© २०२३
बर्दघाटको जयबुद्ध शिशा प्लाइ तथा फर्निचर उद्योगमा आगलागी भएको छ । आगलागीबाट फर्निचर उद्योग जलेर पूर्ण रूपमा ध्वस्त भएको छ । मंगलबार विहान करिब पौने ९ बजेतिर आगलागी भएको र आगलागीको कारण खुल्न सकेको छैन ।
आगलागीबाट तयारी अवस्थामा राखिएका फर्निचर, फर्निचर निर्माण गर्ने कच्चा पदार्थ, कम्पाउण्डमा पार्किङ्ग गरि राखेको कार सहित भवन समेत जलेर नष्ट भएको छ । आगलागीबाट १ करोड ५० लाख बढिको क्षति भएको फर्निचर सञ्चालक राजु पाण्डेले दाबी गरेका छन ।
आगलागीको कारण र क्षतिको विवरण इलाका प्रहरी कार्यालयले संकलन गरिरहेको र बिस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।
आगलागि नियन्त्रणका लागि स्थानियबासी, नेपाल प्रहरी र शसस्त्र प्रहरी खटेको थियो । बर्दघाट नगरपालिकामा दमकल नभएको र आगलागी सुरु भएको करिव १ घण्टापछि मात्र दमकल आइपुगेकोले पनि ठूलो क्षति पुगेको स्थानियको भनाइ छ । रामग्राम नगरपालिका र कावासोती नगरपालिको दमकलले आगलागि भएको करिब २ घण्टामा आगलागि नियन्त्रणमा लिएको थियो ।