© २०२३
बुटवल, १९ माघ ।
हरेक वर्ष सरकारले नीति तथा कार्यक्रममा कृषिमा आत्मनिर्भर हुने प्रतिवद्धता गर्छ । सोही अनुसार बजेट विनियोजन पनि हुन्छ । त्यसमा पनि कृषिमन्त्री फेरिएसँगै आउने नयाँ मन्त्रीले कृषिमा आत्मनिर्भर हुने भाषण गर्ने प्रचलन नयाँ होइन । तर तथ्यांक हेर्दा भने डरलाग्दो छ । बेलहिया नाकाको मात्रै कुरा गर्ने हो भने पनि सामान्य कृषि उपजसमेत भारतसहित तेस्रो मुलुकबाट आयात हुँदा नेपाली भान्छा आयातकै भरमा चलेको छ । यसबाट मुलुकको परनिर्भरता झनै बढ्दै गएको छ । रुपन्देहीको बेलहिया नाकाबाट गत ६ महिनाको तथ्यांकलाई आधार मान्दा प्जादेखि लसुनसम्म र फलफूलदेखि तरकारीसम्मको ठूलो परिमाण भारतबाटै आयात भैरहेको छ ।
एकातिर आयात बढ्दै जाँदा परनिर्भरता झन् बढेको छ भने निर्यात व्यापार लगातार खस्किंदै गएको छ । मुलुकमा निर्यातयोग्य सामानको उत्पादन नहुँदा निकासी खुम्चिरहेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म बेलहिया नाका हुँदै एक खर्ब १७ अर्ब ४२ करोड रुपैयाँको ब्यापार भएको भैरहवा भन्सार कार्यालयको तथ्यांक छ ।
कुल ब्यापारमध्ये चार अर्ब ४९ करोड मूल्य बराबरको सामान नेपालबाट भारत तथा तेस्रो मुलुक निकासी भएको छ । जुन कुल ब्यापारको ३.८२ प्रतिशत हो । जबकी आर्थिक वर्षको ६ महिनामा भारत तथा अन्य मुलुकबाट बेलहिया नाका हुँदै आयात भने एक खर्ब १२ अर्ब ९३ करोड छ । जुन कुल ब्यापारको ९६.१८ प्रतिशत हो ।
सरकारले प्याज, लसुन र आलुमा पनि मुलुकलाई परनिर्भर बनाउँदै लगेको छ । भान्छामा उपभोग हुने झन्डै सम्पूर्ण कृषिजन्य पदार्थ आयात हुँदा कृषिप्रधान मुलुक भन्न पनि लाजै लागेर आउने कृषिविज्ञहरु बताउँछन् । निर्यातको तुलनामा आयातदर उच्च परिमाणमा बढेको छ ।
भन्सार कार्यालयको तथ्यांकअनुसार मुलुकमा आयात गरिएको वस्तुमध्ये एक खर्ब चार अर्ब ४४ करोड रुपैयाँ अर्थात् कुल ब्यापारको ९२.४८ प्रतिशत आयात भारतबाट मात्रै भएको छ । तेस्रो मुलुकबाट आठ अर्ब ४९ करोड भएको छ । जुन ७.५२ प्रतिशत हो । निर्यात भारतमा चार अर्ब ४४ करोड रुपैयाँ अर्थात् कुल निकासीको ९८.८९ प्रतिशत भएको छ । तेस्रो मुलुकमा भने पाँच करोड अर्थात् १.११ प्रतिशत मात्रै नेपालबाट सामान निर्यात भएको प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले जानकारी दिए । यो अवधिमा सबैभन्दा बढी सेन्थेटिक यार्न एक अर्व ४७ करोड ९७ लाख १३ हजारको निर्यात भएको छ भने दोस्रोमा खजुरको प्रशोधित तेल ४९ करोड ७७ लाद ८१ हजारको निर्यात भएको छ ।
भन्सारका अनुसार सबैभन्दा धेरै तरकारी सुनौली÷बेलहिया नाकाबाट आयात हुने गर्छ । जसले नेपालीको भान्छा भारतकै भरमा चलिरहेको देखाउँछ । “बेलहियाबाट निर्यातको तुलनामा आयात कयौं गुणा बढी छ, यसले मुलुकलाई थप परनिर्भरतातर्फ धकेलिरहेको देखिन्छ”, प्रमुख भन्सार अधिकृत पौडेलले भने, “निकासीयोग्य बस्तु उत्पादनमा बृद्धि गरी आयात प्रतिस्थापनमा ध्यान दिन जरुरी देखिन्छ ।” अर्थशास्त्रीहरुले पनि सरकारले आयात प्रतिस्थापनमा ध्यान नदिने हो भने मुलुक केही वर्षमै शतप्रतिशत परनिर्भर हुने चिन्ता व्यक्त गर्छन् ।
रुपन्देहीको बेलहिया (भैरहवा) नाका हुँदै जीप, कार, भ्यान, मोटरसाइकल, पिकअप तथा डेलिभरी भ्यान, एमएस विलेट, हाइस्पिड डिजेल, ट्रक तथा मिनी ट्रक, मोबाइल, अटोरिक्सा, टेम्पो, ग्लेज टाइल, पत्थर कोइला, डिजेल–पेट्रोल लगायतका बस्तुहरु अत्यधिक आयात हुने गर्छन् । यस्तै, दैनिक उपभोग्य सामान, सानादेखि ठूला उद्योगसम्मका कच्चा पदार्थहरु आयात भइरहेको छ । फलफूलदेखि तरकारीसम्म भारतको भर पर्नुपर्दा आयात आकासिंँदै गइरहेको छ भने मुलुकको ठूलो रकम बाहिरिरहेको छ ।
भैरहवा नाका हुँदै सेन्थेटिक यार्न, खजुरको प्रशोधित तेल, पिना, खोटो रोजिन, चोकर, भुस, चाउचाउ, नुडल्स, पास्ता, काँच र डण्डी ट्युवहरु, अदुवा, सुठो, वनस्पति उत्पादनहरु, जडिबुटी लगायतका सामान भारतलगायत तेस्रो मुलुक निर्यात हुने गरेको छ । यी सामान पनि आयातको तुलनामा निकै कम निकासी भइरहेको छ ।
व्यापार घाटा कम गर्नका लागि खाद्यान्न आयातमा कडाई गर्नुपर्ने सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने बताउँछन् । “निर्यातमुखी उत्पादनमा जोड दिएमात्रै आयात कम गर्न सकिन्छ र व्यापार घाटा कम हुन्छ”–उनले भने ।
विगत केही वर्षको तथ्याँकलाई हेर्दा नेपालबाट निर्यात भई रहेका प्रमुख वस्तुहरुमा पोलिष्टर तथा अन्य धागो, फलाम तथा स्टील र तिनका उत्पादनहरु, ऊनी गलैचा, तयारी पोशाक, जुट तथा जुटका उत्पादन, जुस, चिया, टेक्सटाइल, अलैंची, पश्मिना सल, फेल्ट, जडिवुटी, मुसुरोको दाल र जुत्ता रहेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी