© २०२३
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्याँसको मूल्यमा लगातार बृद्धि गर्दै आएको छ । पछिल्लोपटक गरिएको मूल्यबृद्धिबाट नेपालीको भान्सा महंगो भएको मात्र छैन, महिला दिदी बहिनीहरूलाई आहत दिएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको तेलको नयाँ मूल्य अनुसार स्वचालित मूल्य प्रणालीलाई आधार बनाएर मूल्यबृद्धि गरिएको बताइएको छ । आयल निगम अहिले नाफामा गएको छ । नाफामा जाँदा पनि थोरै मूल्य बढेर आउँदा समेत आयल निगमले अव उपभोक्ताको ढाड सेकेर उच्च नाफा कमाउन मूल्य बृद्धि गर्नु न्यायसंगत होइन । तसर्थ आयल निगमले तत्काल पेट्रोलियम मूल्यमा गरिएको बृद्धि घटाउनुपर्दछ ।
आयल निगमले आईओसीलाई ऋण चुक्ता गरिसकेकोले अव बिना सर्त पेट्रोलियमको मूल्य घटाउनेतर्फ पहल होस् । प्रधानमन्त्री प्रचण्डले उपभोक्तालाई राहत दिने भन्दै प्रधानमन्त्रीको सपथ लिएसंगै तेलको मूल्य केही घटाउन आयल निगमलाई निर्देशन दिनुभएको थियो । अहिले लगातार मूल्य बढ्दा प्रधानमन्त्री समेत मूकदर्शक बन्नुभएको छ । नयाँ जोगीले धेरै खरानी घस्छ भनेको यही हो । यसअघि पनि आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजनमा उपभोक्तालाई पटकपटक झुक्याउँदै आएको छ । त्यसो त नेपाली जनताले समेत सार्वजनिक चासोको बिषयमा आवाज नउठाउँदा आयल निगमको एकाधिकार छ । निगमले जे गरेपनि छुट छ । पहिले विद्यार्र्थीहरूले आवाज उठाएर परम्परा धानीरहेका थिए तर अहिले विद्यार्थीहरू समेत चुप छन । आयल निगमले अहिले धेरै नाफा कमाउने अवस्था छ । यही बेला नाफा थोरै राखेर उपभोक्तालाई धेरै राहत दिनेगरि पेट्रोलियमको मूल्य घटाउनेतर्फ पहल होस् ।
खासगरी उपभोक्ताले यो बिषयमा अब चासो लिनुपर्ने आवश्यकता छ । कस्तो बिडम्बना छ भने भारतमा अहिले खाना पकाउने ग्याँसको मूल्यमा भारी गिरावट आएको छ तर नेपालमा बिना कुनै कारण बृद्धि गरिएको छ । यसबाट के देखिन्छ भने आयल निगम जसरी हुन्छ मूल्य बढाएर उपभोक्तालाई शोषण गर्ने उद्यतमा छ । केही वर्ष पहिले पेट्रोलियम पदार्थको मूल्य स्वचालित बनाइने निकै हल्ला भएको थियो । आयल निगमले सहीरूपमा स्वचालित मूल्यको अभ्यास भने कहिल्यै गरेन । सरकारी भएपनि नेपाल आयल निगमले ब्यापारीक संस्थाको झल्को दिन्छ । निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाए सरकारले घटाउन निर्देशन दिएरपनि उपभोक्तालाई मूल्यबृद्धिको अस्वाभाविक मारबाट जोगाउनुपर्छ । यसतर्फ सरकारको ध्यान जाओस् ।
अहिले बजारमा तेलको मात्रै होइन चामलको भाउ बढेको छ । दाल, तरकारीको भाउ बढेको छ । एकातिर बजारमा भाउ बढ्दै जाने अर्कोतिर सर्वसाधारणको मात्रै होइन, उद्यमीको समेत क्रयशक्ति कमजोर बन्दै गएको छ । ठूलाबडाले विलासी सामान किन्न नसकेका होलान्, सर्वसाधारणलाई भने हातमुख जोर्नै धौ भइसकेको छ । बजारमा महँगी बढ्नुका स्वाभाविक बाहेकका कारण पनि छन् । त्यो भनेको बजार अनुगमनको फितलोपना पनि हो । सरकारी अनुगमन फितलो छ । सरकार जनताकै सुविधाका लागि बनेको हो भने अव ढिलाई नगरी उपभोक्तालाई राहत दिनेतर्फ ध्यान जाओस् । आयल निगमले स्वचालित मूल्यका नाममा जसरी भाउ बढाएको छ, बढेको मूल्य तत्काल फिर्ता गरोस् । सरकारको प्रतिवद्धता कार्यान्वयन गर्ने हो भने सरकारले जनतालाई सास्ती होइन, राहत दिने काम गरोस् ।