© २०२३
आज बुधवार ९ अगस्त अर्थात विश्व आदिवासी दिवस । नेपालमा पनि यो दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघले सन. १९९३ देखि प्रत्येक वर्षको अगस्त ९ लाई विश्व आदिवासी दिवस मनाउने घोषणा गरिए अनुसार विश्वभर आजकै दिनमा यो दिवस मनाउने गरिन्छ । आदिवासी दिवसकै कुरा गर्दा आदिवासीहरू अहिलेपनि अपहेलित जीवन विताउन बाध्य भएका छन । उनीहरू राज्यका विभिन्न निकायबाट तल पारिएका छन । राज्यका धेरै तहमा उनीहरूको पहुँच पुगेको छैन । सिमान्तकृत जीवन विताउन बाध्य उनीहरूको पुनरुत्थानका लागि संयुक्त राष्ट्रसंघले विभिन्न प्रोत्साहनका कार्यक्रम ल्याएको छ । उनीहरूको जीवन अभिबृद्धिका लागि अन्तर्राष्ट्रिय रूपमा चासो व्यक्त भैरहेको बेला सरकारीस्तरबाट पनि विभिन्न योजना र कार्यक्रम सार्वजनिक भैरहेका छन । खासगरी तल्लोस्तरमा जीवन विताउन बाध्य आदिवासीको रक्षा अहिलेको महत्वपूर्ण सवाल र चुनौति पनि हो ।
आदिवासीहरूले नै विश्वको ढुंगे युगको नेतृत्व गरे । त्यसलाई विकसित युगमा रूपान्तरित गर्न आदिवासीले खेलेको भूमिका महत्वपूर्ण रहेको छ । नेपालको मात्र होइन विश्वका आदिवासीले जीवन्त इतिहास बनाएका छन । प्राचीन युगको नेतृत्व गर्ने उनीहरू बर्तमानमा पनि नेतृत्वदायी भूमिकामा हुनुपर्ने हो तर अवस्था त्यस्तो रहेन । उनीहरूले सोही अनुसारको परिवर्तन र विकास गर्न सकेनन् । यो उत्तर अमेरिकी देशहरूको कुरामा मेल खान्छ । नेपालको अवस्था भने त्यस्तो छैन । आदिवासीहरूले समाजका विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन । देशको रक्षाको नेतृत्व उनीहरूले गरेका छन् । उनीहरूको हैसियत बढेको छ । तर सवै आदिवासी समान हैसियतमा छन भन्ने होइन ।
नेपालका सिमान्तकृत आदिवासीको जीवनस्तर कमजोर रहेको छ । उनीहरूको क्षमता बढाउनेतर्फ सोच्नु जरुरी छ । शिक्षा र स्वास्थ्यमा पहुँच नहँुदा उनीहरूको जीवनले परिवर्तनको गति समात्न सकेको छैन । तरपनि सरकारी तथा गैर सरकारी तहबाट उनीहरूको विकासमा धेरै काम भएको छ । धेरै काम हुन बाँकी छ । खासगरी जो कमजोर छन । जसको आर्थिक हैसियत कमजोर छ, राज्यको कुनैपनि निकायमा उनीहरूको पहुँच पुगेको छैन । त्यस क्षेत्रमा राज्यले संरक्षण दिनु जरुरी छ । आदिवासी दिवसको सन्देश पनि त्यही हो । आदिवासी दिवकै सन्दर्भको कुरा हुँदैगर्दा आदिवासी समुदायको भाषा र संस्कृतिको विकास गर्नु जरुरी छ । उनीहरूको भाषा संस्कृति लोप हुँदै गएको छ ।
अझै केही आदिवासीको पहिचान समेत गुम्दै गएको छ । उनीहरूको परम्परा पनि लोप हुँदै जान थालेका छन । तसर्थ लोप हुँदै गएका जनजातिको भाषा, संस्कृति र परम्परा संरक्षण गर्नेतर्फ आदिवासी समुदायको ध्यानाकर्षण हुनु जरुरी छ । आदिवासी दिवसको नारा यो बर्षका लागि पहिचान रहेकोले पहिचानको लागि पनि अव आदिवासीको ध्यानाकर्षण जरुरी छ । त्यसै त परिवर्तित विश्व समाजमा आदिवासी दिवसको नारा बिहंगम भैरहेको अवस्थामा दिवसलाई पनि बिशाल र बृहदस्तरमा मनाउनु जरूरी छ । अहिले आदिवासीहरूको पहिचान फेरिदै गएको छ । नेपालकै सन्दर्भमा कुरा गर्दा आदिवासीमा समावेश हुने जातिको संख्यामा बृद्धि भैरहेको छ । पछिल्लोसमय नेवार समुदाय समेत आदिवासीमा सूचिकृत भएको छ । थारू समुदाय तराईका आदिवासी हुन । अरू समुदायले समेत आदिवासीमा सूचिकृत हुने माग गर्दै आएका छन । आदिवासी दिवस मनाउँदै गर्दा पूर्वमा कोशी प्रदेशलाई किराँत प्रदेश नामकरण गर्न माग भैरहेको छ । आदिवासीका नाममा जातीय नारा किमार्थ स्वीकार हुनुहुँदैन । तसर्थ आदिबासी दिवस मनाउँदै गर्दा आदिवासीको अधिकार रक्षालाई पहिलो प्राथमिकता दिनुपर्दछ । तर, अधिकारका नाममा विद्वेष राम्रो होइन । फेरीपनि सम्पूर्ण आदिवासीहरूमा दिवसको शुभकामना ।