© २०२३
रुपन्देहीस्थित बुटवल उद्योग बाणिज्य संघले यही फागुन २ देखि ६ गते सम्म कृषि मेला २०७९ सम्पन्न ग¥यो । संघले आयोजना गरेको यो विशिष्टिकृत कृषि मेला एघारौं सस्करण हो । २०६२ सालमा फागुन ८ देखि १० गते सम्म पहिलो पटक कृषि मेला आयोजना गरेको थियो संघले । जसमा ३३ वटा कृषि सम्बन्धी प्रतिष्ठान सहभागी भएका थिए । त्यसपछि २०६४ सालमा फागुन २५ देखि २८ गते सम्म दोस्रो संस्करण आयोजना गरियो । जसमा ४२ वटा प्रतिष्ठान सहभागी भएका थिए । त्यसैगरी २०६६ सालको फागुन १२ देखि १६ गते सम्म तेस्रो संस्करण आयोजना गरिएको थियो । जसमा ५८ वटा प्रतिष्ठान सहभागी भएका थिए । २०६८ माघ १४ देखि २१ गते सम्म चौथो संस्करण आयोजना गरियो । जसमा १ सय २४ वटा प्रतिष्ठान सहभागी थिए । २०६९ माघ २६ देखि २९ गते सम्म पाँचौ संस्करण आयोजना गरियो । जसमा १ सय २५ वटा प्रतिष्ठान सहभागी भएका थिए । २०७१ साल माघ २२ गते देखि २७ गते सम्म छैठौं संस्करण आयोजना गरिएको थियो । जसमा १ सय २५ वटा प्रतिष्ठान सहभागी भएका थिए । २०७२ माघ २२ गते देखि २७ गते सम्म सातौं संस्करण आयोजना गरिएको थियो । जसमा १ सय ३५ प्रतिष्ठान सहभागी भएका थिए । २०७४ सालको फागुन ३ गतेदेखि ७ गते सम्म आठौं संस्करण आयोजना गरिएको थियो । जसमा १ सय ३१ वटा प्रतिष्ठान सहभागी भएका थिए । २०७५ सालमा माघ २१ देखि २६ गते सम्म नवौं संस्करण आयोजना गरियो । जसमा १ सय २६ वटा प्रतिष्ठान सहभागी भएका थिए । २०७७ सालमा कोरोना महामारीका कारण श्रृङ्खला रोकियो । २०७८ चैत १० देखि १४ गते सम्म दशौं संस्करण आयोजना गरियो । जसमा ५१ वटा प्रतिष्ठान सहभागी भएका थिए । २०७९ को एघारौं संस्करणमा पनि ५१ वटा प्रतिष्ठान सहभागी भएको तथ्याङ्क छ । संघले २०६१, २०६३, २०६५, २०६७, २०७०, २०७३ र २०७६ सालमा आयोजना गरेको वृहत औद्योगिक व्यापार मेलामा पनि कृषि सम्बन्धी अलग्गै क्षेत्र स्थापना गरी कृषि प्रदर्शनीको कार्यक्रम समावेश गरिएको थियो । संघले २०६१ सालमा आयोजना गरेको वृहत औद्योगिक व्यापार मेलामा कृषि सम्बन्धी पतिष्ठानहरुको उत्साहजनक सहभागिता भएपछि बुटवलमा अलग्गै कृषि मेलाको सम्भावना देखिएकाले २०६२ सालमा संघले कृषि मेलालाई विशिष्टिकृत मेलाको रुपमा अघि बढाउने लक्ष्यका साथ पहिलो कृषि मेला आयोजना गरेको थियो । यहाँ मेलाको सबै इतिहास तथा तथ्याङ्क समावेश गर्नुको उद्देश्य मेलामा सहभागिताको अवस्था विश्लेषण गर्न सजिलो होस् भनेर हो ।
२०७९ सालको कृषि मेला लुम्बिनी प्रदेश सरकारको कृषि तथा भूमी व्यवस्था मन्त्रालय र बुटवल उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा भएको हो भने प्रवद्र्धकमा लुम्बिनी प्रदेश सरकारको कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय रहेका थिए । यस्तै नेपाल उद्योग बाणिज्य महासंघको कृषि उद्यम केन्द्र र नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश एवं बुटवल, तिलोत्तमा, सिद्धार्थ र सैनामैना नगरपालिका पनि प्रबद्र्धक रहेका थिए । यो मेलाको उद्देश्य आधुनिक कृषि प्रविधि, कृषि औजार र मेसिनरी सम्बन्धी जानकारी कृषकलाई दिई आधुनिक कृषि उत्पादन सम्बन्धी प्रविधि हस्तान्तरण गर्ने । कृषिबस्तु उत्पादन एवं बजारीकरणमा सहयोग पु¥याउने र प्रयोगका लागि जनचेतना फैलाउने । कृषि क्षेत्रको व्यवसायीकरण एवं आधुनिकीकरणमा सहयोग पु¥याउने । उत्पादित कृषि उपजको