© २०२३
संविधान लेखन कार्य चल्दै गर्दा विभिन्न दल, समूह तथा वर्गका मागहरू उत्कर्षमा थिए । विभिन्न शैली र स्वरूपमा सबैले आफ्ना मागहरू संविधानमा समावेश गर्न चर्काचर्की गरिरहेका थिए । त्यति मात्र होइन संविधान लेखन प्रकृया चलिरहँदा पूर्वी नेपालमा एउटा समूहले छुट्टै देशको मागसहित आन्दोलन गरिरहेको थियो । संविधान लेखन गर्दैगर्दा नेपालको नाम र झण्डा नै फेर्ने पनि कुरा आएको थियो । यी सबै बाधा र अवरोधहरुलाई सहमतिमा ढाल्दै संविधानसभा अध्यक्ष सुवाशचन्द्र नेम्वाङले संविधान निर्माणमा ९० प्रतिशतको सहमति जुटाए । संविधानसभामा रहेर सबै पक्षका माग संबोधन गरेर संविधान जारी गर्नु कम्ती चुनौतीपूर्ण थिएन, तर ती सबै चुनौतीको सहज सामना गर्दै उनले संविधान जारी गरेर मुलुकलाई एक खालको राजनीतिक निकास दिए । संविधान निर्माणको नेतृत्व गरेका तीनै सुवाश नेम्वाङको गए राति हृदयघातका कारण दुःखद अवसान हुन पुगेको छ ।
जतिसुकै जटिल र कठिन परिस्थिति होस्, सुवास नेम्वाङ आशावादी देखिन्थे । विपक्षीमाथि खनिँदासमेत मुस्कानसहित तर्कसंगत मन्तव्य दिने उनको स्वभाव थियो । उनी तल्लोस्तरका झरेर कहिल्यै आफूलाई प्रस्तुत गरेनन् । कसैप्रति पूर्वाग्रही बनेनन् भने कसैप्रति तिखो टिप्पणी पनि गरेनन् । संविधानसभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि नेपाली राजनीतिमा एकखालको सन्नाटा छाएको छ । शीर्ष नेतृत्व भावव्हिल छ ।
नेम्वाङ लोकप्रिय जनप्रतिनिधि थिए । २०५६ पछिका प्रतिनिधिसभा तथा संविधानसभा निर्वाचनमा उनले कहिल्यै पराजय व्यहोर्नुपरेन । गत फागुनमा भएको राष्ट्रपति निर्वाचनमा बाहेक उनले राजनीतिक करिअरमा कहिल्यै हार्नुपरेन । तर, हृदयाघातका कारण जीवनबाट उनी हारे । उनी सोमबारदेखि बिरामी थिए । उनलाई हल्का ज्वरो आएको थियो । चिकित्सकले घरमै गएर जाँचेका पनि थिए । तर, मध्यरात उनी हृदयाघात भइ बाथरुममै ढले ।
परिवारले भेट्दा उनी बेहोस थिए । तत्कालै महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिए पनि पहिल्यै उनको निधन भइसकेको थियो । आफ्नै पार्टी एमालेमा होस् वा संसद् अथवा राष्ट्रिय राजनीतिमा नेम्वाङ समन्वयकारी नेताका रूपमा चिनिन्थे । एमालेभित्रको अन्तरसंघर्षमा अध्यक्ष केपी ओलीनिकट रहे पनि अरु नेताहरूलाई मिलाएर पार्टीलाई एकढिक्का राख्न उनले प्रयत्न गरेका थिए । उनको सबैभन्दा ठूलो योगदान नयाँ संविधान निर्माणमा थियो । दोस्रो जनआन्दोलनको बलमा २०६३ मा प्रतिनिधिसभा पुनःस्थापित भएपछि उनी सभामुख बने ।
त्यसपछि उनको समन्वयकारी भूमिका झन् बढेर गयो । खासगरी, पहिलो र दोस्रो संविधानसभामा नेम्वाङले खेलेको भूमिकाको अहिले पनि प्रशंसा हुने गरेको छ । भलै, पहिलो संविधानसभा विघटन हुनुमा नेम्वाङलाई दोष लगाउने गरिएको छ । उनी आपौ भने १० प्रदेशमा भइसकेको सहमतिबाट माओवादी र मधेशवादी पार्टी पछि फर्किँदा संविधान बन्न नसकेको बताउँथे । व्यंग्य पनि गर्थे, भुँइको टिप्न खोज्दा खल्तीको पनि खसेको हो । सशस्त्र विद्रोहबाट आएको माओवादी, मधेश आन्दोलनबाट उदाएका मधेशवादी र लामो संसदीय अभ्यासबाट आएका कांग्रेस र एमालेलाई मिलाएर नयाँ संविधान बनाउनु सहज थिएन । तर, उनले सधैँ सहमतिको रट लगाइरहे ।
