© २०२३
बुटवल,२८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी र सार्वजनिक क्षेत्रको समस्या समाधान नगरी अर्थतन्त्रमा देखा परेको दबाव कम गर्न नसकिने बताएका छन्।
मंगलबार उद्योग वाणिज्य महासंघको साधारणसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको समस्यालाई प्रभावकारी नबनाइकन अर्थतन्त्रमा देखा परेको अहिलेको ‘स्ट्रेस’ को सामना गर्न नसकिने बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले राजनीतिक उतारचढावका कारण अर्थतन्त्रमा केही असर देखा परे पनि सम्पूर्ण तागत अर्थतन्त्रलाई लयमा ल्याउन केन्द्रीत गरेको बताए।
तीन महिनाको अवधिमा विदेशी मुद्राको सञ्चितिको स्थिति सन्तोषजनक मात्र होइन विस्तारै उत्साहजनक हुँदैछ। हामीलाई झण्डै ११ महिना पुग्ने विदेशी मुद्राको सञ्चिति हामीसँग छ। रेमिटेन्सको सुरूको र अहिलेको स्थिति हेर्दा राम्रो सुधार भएको छ,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले यसअघि राजश्व संकलन एक अर्बभन्दा तल भए पनि पछिल्लो तीन महिनामा राजश्व संकलनको दर डेढ अरब भन्दा बढी रहेको बताए। उनले आफूहरू बैंकको व्याजदर कम गर्ने, राजश्व संकलन बढाउने लगायतका विषयमा सरकारका सबै अंगहरूसँग घनीभूत छलफल भइरहेको समेत बताए।