सुरक्षित र मुनाफायुक्त बजारको पहिचान गराई उत्पादक र क्रेताबीच समन्वय गर्ने । यस क्षेत्रमा खपत हुने दुग्धजन्य, मासुजन्य, फलफूल जन्य, तरकारी जन्य तथा तुलनात्मक एवं प्रतिष्पर्धी क्षमता भएका अन्य कृषि उपजहरुको व्यावसायिक उत्पादनतर्फ उन्मुख गराउने । प्राङ्गारिक कृषि बस्तुको फाइदाबारे सुसूचित गर्ने । कृषिमा आधारित उद्योगमा लगानीकर्ता आकर्षित गर्ने । विशिष्टीकृत मेलाहरुलाई स्थापित गर्ने आदि यो मेलाको उद्देश्य रहेको संघको भनाई छ ।
यो मेलाको आयोजकमा लुम्बिनी प्रदेश सरकारको कृषि मन्त्रालयको सहभागिताले यसको महत्व र औचित्य स्वतः पुष्टि भएको छ । सरकारले निजी क्षेत्रसँगको सहकार्यमा कृषिलाई व्यवसायीकरण तथा बजारीकरण गर्न एवं उत्पादन वृद्धि गराउन चाहेको स्पष्ट हुन्छ । एकातर्फ सरकार र निजी क्षेत्र मिलेर कृषिको प्रबद्र्धन गर्न सक्रिय छन् भने अर्कोतर्फ यस क्षेत्रमा कृषिको उत्पादन घटिरहेको छ । किसानहरु घटिरहेका छन् । तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणका अनुसार जग्गाको वर्गीकरणमा कित्ताकाटको लागि अनुरोध गर्दा कृषि क्षेत्रका लागि जग्गा वर्गीकरण गर्न तिलोत्तमा नगरपालिकामा एउटै निवेदन परेन । तिलोत्तमा जस्तो उर्वर कृषियोग्य जमिन भएको ठाउँमा एउटा किसान नहुनु दुःखद पक्ष हो । त्यसैगरी बुटवल उपमहानगरपालिकाको वडा नम्बर १ देखि १३ सम्म र १८ एवं १९ वडामा एउटै निवेदन परेन । १४ नम्बर वडामा १३ जना, १५ मा ११ जना, १६ मा २८ जना र १७ मा १ जना किसानको मात्र कृषियोग्य जमिनका लागि कित्ताकाटको लागि निवेदन परेको तथ्याङ्क बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताए । त्यसैगरी सैनामैना नगरपालिकामा पनि जग्गा वर्गीकरणमा कित्ताकाटका लागि किसानका निवेदन अत्यन्त न्यून परेको मेयर फणिन्द्र शर्माले बताए । विगतमा अन्न भण्डार भनेर कहलिएका बुटवलको मोतिपुर, सेमलार, फर्साटिकर क्षेत्र र तिलोत्तमा एवं सैनामैना क्षेत्रमा किसान नभेटिनु दुःखद् पक्ष हो । यो क्षेत्र अब शहरीकरण भईरहेकाले किसान नभेटिएका हुन् । एकातर्फ किसानको उत्पादन बढाउने भनी हामीले कृषि मेलाको आयोजना गरिरहेका छौं भने अर्कोतर्फ मेला स्थल एवं मेलाका प्रबद्र्धकहरु रहेको क्षेत्रमा किसानहरु नै छैनन् । यसकारण अब यो कृषि मेलाको सन्दर्भमा नयाँ सोँच विचार र नीति बनाउन जरुरी देखिन्छ । पछिल्लो अवधिमा मेलामा प्रतिष्ठानको सहभागिता पनि घट्दै गएको तथ्याङ्कले देखाएको छ । यद्यपि मेलालाई निरन्तरता दिनु पर्छ । यसको आयोजना गर्ने तौरतरिका र सहभागिताको विषयमा नयाँ सोच र शैलीको आवश्यक देखियो । मेलामा सहभागी अवलोकनकर्ता र व्यापारको अवस्था विश्लेषण गर्दा भने उत्साहजनक स्थिति देखिन्छ । २०७९ को एघारौं श्रृङ्खलामा २५ हजार अवलोकनकर्ता सहभागी भई २० लाख रुपैयाँको कारोवार भएको अनुमानित तथ्याङ्क छ । यो निराशाजनक अवस्था हैन, उती उत्साहजनक अवस्था पनि होइन । कृषि मन्त्रालयको तथ्याङ्कले नेपालमा कुल जनसंख्याको ६० प्रतिशत किसान भएको बताउँछ तर कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान जम्मा २५ प्रतिशत रहेको छ । त्यस्तै निर्यातको तुलनामा कैयौ गुणा बढी आयात हुन्छ । नेपालले चिया, जुत्ता, कार्पेट, अदुवा, मह, औषधीजन्य विरुवा, पस्मिना, चाँदीका गहना आदि निर्यात गर्दछ । जनसंख्याको ६० प्रतिशत कृषिमा संलग्न भएको तथ्याङ्क