मधेसकेन्द्रित दलबाहेक सबैको मतबाट ३ असोज २०७२ मा संविधानसभाले नयाँ संविधान घोषणा ग¥यो । दक्षिणी छिमेकी भारतको अनिच्छाबीच नयाँ संविधान घोषणा गर्नुपर्ने चुनौतीको नेम्वाङले सामना गरेका थिए ।
संविधानसभाबाट जारी संविधानमा सबैको जीत समेटिएको तर्क उनले बारम्बार गरिरहन्थे । उनले बेलाबेला भन्ने गर्थे–‘यहाँ सबैको भावना, विचार र माग समेटिएको छ । सबैको जीत समेटिएको छ । सबैले आ–आफ्नो ठाउँबाट सम्झौता गरेका छन् । व्यक्तिगत कुरा गर्ने हो भने म पनि सयमा सय सन्तुष्ट छैन । तर, सन्तुष्ट छैन भन्दैमा मान्दिन भन्ने त कुरा रहँदैन नि ! यो सहमति र सम्झौताको पनि दस्तावेज हो । कांग्रेसले संसदीय मोडेलमा सम्झौता ग¥यो, तत्कालीन एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डाबाट पछि हट्यो, माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डा छोड्न सहमत भयो, राजा चाहिन्छ भन्नेहरूले पनि आफ्नो कुरा राखे र संविधानमा हस्ताक्षर गरे । त्यसैले संविधान जारी हुने सबैभन्दा जनमूखी व्यवस्थाबाट संविधान जारी भएको छ । यसलाई अब बलियो बनाएर लौजाने हाम्रो काम हो ।’
९० प्रतिशत बढी सदस्यको हस्ताक्षरमा संविधान जारी भएका उदहारण संसारमा ज्यादै कम छन् । तर, जसले संविधानमा हस्ताक्ष्र गरेनन् संविधान जारी भए पछिका प्रकृयामा सहभागी हुँदै उनीहरू पनि संविधान कार्यान्वयनमा सहभागी भए ।
को हुन् नेम्वाङ ?
२८ फागुन २००९ मा इलाममा जन्मिएका नेम्वाङ २०२८ बाट राजनीतिमा सक्रिय थिए । स्नातक अध्ययनका क्रममा अनेरास्ववियुबाट राजनीति थालेका उनी इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापतिसमेत बने । पञ्चायतविरोधी आन्दोलनमा उनी सक्रिय थिए । २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा पनि तत्कालीन कम्युनिस्ट पार्टी कोअर्डिनेसन केन्द्र (माले) मा संगठित भए ।
एमालेको कानुन व्यवसायी फाँटबाट राजनीतिलाई अघि बढाएका उनी एमाले केन्द्रीय न्यायिक समिति सदस्य हुँदै १० औँ महाधिवेशनबाट केन्द्रीय उपाध्यक्ष निर्वाचित भए । पार्टीमा भन्दा संसदीय फाँटमा उनी धेरै सक्रिय भए । २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य रहेका नेम्वाङ २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट निर्वाचित भए ।
२०६४ र २०७९ का चुनाव एमालेका लागि चुनौतीपूर्ण थिए । यी दुवै निर्वाचनमा पनि नेम्वाङ विजयी भएका थिए । हाल उनी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए । आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए । २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका नेम्वाङ वरिष्ठ अधिवक्तासमेत थिए । स्वर्गीय नेम्वाङप्रति हाम्रो पनि भावपूर्ण श्रदाञ्जली १