© २०२३
पुरुषले महिलाको भेषमा नाच्ने कलात्मक सोरठी नाँच सल्यान जिल्लाको पहिचान हो । तर यो नाँच पछिल्लो समय हराउँदै गएको छ । लोप हुने अवस्था सम्म नै पुगेको छ । पहिले पहिले दशैँ, तिहार, मेला, पर्व, विवाह, ब्रतबन्ध आदिमा यो नाच प्रस्तुत हुन्थ्यो । पछिल्ला पुस्ताले त सोरठी कुन चराको नाम हो भनेर सोध्लान् जस्तो भइसकेको छ ।
यद्यपि सोरठी नाच कुनै कुनै गाउँमा जीवितै छ । जिल्लाको पिमखोला, हिवल्चा, दमाचौर, त्रिवेणीको पोखरि, चैवाङ, मार्के, धनवाङ जस्ता क्षेत्रमा यो नाच केहि बुढापाकाले बचाइरहेको छन् । यस्तै सल्यानको गाँडापानीमा दलित समुदायले यो नृत्यलाई संरक्षण गरेर राखेका छन् ।
पिमखोलाबाट सोरठी नाच सिकेको जनाउँदै ७५ वर्षिय श्यामलाल विकले यसपालिको तीहार र दशैँमा सोरठी नाच गाउँमा नाचिएको बताए । यस्तै गाँडापानीकै रामलाल विकले हरेक वर्ष आफ्नो गाउँमा सोरठी नाचिने र पछिल्ला युवा पुस्तालाइ पनि हस्तान्तरण गर्ने कार्य चलिरहेको जनाए । लामो इतिहास बोकेको मौलिक तथा अत्यन्तै लोकप्रिय सोरठी नाचको बारेमा र यसको संगीत र लयको बारेमा पछिल्लो पुस्तालाइ पनि जानकारि हुन आवश्यक रहेको सोरठीका संरक्षणकर्ता तथा वरिष्ट वाध्यवाधक खर्क बहादुर बुढा बताउँछन् ।
्यस जिल्लाको सोरठी निकै लोकप्रिय मानिन्छ । केटा मान्छे केटिको पहिरनमा नाच्ने सोरठी सल्यानको विशेष संस्कृती र कला हो । यसमा मारुनी, पुरुसुङे, मालदे तथा नचारुहरूको बेजोड प्रस्तुतीले जो कोहिको पनि मन लोभिन्छ । यसर्थ सोरठी नाच पनि सल्यानीको धरोहर र पहिचान हो । बुढा भन्छन्, ‘थाहै नपाई नेपाली संस्कृति र मौलिकता लोप हुने अवस्था पनि आइसकेको छ । त्यसैले यस तर्फ सचेत हुनु पर्छ ।’
गाँडापानीका युवा छेत्र बहादुर विकले यो तीहारमा सबैले एकै खाले पोषाक व्यक्तिगत रूपमा किनेर लगाइ सोरठी नाचिएको बताए । उनले भने, ‘हामी हाम्रा मौलिक संस्कृती हराउने स्थीतीमा नजाउन भनेर संरक्षणमा जुटेका छौँ । संस्थाकै रूपमा दर्ता भएर सोरठी तथा वनगाडी नाच जगेर्ना गर्ने अभियानमा लागेका छौँ ।’ सोरठीकै संरक्षणका लागी भन्दै गाँडापानीका युवक धन बहादुर विकले मारुनीका लागी दुई जोड पोषाक समेत सहयोग गरेका छन् ।
कस्तो छ सल्यानको सोरठी ?
सल्यान जिल्लामा नाचिने सोरठीमा दुइ जना मारुनी र एक जना पुरुसुङे हुन्छन् । केटा मान्छे नै केटिको पहिरनमा मारुनी बनेका हुन्छन् । यस्तै यस नाचमा तीन जना मादले हुन्छन् । सल्यानको हकमा हेर्ने हो भने क्षेत्रीहरूको सोरठी नाचमा सहभागीता केहि बढि देखिन्छ । सोरठीमा मारुनीले घाँगर, चोली, धरो, रुमाल, गाउँघरतीर पाइने वनस्पछि केतुकीको कपाल, चुरा, पोते, टिका आदि लगाउने गर्छन् । पुरुसुङेले दौरा सुरुवाल, स्टकोट लगाएको हुन्छ भने कम्पनी माला र शिरमा सेली पहिरिएको हुन्छ ।
सोरठीका विभिन्न चरणहरू रहेका हुन्छन् । सल्यानमा ५२ चरण गाउने गरेको पाइन्छ । तर पछिल्लो समय यो घटेर १२ देखि १५ चरण सम्म सिमीत रहेको वरिष्ठ बाध्यबाधक खर्क बुढाले बताए । उनले भने, ‘शुरुको चरणलाइ समेर्ने चरण भनिन्छ । सोरठी नाचमा दैवीय शक्ति छ भन्ने पनि विश्वास गरिन्छ । किन की शुरुको चरण समेर्ने चरणमा केहि व्यक्ति काँप्ने गर्छन् । समेर्ने चरणमा सरस्वती लगायतका देवीदेवतालाइ पुकार्ने भएकाले सरस्वती चढ्ने व्यक्ति काँप्ने गर्दछन् ।’ नाच अन्त्य गर्दा नियम अनुसार मारुनी, पुरुसुङे, मादले लगाएतकाले आफुले पहिरिएका नाचका पोषकहरू नाच्दै क्रमै संग फुकाल्ने गर्दछन् ।
दिनभरको थकान मेट्न तथा मनको भावना पोख्न सोरठी नृत्य गर्ने गरिन्छ । समाजमा सानो, ठूलो, जातभात, धनी गरिव नभनिकन सबै मिलेर गाइने र नाचीने सोरठी नाचले सामाजिक सद्भाव र एकतालाइ बलियो बनाउन महत्वपूर्ण भुमिका खेलेको छ भन्नुहुन्छ बुढा ।
पछिल्ला दिनहरूमा रोजगारीको शिलशिलामा युवाहरू विदेश पलायन हुने वाध्यताले पनि गाउँका यी लोकप्रिय नाचहरू पनि विस्तारै हराउँदै जान थालेको आभाष हुन्छ । केहि स्थानीय तहहरूले सल्यानमा मौलिकता जोगाउन सानो सानो प्रयास गरेको देखिन्छ । तर पर्याप्त छैन । लोप हुनु भन्दा अगाडि नै जगेर्ना गर्ने जमर्को नगरे भोलि लोप भएर गइसकेपछि केही गर्न सकिन्न । यसका लागी सरकारि तवरबाट र कला संस्कृती संग सम्बन्धीत निकायले चासो देखाउन र पहल गर्नु जरुरी छ । पछिल्ला सन्ततीहरू पनि सोरठीको खोजीमा र यो नाच सिक्न तर्फ अग्रसर हुनुपर्छ ।