© २०२३
काठमाडौं,३ असार । प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ महिनाभित्र नागरिकता समस्या समाधान गर्छु भनेर गरेको प्रतिवद्धता पूरा नगरेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको वैठकमा बोल्दै सांसद घिमिरेले प्रधानमन्त्रीले आफैले निर्धारण गरेको समयभित्र समस्या समाधान नगर्दा वास्तविक नेपालीहरु कहिलेसम्म गैर नेपाली भएर बस्नुपर्ने हो भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । यस्तै स्वास्थ्य मन्त्रालयको लापरवाहीले दरबन्दी मिलान गरी कर्मचारी खटाउन नसक्दा २५२ वटा नगरपालिकाका करिब १० हजार स्वास्थ्यकर्मीहरु मध्ये कतिपयले ६ महिनासम्मको तलब नपाएको भन्दै सांसद घिमिरेले यो समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद घिमिरेले सामुदायिक विद्यालयका कर्मचारीहरु आन्दोलनमा रहेको भन्दै उनीहरुका जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए । यस्तै साविकका उच्च माविहरुमा नियुक्त भएका शिक्षकहरुको प्रकृया पूरा गरी दरबन्दी मिलान गर्न पनि सांसद घिमिरेले सरकारको ध्यानाकर्षण गराए । पहिलोपटक सांसद निर्वाचित घिमिरेले संसदमा बोल्ने पालो पाउंदा निरन्तररुपमा आम नागरिक र कर्मचारी, पेशा व्यवसायसंग जोडिएका ज्वलन्त समस्या उठान गर्दै निरन्तर सरकारलाई खबरदारी गर्दै आएका छन् ।