© २०२३
तिम्रो राजधानीको आँगनमा आइपुगेको छु म ।
तिमीले आफ्नो मात्रै ठान्ने यो राजधानी जति तिम्रो हो, त्यति नै मेरो पनि हो ।
किनभने जति यो धर्ती तिम्रो हो, त्यति नै मेरो पनि हो । जति यो आकास तिम्रो हो, त्यति नै मेरो पनि हो । यो धर्तीको उज्यालो जति तिम्रो हो, त्यति नै मेरो पनि हो ।
तर जुगजुग देखि धर्तीको उज्यालोमाथि तिमीले मात्रै रजगज ग¥यौ । त्यो उज्यालोको उपभोग तिमीले मात्रै ग¥यौ । त्यो उज्यालोलाई तिमीले आफ्नो बपौती बनायौ ।
अनि न प्रमिथस सहयोद्घाहरूले काल्पनिक स्वर्गबाट आगो खोस्न शुरु गरेको संघर्षमा म होमिएँ । तिमी मेरो संघर्षले डरायौ । र, उज्यालो प्राप्तिका लागि लड्दा लड्दै आफै तारा बनेका शहीदहरूको बलिदानमाथि सत्ताको अहोरात्र परेड खेल्यौ । तिम्रो त्यो परेड असह्य भएपछि तिनै शहीदको शालिकबाट निस्केर म राजधानी आएको हुँ ।
इतिहासको गर्तमा विस्मृत बेपत्ताहरूको चिहानबाट निस्केर म राजधानी आएको हुँ ।
सत्ता प्राप्त गर्न र सत्तामा टिकिरहनका लागि तिमीले राजधानीको रातो रगतलाई कोकाकोला बनाइदिएका छौ । राजधानीको तातो रगतलाई चिसो बनाइदिएका छौ । त्यसैले कैयौं हिउँदभरि तापेर तिमीले बिर्सी हिंडेको ‘बुके विश्वकर्मा बाजे’ को रातो तातो आरन लिएर आएको छु ।
हेर, म तिम्रो राजधानीको आँगनमा आइपुगेको छु ।
कुनै बेला मुक्ति युद्घको तीव्रतम लहर र नदीको उर्लदो लहरलाई तिमीले एउटै देख्थ्यौ तर राजधानी पस्ने हतारमा तिमीले छली हिँडेका थियौं सानी भेरीको लहरलाई । बिर्सी हिँडेका थियौ ठूली भेरीको लहरलाई । राजधानी पुग्ने हतारमा कर्णाली तरेपछि हातको लौरो कर्णालीकै किनारमा फालेर हिँडेका थियौ ।
मैल सानी भेरी र ठूली भेरीको छुटेको त्यही लहरलाई लिएर आएको छु । कर्णाली किनारको त्यही परित्यक्त लौरो लिएर आएको छु ।
हेर, म तिम्रो राजधानीको आँगनमा आइपुगेको छु ।
मुक्ति गीत तिमीलाई साह्रै सुमधुर लाग्थ्यो । गाउँ बस्तीको गीत साह्रै मीठो लाग्थ्यो । सुकुम्वासी बस्तीका गीतमा तिमीले जीवनको असली गीत पाउँथ्यौ । अनि तिमीले पनि त कम्ती मीठो गीत गाउँथ्यौ ? तर तिमी राजधानी पुग्ने हतारमा गाउँदा गाउँदैको गीत छोडेर हिँडेका थियौ । मैले तिमीले छोडी हिँडेको त्यही गीत लिएर आएको छु । त्यही प्रिय गीतको झन्झनाउँदो झङ्कार लिएर आएको छु ।
सत्ताको निरन्तरको कल्याङबल्याङमा अभ्यस्त छौ तिमी । मान्छेको आवाज सुन्न धौ हुन्छ तिमीलाई । तर सुन ! कान थापेर सुन ! त्यो गीतसँग सँगै मैले गण्डकीको गर्जिंदो सङ्गीत लिएर आएको छु । स्वतन्त्रताको अपरिभाषित आलाप लिएर आएको छु !
