© २०२३
धनगढी, २७ भदौ ।
वर्षायाम सुरु भएसँगै सुदूरपश्चिममा बढ्दै गएको प्राकृतिक विपद्का घटनाले स्थानीयहरू त्रसित वनेका छन् । तराइमा बाढी र पहाडमा पहिरोले दर्जनौँ घर डुवानमा परेका छन् भने पहाडमा त घर मात्रै पुरिएका छैनन् नागरिकले ज्यान नै गुमाइरहेका छन् । विपद सम्बन्धी पूर्व तयारी र यसको दीर्घकालीन उपाय नखोजिँदा वर्सेनि विपद्बाट जनधनको ठूलो क्षति हुने गरेको छ । यो वर्ष पछिल्लो एक महिनाको अवधिमा मात्रै विपदका घटनाबाट १० जनाको मृत्यु भइसकेको छ भने लाखौँको क्षति भएको छ ।
पहाडमा पहिरो, तराइमा बाढी
९ जिल्ला रहेको सुदूरपश्चिमको भूगोलमा कैलाली–कञ्चनपुर तराई क्षेत्रमा छन् भने बाँकी ७ जिल्ला पहाडी तथा हिमाली क्षेत्रमा पर्दछन् । बाढी, पहिरो र डुबानको उच्च जोखिममा यो प्रदेशका डोटी, बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, बझाङ र दार्चुला जिल्लाका धेरै बस्तीहरू पहिरोको उच्च जोखिममा छन् भने कैलाली कञ्चनपुर बाढीको चपेटामा छ ।
मनसुन सुरु भएयता पछिल्लो एक महिनाको अवधिमा मात्रै विपद्का घटनाबाट १० जनाले ज्यान गुमाएका छन् भने २९ जना घाइते अवस्थामा छन् । बाढी–पहिरो लगायतका घटनाबाट ३ हजार ४ सय ५२ परिवार प्रभावित हुँदा ४ सय ८४ घर आंशिक र २९ घर पूर्णरुपमा क्षतिग्रस्त अवस्थामा छन् । १० घरमा क्षति पुग्दा ५७ चौपाया मरेका छन् । यो अवधिमा मात्रै १ करोड ६५ लाख ८५ हजार ८ सय सम्मको आर्थिक अनुमानित नोक्सानी भएको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार एक महिनाको अवधिमै २९ पटक पहिरो आउँदा १ महिला र १ पुरुष गरी २ जनाको मृत्यु, २ पुरुष, ३ महिला गरी ५ जना घाइते हुँदा १३ परिवार विस्थापित बनेका छन् । पहिरोबाटै २ घर र १ गोठमा पूर्णरुपमा क्षति हुँदा १२ पशु–चौपाया मरेका छन् ।
यस्तै बाढीबाट मात्रै कैलाली–कञ्चनपुरमा एक जनाको मृत्यु र १ जना घाइते हुँदा ३ हजार ३ सय ६७ घर परिवार प्रभावित र ४ सय ८१ घरमा आंशिक तथा २० घर पूर्णरुपमा क्षतिग्रस्त अवस्थामा छन् ।
बाढीका कारण जोशीपुरका स्थानीय करन चौधरीको घर नै भत्किएपछि अहिले उनको विचल्ली भएको छ । घरपरिवारका सबै सदस्य सहित आफन्तकोमा शरण लिन बस्न बाध्य छन् उनी । स्थानीय तह लगायतका सम्बन्धित निकायबाट सामान्य राहत सम्म पाएका छैनन् ।
वर्षासँगै नदीमा पानीको बहाव बढ्दा कैलाली, कञ्चनपुरमा डुबान हुन थालेको छ । सामान्य वर्षातको बाढीले पनि घर डुवाएपछि स्थानीयहरूको बिचल्ली भइरहेको छ ।
वर्षाको बेला कैलालीको धनगढी, घोडाघोडी, भजनी, जोशीपुर, बर्दगोरीया लगायतका क्षेत्र सधैँ डुबानमा पर्ने गरेका छन् । कञ्चनपुरको बेलडाँगी, बेलौरी, महाकाली लगायतका क्षेत्रमामा पनि बाढीले आतंक नै मच्चाउने गरेको छ ।
