© २०२३
संभावित जोखिमको आँकलन, पहिचान र संभाव्यता अध्ययन विनाको लगानी बालुवामा पानी सरह हुने झुम्सा चरंगे सडक पछिल्लो उदाहरण बनेको छ । पाँच वर्ष अगाडि लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले उदघाटन गरेको यो सडकको अवस्था पहिलेको भन्दा बिग्रिएको छ भन्दा आश्चर्य मान्नुपर्दैन । बुटवल धागो कारखानादेखि मुढाबास चरंगे हुदै तिनाउ गाउँपालिकाको झुम्सा खण्डको २० किलोमिटर सडकमा लगानी भएको करिव २० करोड बढी लगानी डुबेको छ । पाँच बर्षअघि उदघाटन भएको सडकको अवस्था अहिले हेर्दा झनै बिग्रिएको छ । सडकको धेरै ठाउँमा पहिरोका कारण हिँडनै नमिल्ने गरी कन्तबिजोग छ । उक्त क्षेत्रमा काम गरेका सडककै इञ्जिनियर संभावित जोखिमको पहिचान नगरी लगानी गरिएकोले यो सडक अहिले भताभुंग भएको बताउँछन । अर्कोतर्फ यो सडक खण्डमा पर्ने चुरे पहाड अत्यन्त कमजोर छ । थोरै कम्पनमा पनि चुरे खस्किने अवस्था छ । कमजोर चुरेलाई चलाउँदा बर्षायाममा हिँडने अवस्था छैन । त्यसमाथि चुरे पहाडमा ठूला ठूला मेसिनको प्रयोग गरिएको कारण चुरेमा कम्पन भएको छ । बर्षामा त्यही कम्पन भएको ठाउँबाट पानी छिद्र बनाउँदै भित्र पसेर पहिरोको जोखिम निम्तिएको छ । विना भौगर्भिक अध्ययन विकासको काम गर्दा पहाडी क्षेत्रका धेरै सडकको नियति यो सडकले पनि भोगिरहेको छ । कमजोर चुरेमा डोजर चलाउँदा भूक्षय बढेको छ । त्यसले स्थानीय जनतालाई बर्षामा हिँडन समस्यामात्रै भएको छैन, मानवीय जोखिम पनि उत्तिकै बढेको छ । राष्ट्रिय गौरवको आयोजना यसरी जोखिममा पर्नु कसको कमजोरी हो ? यसको जवाफ सम्वन्धित निकायले दिनुपर्दछ ।
सम्भाव्यता अध्ययन बिनाको लगानी बालुवामा पानी सरह हुने यसअघि निर्माण भई असफल भएका विकास आयोजनाले पुष्टी गरिसकेका छन । यो सडकको अवस्था पनि त्यो भन्दा पृथक नहुने अवस्था छ । २० करोड रकम खर्च भैसकेको यो सडकमा अव अरु रकम थपेर जोखिम निम्त्याउने काम भन्दा बिस्तृत अध्ययन प्रतिवेदनमार्फत जोखिम बहन गर्नु श्रेयष्कर हुन्छ । स्थानीय जनताको गाउँघरसम्मै मोटर आउला र घर आँगनबाटै मोटर चढेर सहर जाउँला भन्ने सपना थियो तर यो सडक बरदान भन्दा पनि उनीहरुकै लागि अभिषाप बनेको छ । अर्कोतर्फ सडक निर्माण हुनुभन्दा पहिले पहिरोको समस्याबाट मुक्ति पाएका स्थानीय मोटर बाटो खन्न थालेपछि पलाएको आशा पहिरोको जोखिमले निरासामा परिणत गरिदिएको छ । स्थानीय जनताले यो सडक बिकासको लागि भन्दा विनासको लागि निर्माण गरिएको महसुस गर्नुपरेको छ । बिस्तृत सभ्भाव्यता विना गरिएको लगानी निराशामा टुंगिन समय लाग्दो रहनेछ भन्ने स्पष्ट भएको छ । स्थानीय बासिन्दा गाउँघरका उत्पादन विक्री गर्न बुटवल र झुम्सा बजार झर्थे तर अव बर्षाको बेला गाउँको उत्पादन कुहिने चिन्ता छ । स्थानीय जनतामा पहिरोको त्रास छ । दुई खण्डमा बिभाजित यो सडकको काम नभएको होइन तर काम गरे जस्तो पनि हुन सकेन । अहिलेसम्म रुपन्देही खण्डको धागो कारखानादेखि चौकी भञ्ज्याङसम्म १३ किलोमिटरमा पुल कल्भट निर्माण गर्दा २० करोड रुपैया सकिएको छ । उक्त सडक खण्डको केही भाग राम्रो पनि छ तर जोखिम क्षेत्रको पहिचान नगर्दा गरिएको लगानी बालुवामा पानी भएको छ । बिस्तृत अध्ययन प्रतिवेदन विना हचुवामा गरिएको लगानीबाट अव पाठ सिक्नुपर्ने भएको छ । प्रदेशकै गौरवमध्येको एक यो आयोजना अव के हुन्छ ? अन्यौल छ । त्यसमाथि प्रदेश सरकारको २० करोड रुपैया खर्च भैसकेको छ । आयोजना सुरु गर्नुपूर्व सम्भाव्यता अध्ययन नगर्दाको परिणामको नियति हो भन्दा अत्युक्ति नहोला । अव जनताको सहानुभूति बटुल्ने नाममा हतारमा र विस्तृत सम्भाव्यता अध्ययन बिना विकासमा लगानी गर्नु हुँदैन भन्ने यो सडक उदाहरण बनेको छ । प्रदेश सरकारले यो सडकबाट पाठ सिकोस् ।