म तिम्रो राजधानीको आँगनमा आइपुगेको छु ।
तिमी देश बनाउन आफ्नै पाखुरी चल्नु पर्छ भन्थ्यौ । अर्काको भर परेर हुन्न भन्थ्यौ । बाटा बनाउँथ्यौ । स्कूल बनाउँथ्यौ । सामूहिक खेतीमा संलग्न हुन्थ्यौ । मान्छेमा जोश जागर भथ्र्यौ । कर्मशील हातहरू नै निर्माणका आधार हुन् भन्थ्यौ । विदेशी सहयोगमा अन्तरनिहीत स्वार्थ के हो भनेर अर्थ लगाउँथ्यौ । र, विदेशीको षडयन्त्रप्रति सदा सजक देखिन्थ्यौ ।
आफूसँग देश बनाउने नक्शा छ भन्थ्यौ । देश बनाउने भाषा छ भन्थ्यौ । खाका छ भन्थ्यौ । तर राजधानी पुग्ने हतारमा शायद तिमीले देश बदल्ने खाका यतै कतै छोडेर गयौ । अनि देश बनाउन विदेशीको अघि हात जोड्ने भयौ । दुःखिया किसानहरूको औजारबाट, अवसरबाट वञ्चित विद्यार्थीहरूको आकाङ्क्षाबाट, असक्त वृद्घहरूका अनुहारका चाउरीबाट, विधवा चेलीहरूको रित्ता सिउँदोबाट एक एक गर्दै टिपेर देश बदल्ने त्यही खाका लिएर आएको छु ।
हेर, म तिम्रो दरबारको आँगनमा आइपुगेको छु ।
सत्ताको लागि मदारीले नचाएको बाँदरजस्तै जुनसुकै भाव र ढंगमा नाँचिरहेका छौ तिमी । निर्लिप्त भावमा नाचिरहेका छौ । नाचको हरेक स्टेपमा उता गाउँमा देशको आँखाबाट एक एक थोपा आँसु खस्छ । यता शहरमा देशको छातीमा आक्रोशको ज्वाला बल्छ । ताराहरूको प्रकाश मलीन हुन्छ । बलिदानको आकाशमा तिमीले छोडी हिंडेका तिनै ताराहरूको उज्यालो लिएर म आएको छु ।
थाहा छ–तिमी जुन धर्तीमा नाचिरहेका छौ, ठीक त्यही धर्तीमुनि ज्वालामुखीको अनन्त स्रोत छ । म त्यही ज्वालामुखीको ताप लिएर आएको छु । नाबालक ‘दिलबहादुर रम्तेल’को रक्तले सिंचिएर हुर्केका राता गुलाफहरूको एक गुच्छा बोकेर आएको छु । म आएको छु, ज्वालामुखीको अंश लिएर आएको छु ।
हेर, म तिम्रो दरबारको आँगनमा आइपुगेको छु ।
तिम्रा बिकासे डोजरहरूले गाउँ गाउँमा भत्काउँदै हिँडेका चौतारीहरू बनाउन गाउँलेहरूलाई हाँक हालेर आएको छु । चेतनाका तिनै चौतारीहरूमा मुक्तिगीतलाई फेरि गुञ्जाउने महान् सूचना लिएर आएको छु ।
दूर गाउँको इच्छाहरू टिप्दै हिँडेको इच्छा हुँ म । सुकुम्वासी बस्तीबाट उठेको आवाज टिपेर हिँडेको इच्छा हुँ म । पिँधका मानिसहरूको भरोसिला मिथकहरू संगालेर हिँडेको इच्छा हुँ म ।
म मुक्ति–इच्छाको आवृत्ति हुँ ।
पृथ्वीबाट दुःखको बीउ हटाउने इच्छाको अनवरत् पुनरावृत्ति हुँ ।
म तिम्रो राजधानी आइपुगेको छु । म तिम्रो दरबारको आँगनमा आइपुगेको छु ।