय सिकाइ पहिलो सर्त हो । यसका लागि विद्यार्थीले आफ्ना साथी र शिक्षकहरूसँग राम्रोसँग अन्तक्र्रिया गर्ने वातावरण निर्माण गर्ने काम विद्यालयको हो । विद्यार्थीको सिर्जनशीलता, संज्ञान, प्राज्ञिक सीप, सोच्ने क्षमता, लेखाइ पढाइ तथा सामाजिक सीपहरूको विकास नगरेको शिक्षाले सुगा विद्यार्थी मात्र उत्पादन गर्छ । तर, त्यसका लागि बालबालिकाका लागि पूर्वाधार अति जरुरी छ । पारिवारीक पृष्ठभूमि, शैक्षिक वातावरण र गुणस्तरीय शिक्षा नभैकन बालबालिकाको अधिकारको कुरा सुगा रटाईमात्र हो । तसर्थ बाल अधिकार दिवस मनाईरहँदा अव उनीहरूको अधिकारको ग्यान्टी जरुरी छ । अहिलेसम्म बाल दिवस भाषणमै सीमित भएको सन्दर्भमा अव साँचो अर्थमा बाल दिवस मनाउनुको उद्देश्य र तात्पर्य पुष्टी होस् ।