© २०२३
बजारमा तीजको रौनक सुरु हुँदैछ । तीजको अवसरमा बजारमा चहलपहल बढ्दै छ । तीजकै लागि महिला दिदी बहिनीहरु किनमेलमा ब्यस्त हुँदैछन् । तर, हरेक बर्ष तीज आउँदै गर्दा उपभोक्ताको ढाडै सेकिने गरि महंगीले पनि सिमा पार गर्ने गरेको छ । यो बर्षपनि यसको सुरुवात भारतीय बजारबाट भैसकेको छ । भारतले आईतबारमात्रै प्याज निर्यातमा कडाई गरेको छ । प्याज निर्यात गर्नैपरे ४० प्रतिशत अतिरिक्त कर लगाएको छ । अव नेपालमा प्याजको मूल्य बढ्ने निश्चित छ । प्याज चाडपर्वका लागि अति आवश्यक नभै नहुने सामाग्री हो । विगतका बर्षहरु जस्तै यो वर्ष पनि घुमीफिरी नेपालीहरुका चाडपर्व घरदैलोमै आईपुगेका छन । चाडपर्व आउँदा हरेक नेपालीमा खुसी र उमंग छाउनु स्वाभाविक हो ।
चाडपर्वमा रमाउने नेपाली परम्परा हो । चाडपर्वले खुसी नै लिएर आउँछन तर त्यो खुसी सवैका लागि उत्तिकै प्रिय नहुन सक्छन । यसपाली पनि चाडपर्व नजिक आएकै बेला महंगी संगै आएको छ । उता सुदूर पश्चिम क्षेत्रमा खाद्यान्न संकट सुरु भएको छ । चाडपर्व आउँदै गर्दा नेपाली बजारमा महंगी र सुदूर पश्चिममा खाद्यान्न संकट एकैसाथ आउँछन । अझै त्यसमाथि पनि एकसाथ उत्पन्न खाद्यान्न अभाव र प्राकृतिक प्रकोपले भयावहताको अवस्था सिर्जना गरेको छ । अर्कातर्फ पश्चिम क्षेत्रमा फैलिएको झाडा पखाला, लगायत रोगका कारण स्थानीय वासिन्दा पीडित बनेका छन् । अहिले मुख्य समस्या कालीकोट, रोल्पा, रुकुम डोल्पा, अछाम, जाजरकोट, दैलेख लगायतका क्षेत्रमा देखिएको छ ।
हरेक वर्षको नियती नै हो, जब चाडपर्व आउँछ तव उपभोक्ताहरु महंगीको मारमा पर्दछन । चाडपर्व नजिक आउँदै गर्दा जहिलेपनि महंगी सिमा बाहिर जाने गरेको छ । अर्थात सरकारको नियन्त्रणमा बजार हुँदैन । जति भनेपनि उपभोक्ताले महंगो मूल्यमा उपभोग्य सामाग्री खरिद गर्नुपर्ने बाध्यता रहिआएको छ । महंगी नियन्त्रण गर्ने सरकारी निकाय भनेको नेपाल राष्ट्र वैंक पनि हो तर उसले महंगी नियन्त्रण भन्दापनि बढाउने काम गरिरहेको छ । राष्ट्र वैंकले दुई महिनाअघि सार्वजनिक गरेको आर्थिक सुचकांकमा महंगी बढीमा सात प्रतिशतमा सीमित गर्ने योजना रहेपनि अन्ततः नेपाली जनता महंगीको कडा मारमा पर्न विवस भएका छन । सरकारले न महंगी नियन्त्रण गर्न सक्छ न त सुदूर पश्चिममा सुरु भएको खाद्यान्नको समस्या समाधान गर्न सक्छ । खाद्यान्नमात्र होइन बाढी पहिरोको प्रकोपले सुदूर पश्चिममा समस्या झनै विकराल भएको छ ।
दर्जनौं घर बिस्थापित भएका छन तर यो समस्याका विषयमा मानौं सरकर बेखवरकै अवस्था देखिएको छ । पश्चिमी क्षेत्रमा देखिएको खाद्यान्न संकटको अवस्थाले सबैलाई गम्भीर बनाएको छ । समय छँदै सचेत नहुने र समस्या समाधानमा चासो देखाउन भैरहेको ढिलाईले थप समस्या उत्पन्न हुन सक्छ । अव संघीय र सुदूर पश्चिम सरकारको यो विषयमा ध्यानाकर्षण होस् । महंगीका कारण बजार जानै नसक्ने अवस्थाको अन्त्य भन्दा पनि नियन्त्रण सम्भव छ । यसमा संघीय सरकारको महत्वपूर्ण भूमिका हुनुपर्दछ । सरकारको यो बिषयमा गंभीर ध्यानाकर्षण होस् । चाडपर्व नेपालीजनका लागि खुसी बनून । नेपाली महिला दिदी बहिनीहरुमाझ तिजको रौनक सुरु भैसकेको बेला यो चाडले खुसी लिएर आओस् । महिला दिदी बहिनीहरुको आँखामा आँशु होइन हाँसो भरियोस् । यो बर्षको तीज उमंगमय बनोस् ।