बर्सेनि आउने प्राकृतिक विपत्तीबारे थाहा हुँदाहुँदै पनि सधै व्यवस्थापनमा चुक्ने सरकारले पीडितको घाउमा मलहमसमेत लगाउन सकेको छैन । बाढी पहिरोको मौसम सुरु भएपछि मात्रै त्यसको व्यवस्थापनबारे सोच्ने सरकारले विपत्तीको दीर्घकालीन उपाय र योजना अवलम्बन गर्न सकेको छैन ।
व्यवस्थापनमा चुक्यो सरकार, छैन तयारी
सुदूरपश्चिममा अहिले पनि बाढी र पहिरोको क्षति नियन्त्रण गर्न खासै पहल भएको पाइएको छैन । तीनै तहको सरकारबीच समन्वय हुन सकेको छैन ।
सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपद्का घटना बढ्दै गइरहेका छन् । सरकारले विपद् व्यवस्थापनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी बन्न सकेको छैन । पछिल्लो एक महिनामा मात्रै विपदका घटनाबाट १० जनाले ज्यान गुमाएका छन् ।
घटना भइसकेपछि सस्तो लोकप्रियताका लागि उद्दार र राहतका काम गरे जस्तो देखाउने सरकारी परिपाटी रहेको सरोकारवालाहरू बताउँछन् । ‘विपद्का घटनाबाट बच्नको लागि त पूर्व तयारी हुनु प¥यो, सरकारसँग स्पष्ट योजना हुनुप¥यो, तालिम सञ्चालनसँगै जनचेतनामूलक गतिविधि भएको सुनिएको छैन,’ नागरिक अगुवा प्रकाश सापकोटा भन्छन्, ‘विपद् व्यवस्थापनको मामिलामा सरकार सधै चुक्ने गरेको छ ।’
प्रदेशमा प्राकृतिक तथा गैर प्राकृतिक विपद्का घटनामा बर्सेनि जनधनको ठुलो क्षति हुने गरेको छ । तर, पहिरोको जोखिम र विपद्को तयारी भने निकै सुस्त छ ।
यद्यपि विपद् व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकार तैनाथ रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मी प्रसाद जोशी बताउँछन् । मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना २०८० तयार गरी विपद् व्यवस्थापन परिषदबाट स्वीकृत भइसकेको उनको दाबी छ । हामीले कार्यविधि तयार गरी कार्यान्वयन गरिरहेका छौँ । विपद्का घटनामा उद्दार तथा व्यवस्थापनका लागि सबै जिल्लामा सुरक्षा निकाय तैनाथ छ । हामीले ९ वटै जिल्लामा १०⁄१० लाखका दरले रकम समेत पठाइसकेका छौँ,’ उनले भने ।
विगतको सिकाइलाई ध्यानमा राखेर हामीले तयारी गरेका छौँ, जोशीले भने, यस वर्ष धेरै वर्षा हुने अनुमान गरिएको छ, त्यसै अनुरूप हामीले तयारी पनि बढाएका छौँ ।’
सुदूरपश्चिम प्रदेशमा भूकम्प, बाढी तथा पहिरो, डुबान, चट्याङ, खडेरी, हिमपात, असिना पानी, हिम पहिरो, अतिवृष्टि, अनावृष्टि, हुरी बतास, शीतलहर, तातो हावा (लु), वन डढेलो आदि प्राकृतिक तथा सडक दुर्घटना, महामारी, अनिकाल, कीट वा सूक्ष्म जीवाणु, जङ्गली जनावर आतङ्क, पशु तथा चराचुरुङ्गीमा हुने फ्लु, सर्प दंश, जनावर आक्रमण, खानी हवाई, जल तथा औद्योगिक दुर्घटना, आगलागी, विषाक्त खाद्य सेवन, वातावरणीय प्रदूषण, वन विनाशलगायतका गैर प्राकृतिक प्रकोपका घटनाहरू बर्सेनि बढिरहेका छन् । व्यवस्थापनको पहल भइरहेको सरकारले जनाए पनि घटनाहरू भने बढ्दै गइरहेका छन् ।