© २०२३
विष हाली मौरी मार्ने अपराधीलाई हदैसम्मको कारबाही गर्नुपर्ने नेपाल मौरीपालक महासंघ कपिलवस्तुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । शाखा अध्यक्ष मोहन अधिकारीले एक प्रेसविज्ञप्ती जारी गर्दै मौरीको घारमै विष हाली मौरी सखाप पार्ने दोषीलाई कानुनी कठघरामा ल्याई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका हुन् । साथै पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने विज्ञप्तीमार्फत मौरी पालक महासंघ कपिलवस्तुले जोडदार माग गरेको छ ।
यसैगरी मौरीपालक महासंघ कपिलवस्तुले विज्ञप्तीमार्फत मौरी हत्यारालाई कारबाही गर्ने कानुन बनोस् भनी माग समेत गरेको छ । संघले अपराधिक कार्य गर्ने दोषी पहिल्याई पीडित किसानलाई न्याय दिलाउन स्थानीय सरकार, दाङका मौरीपालक किसान, सरोकारवाला निकाय तथा राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको छ ।
चरणका लागि घोराही उपमहानगरपालिका १२, सिस्नेरीमा राखिएका ४४ घार मौरी मरेका छन् । कालिका नगरपालिका ९, चितवनका मौरी पालक किसान विकास नेपालले दाङको स्थानीयसँग सहमति गरेर चरणका लागि तोरीबारीमा घार राखेका थिए । दशैं मनाउन घर गएको बेला अज्ञात व्यक्तिले घारमै विष हालेको प्रहरीको अनुमान छ । गत असोज २५ गते चरणका लागि विकास नेपालले घार दाङ लगेको बताए । कार्तिक ७ गते मात्र आफूले ४४ घारका सम्पूर्ण मौरी मरेको खबर पाएपछि घरबाट दाङ फर्केको बताए । घारका सम्पूर्ण मौरी मरेपछि करीब २२ लाखको क्षति भएको पीडितको भनाई छ । व्यवसायिक मौरी पालनमा भर्खरी गति लिन थालेका विकासलाई यतिबेला व्यवसायबाट नै विस्थापित गराएको छ ।
मौरी पालक किसानलाई निरुत्साहित पर्ने किसिमले गरिएको अपराधिक घटनाप्रति घोर आपत्ति प्रकट गर्दै यतिबेला नेपाल मौरी पालक महासंघ घटनाको छानबीन गर्न जोडदार माग गरेको छ । यस किसिमको घटनाले मौरी पालन व्यवसाय नै धरासाही हुने महासंघले ठहर गर्दै विज्ञप्तीमार्फत दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको हो ।à