© २०२३
बुटवल, ५ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ शंकरनगरस्थित एपेक्स स्कुलमा अगोरा युवा कार्यक्रम सम्पन्न भएको छ । अगोरा इन्टरनेशनलको आयोजनामा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि एक साता यो कार्यक्रम आयोजना गरिएको हो ।
विद्यार्थीहरु मध्येबाट २५ जनाको ग्रुप बनाएर संस्थाका अन्तराष्ट्रिय एम्बेस्डर क्यानडाका फ्रेड जोन्सले एक सातासम्म प्रशिक्षण दिएका हुन् । यो कार्यक्रमले युवा विद्यार्थीहरुलाई सशक्तिकरण गर्नका लागि सहयोग गर्नेछ । साथै युवा वर्गमा उत्कृष्ट संचार कौशल, सुन्ने सिप तथा क्षमता र समालोचनात्मक सोचाइ क्षमताको विकास गरी राम्रो संसार निर्माण गर्ने छ ।
‘नेपालभरका युवाहरुमा उल्लेखनीय प्रभाव पार्ने सम्भाव्यता रहेको यस पहलको एक हिस्सा हुन पाउँदा म हर्षित छु ।’ फ्रेड जोन्सले भने, ‘म युवा शक्ति र संसारमा फरक पाने तिनीहरुको क्षमतामा दृढ विश्वास गर्छु । यो कार्यक्रमले उनीहरुलाई आफ्नो सीप विकास गर्न र आफ्नो लक्ष्य हासिल गर्न आवश्यक पर्ने सहयोग र समर्थन प्रदान गर्नेछ ।’
कार्यक्रमले युवाहरुलाई प्रभावकारी सञ्चार, समालोचनात्मक सोच र नेतृत्व क्षमताहरु जस्ता महत्वपूर्ण जीवन उपयोगी सीपहरु विकास गरेर सशक्तिकरण गर्ने लक्ष्य राखेको विद्यालयका प्राचार्य दीपक गौतमले जानकारी दिए । विद्यालयमा यो कार्यक्रम प्रयोगात्मक रुपमा निरन्तर सञ्चालन गरीने उनले बताए ।
साथै कार्यक्रमले युवाहरुलाई आवश्यक साधन स्रोतमा पहुँच प्रदान गरेर, उनीहरुको समुदायमा नेतृत्व प्रदान गर्न, उनीहरुको आफ्नो जीवनमा तथा उनीहरु वरपरका मानिसहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने बनाउने अपेक्षा गरीएको छ ।
यो कार्यक्रम पहिलो चरणमा १२ सहरका १२ विद्यायलयहरु मार्फत प्रत्येक सहरका २०–२५ विद्यालय सम्म पुरÞ्याइने छ । काठमाडौं, बुटवल, कैलाली, सुर्खेत, चितवन, पोखरा, दमक लगायतका विभिन्न विद्यायलयका विद्यार्थीहरुलाई प्रशिक्षण दिइने छ । देशभरका विद्यार्थीहरुलाई अगोरा इन्टरनेशनलका एम्बेसडर फ्रेड जोन्सले प्रशिक्षण दिनेछन् भने, नेपालमा यो कार्यक्रमको संयोजन अन्तराष्ट्रिय एम्वेसडर रवि भट्टराईले गरेका छन् ।