© २०२३
देवदह,१९ बैसाख । विद्यार्थीको शैक्षिक गुणस्तर थप राम्रो र अब्बल बनाउन देवदह माध्यमिक विद्यालय देवदहले विभिन्न निर्णय गरेको छ । विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा युवा व्यक्तित्व सुरज खरेल निर्वाचित भएर आएपछि विद्यालयको भौतिक पुर्वाधारसंगै शैक्षिक गुणस्तर राम्रो बनाउन प्राथमिकताका साथ काम भइरहेको विद्यालयले जनाएको छ ।
सोमबार बसेको विद्यालय ब्यवस्थापन समितिको बैठकले शुक्रबारका दिन हाफ विदा नगरी टिफिन टाईम पश्चात अतिरिक्त क्रियाकलाप संचालन गर्ने लगायतका निर्णय गरेको छ ।
यस्तै शुक्रबारका दिन पाँच दिन सम्म अध्यापन गराएको एकाइहरुको युनिट परीक्षा लिने, युनिट परीक्षाको लागि प्रत्येक विद्यार्थीहरुलाई विषयगतरुपमा कापि ल्याउन लगाई सोही कापिमा परीक्षा दिने र उक्त कापि कक्षा शिक्षकले विद्यालयमा नै सुरक्षित राख्ने निर्णय भएको छ । विद्यार्थीहरुलाई क्षमताको आधारमा तीन वटा समुहमा कमजोर, मध्यम र उच्च क्षमता भएको विद्यार्थीमा विभाजन गरी वर्गाीकरण गर्ने र कक्षा ५ देखि माथिका कमजोर विद्यार्थीहरुलाई जेठ १५ देखि विषयगत रुपमा शिक्षकहरुको समय तालिका बनाई दिनमा २ घण्टा अतिरीक्त कक्षा संचालन गर्ने निर्णय भएको अध्यक्ष सुरज खरेलले बताए ।
मध्यम स्तरका विद्यार्थीहरुलाई मंसिरको पहिलो हप्ता देखि अतिरीक्त कक्षा संचालन गर्ने र उच्च क्षमता भएका विद्यार्थीहरुलाई उनीहरुको आवश्यकता अनुरुप अतिरिक्त कक्षा संचालन गर्ने र अतिरीक्त कक्षा संचालनको ब्यवस्थापनको जिम्मा विद्यालयका सहायक प्रधानाध्यापकलाई दिने निर्णय भएको छ ।
देवदह नगरपालिकाको शैक्षिक क्यालेण्डरमा जे उल्लेख गरिएको भएता पनि विद्यालयले सो क्यालेण्डरलाई संशोधन गरी शनिवार बाहेकका अधिकांश विदाका दिनमा कक्षा संचालन गर्ने निर्णय गरेको छ । यस शैक्षिक सत्रको बर्षे विदा दशै तिहारको विदामा समायोजन गरिएको हुंदा यस पटक बर्षे विदा नगरिने तर शिक्षकहरुलाई अति आवश्यक विदा लिन परेमा प्र.अ.को पूर्व स्विकृती लिइ बढीमा छ (६) दिन विदा लिन सकिने र सो विदा बर्षे विदामा नै समायोजन गरिने विद्यालयले निर्णय गरेको छ ।
‘धेरै विदा हुंदा विद्यार्थीहरुको ध्यान पढाई भन्दा अन्यत्र जाने भएकाले विदा कटौति गरी पढाईलाई निरन्तरता दिने नयां अभ्यास थालनी गरेका हौं, यसले पक्कै पनि विद्यार्थीहरुको शैक्षिक गुणस्तर धेरै राम्रो हुने विश्वास गरेका छौं’–अध्यक्ष खरेलले भने ।