भएपनि वास्तवमा यो संख्या सही होइन । पेशा किसानको लेखिए पनि मानिसहरु कृषिमा संलग्न छैनन् । तराईमा तीव्र शहरीकरण भईरहेकाले उत्पादन घटिरहेको छ भने पहाडमा बसाई सराईले बस्ती, पाखा पखेरा, खेत खाली हुँदै गईरहेका छन् । जग्गाहरु बाँझो बनिरहेका छन् । तराई र पहाड दुबै क्षेत्रमा निराशाजनक अवस्था छ, कृषि उत्पादनको । युवाहरु विदेश पलायन र सहरी क्षेत्रमा बसाई सराईको कारण कृषि उत्पादनको अवस्था ज्यादै निराशाजनक देखिन्छ । पहाडका मलिला बेंसी र मकै, गहुँ उत्पादन हुने पाटाहरु बाँझिईरहेका छन् । तराईमा उब्जाउ फाँट कंक्रिटको जंगलले भरिभराउ भईरहेका छन् । यो निराशाजनक चित्र बदल्नु जरुरी छ । फेरि कृषिमा जागरण ल्याउनु पर्छ । बुटवलमा आयोजना हुने कृषि मेलाको कार्यक्रमले कृषि क्षेत्रमा थोरै भएपनि जागरण ल्याएको छ । पशुपन्छी पालन फार्महरुको वृद्धि भएको छ । दुग्ध व्यवसाय फस्टाएको छ । गाई, भैसी, कुखुरा, बंगुर, कालिज आदी पालनका फार्महरु दिनहुँ बढीरहेका छन् । खाद्यान्नहरु धान, गहुँ, मकै, कोदो, फापर, आदीको उत्पादन भने वृद्धि हुन सकेको छैन । फलफूल, तरकारी, फ्लोरिकल्चर, माछा उत्पादन भने बढिरहेको छ । बुटवल उद्योग बाणिज्य संघले बजारमुखी कृषि प्रणालीको माध्यमबाट बुटवललाई नेपालको प्रमुख थोक तरकारी तथा फलफूल विक्रि केन्द्रको रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ । कृषि प्रशोधन केन्द्रको रुपमा बुटवललाई विकास गर्ने परिकल्पना संघको रहेको छ । अदुवा, कफी, तरकारी, सुन्तला, जडीबुटी जस्ता निर्यातजन्य कृषि उपजको संकलन केन्द्रको रुपमा बुटवललाई विकास गर्ने लक्ष्य संघको छ । पुर्व पश्चिम राजमार्ग र प्रस्तावित उत्तर दक्षिण राजमार्गको मध्यविन्दुमा अवस्थित सहर बुटवल प्राचिन कालदेखि नै मानिसहरुको जमघट र व्यापारिक क्रय विक्रयको केन्द्र हो । पहिले यो घिउ, राडीपाखी, काम्ला आदि उनीजन्य उत्पादन र जडिबुटीसँग नुन तेलको साटासाट गर्ने पश्चिम नेपालको प्रमुख केन्द्र हो । विगतको यही गौरवमय इतिहासको पदचापलाई पछ्याउँदै अब पनि कृषि उपजको संकलन र निर्यात केन्द्रको रुपमा बुटवललाई विकास गर्नुपर्छ । सरकारले यही तथ्यलाई मनन गरी विगतमा बुटवलमा कृषि उपज थोक बजार केन्द्र स्थापना गरेको थियो । यसको सफलताबाट उत्साहित भएर सरकारले बुटवल उपमहानगरपालिका १५ कर्साघाटमा शितभण्डार सहितको कृषिमण्डी निर्माण गर्ने प्रस्ताव अघि बढाएको छ । यस्ता मण्डी र थोक बजार केन्द्र नेपाली उत्पादनले भरिभराउ हुनुप¥यो । आयातित उत्पादनको विक्री वितरण केन्द्र बनाइनु भएन । तब मात्रै यस्ता मण्डी र केन्द्रको औचित्य सावित हुनेछ ।
बुटवलमा आयोजना गरिने कृषि मेलालाई अब पुनर्विचार र मूल्याङ्कन गर्नुपर्ने भएको छ । यसको औचित्य र आवश्यकता छ तर अब यसको आयोजना गर्ने तौरतरिका र योजनामा नयाँ साेंच र शैली अपनाउनु पर्ने देखिएको छ । अब यसलाई बुटवल, तिलोत्तमा, सैनामैनाको मात्र मेला नभई पश्चिम नेपालको सबै जिल्लाको सहभागीता हुने गरी बृहत रुपमा आयोजना गरिनु पर्छ । थप फराकिलो सोच र योजना बनाउनु आवश्यक भएको छ । यसलाई साँच्चै विशिष्टिकृत मेलाको रुपमा ब्राण्डिङ्ग गर्नुपर्छ । यसलाई अब यस्तो मेलाको रुपमा विकास गर्नुपर्छ, जहाँ पश्चिम नेपालका सबै जिल्लाबाट किसान, कृषि व्यापारी, योजनाविद, पत्रकार र उपभोक्ताहरु मेला अवलोकन गर्न आउने हुनुपर्छ । अस्तु ।